Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • काँग्रेसमा वडादेखि केन्द्रसम्म महिला सहभागिता बढाउन माग


    आइतबार, असार १३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाली काँग्रेसका नेताहरुले वडा तहदेखि केन्द्रसम्म महिला सहभागिता बढाउँदै लैजानुपर्ने बताएका छन् ।

    लोकतान्त्रिक सचेतना अभियानले आज यहाँ आयोजना गरेको ‘१४ औँ महाधिवेशनमा महिला तथा युवा नेतृत्व, सम्भावना र चुनौती’ विषयक भर्चुअल अन्तक्र्रियामा नेताहरुले वडा तहदेखि नै महिला र युवाको सहभागिता बढाउनुपर्ने बताएका हुन् ।

    कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले काँग्रेसभित्र वडा तहदेखि केन्द्रसम्म नै महिला सहभागिता बढाउँदै लैजानुपर्ने बताइन् । उनले महिला क्षमतावान र सक्षम भएपनि नेतृत्वका लागि पार्टीभित्रबाटै असहयोग हुने गरेको गुनासो गरीन् । स्थानीय तहमा महिला सहभागिता विस्तारै बढ्दै गए पनि केन्द्रमा भने अत्यन्त न्यून रहेको उनको भनाइ थियो ।

    काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्रको पदाधिकारीमा महिलालाई स्थान दिनेबारे विधान बनाउँदा कमजोरी भएको बताए । “आगामी महाधिवेशनबाट काँग्रेस पदाधिकारीमा युवाहरु आउनु पर्दछ” उनले भने ।

    अर्का केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी विधि र विधानमा चल्न नसक्दा अहिलेको अवस्था आएको बताए । “पार्टीभित्र विधि र विधानको शासन हुनुपर्छ, व्यक्तिको शासन होइन,” उनले भन्नुभयो । तल्लो तहबाट नै पार्टीलाई समावेशी बनाउनुपर्ने उाको भनाइ थियो ।

    केन्द्रीय सदस्य सीता गुरुङले काँग्रेससँगै स्थापना भएको नेपाल महिला सङ्घले अहिलेसम्म पार्टीको नेतृत्व गर्न नपाउनु दुःखद् कुरा भएको बताइन् । पार्टीभित्र महिला अधिकारका लागि अझै लड्नुपर्ने अवस्था रहेको भनिन् ।

    अर्का केन्द्रीय सदस्य सरिता प्रसाईँले काँग्रेसले नयाँ र पुराना क्रियाशील सदस्यतालाई समेटेर अगाडि बढाए मात्र पार्टी बलियो हुने बताइन् । पार्टीभित्रका भ्रातृ र शुभेच्छुक संस्थाको समयमा महाधिवेशन हुन नसक्नु दुःखद् भएको उनको भनाइ थियो ।

    सो अवसरमा नेपाल महिला सङ्घकी महासचिव धना खतिवडा, काँग्रेस पाँचथरका सभापति नरेन्द्र केरुङ, ताप्लेजुङका सभापति लीला वोखिमलगायतले केन्द्रीय कार्यसमितिमा महिला सहभागिता बढाउनु पर्नेमा जोड दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार