Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केन्द्रको सर्कुलरसँगै जिल्लामा बढ्यो कांग्रेस महाधिवेशनको चहलपहल


    शुक्रबार, असार ११ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौं महिनामा तोकिएसँगै जिल्लामा पनि चुनावी तयारी र चहलपहल शुरु भएको छ । गाउँ र नगरस्तरसम्मको निर्वाचन तालिका सार्वजनिक गरेको कांग्रेसले कञ्चनपुरमा पनि चुनावी माहोल बनााउँदैछ ।

    यहाँ प्रतिनिधीसभा, प्रदेशसभा र स्थानीय तहमा नराम्ररी पराजय व्यहोरेको कांग्रेस कञ्चनपुरले केन्द्रसँगै जिल्लामा पनि सबल नेतृत्व चयन गर्ने कार्यकर्ता र नेताहरुको भनाई छ । कांग्रेस कञ्चनपुरका पार्टी सचिव दिवाकर पाण्डेयले जिल्लामा केन्द्रबाट सर्कुलर आइसकेको बताए । “ माथिबाट निर्वाचन तालिका समेत आएर सोही अनुसार काम अगाडी बढाउन भनिएको छ”, उनले भने,“ अब कुनै पनि हालतमा अधिवेशन रोकिँदैन ।”

    यहाँ जिल्ला नेतृत्व तहका कांग्रेस नेताहरु तालिकसहित सामाजिक सञ्जालमा पनि चुनावी चहलपहल अघि बढाइरहेका छन् । कोरोना कहरका कारण पनि एक आपसमा भेट्नु भन्दा सामाजिक सञ्जालजस्ता सूचना प्रविधिको प्रयोगको प्रचलन यसपटक बढ्ने देखिएको छ ।

    नयाँ पुस्ता प्रचारको लागि प्रविधिमा बढी व्यस्त छन् । कांग्रेस कञ्चनपुरका युवा नेता आशेफ कुवँर (भुन्टु) ले जिल्लामा युवा पुस्ता पनि नेतृत्वदायी भूमिकामा आउन तत्पर रहेको बताए । “पार्टीभित्र काम गर्ने शैली पनि समयक्रम अनुसार सुधार गर्दै लैजानु आवश्यक छ”, उनले भने, “ पुरानो ढर्राबाट पार्टी चल्दैन ।” उनले पार्टीमा महिला, दलित, जनजाति र सबै वर्गको प्रतिनिधित्व हुने गरी कमिटी बनाउनुपर्नेमा जोड दिए ।

    पाँच हजार पाँच सय क्रियाशिल सदस्य रहेको कञ्चनपुर कांग्रेसले पाँच हजार एक सय क्रियाशिल नयाँ सदस्यता थप गरेको छ । पार्टीभित्रका दुई प्रभावशाली नेता रमेश लेखक र नारायणप्रकाश साउँदको गृहजिल्ला कञ्चनपुरमा समूहगत राजनीति समेत हुने गरेको छ । “एउटै जिल्लामा गुटगत राजनीति हुँदा अन्य पार्टीले त्यसको भरपुर फाइदा लिन्छन्”, कुवँरले भने, “ कांग्रेसको शीर्षतह देखिनै सुमधुर सम्वन्ध स्थापित गरेर कांग्रेसलाई चलायमान बनाउनुपर्छ ।”

    त्यसैगरी जिल्ला पार्टी सभापति हरिप्रसाद बोहराले निर्वाचन गर्न कार्यतालिका बनेको जानकारी दिए । उनले कोभिड–१९ का कारण निर्वाचनलाई असर गर्न सक्ने तर निर्वाचन गर्ने पक्षमा पार्टी नेतृत्व रहेको बताए । पछिल्लो पटक केन्द्रीय समितिसँगै नेतृत्व तहले महाधिवेशनको सुनिश्चितता सहितको निर्णय गरेपछि जिल्ला जिल्लामा पार्टीको चुनावी चहलपहल बढ्न थालेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार