Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली निकट अखिलको सचिवालय बैठकमा नेतृत्व विवाद, ऐन महरलाई छाड्न दबाब


    बिहिबार, असार १० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले) निकट अनेरास्ववियुको सचिवालय बैठकमा नेतृत्व परिवर्तनको बिषयमा छलफल भइरहेको छ । कोेरोना कहरले शैक्षिक संस्था बन्द छन्, विद्यार्थीले पढ्न पाएका छैनन् । यस्तो अवस्थामा शैक्षिक गुणस्तर र वैकल्पिक शिक्षाको बारेमा शिक्षाबिदहरुसँग गहन छलफल गर्नुपर्ने एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु आन्तरिक कलहमा फसेको छ ।

    बागबजारको हार्दिक होटलमा आज अनेरास्वियुको सचिवालय बैठक भइरहेको छ । बैठकमा अध्यक्ष ऐन महरले नेतृत्व छाड्नुपर्ने पक्षमा चार उपाध्यक्ष देखिएका छन् । उपाध्यक्ष रश्मी आचार्य, शैलेश लामा, महेश बर्तौला र सुनिता बरालले अध्यक्ष हुने आकांक्षा राखेका छन् ।  

    उपाध्यक्ष बराललाई अध्यक्ष बनाउनका झापाकै भएकाले केपी ओली स्वयं पनि चाहिरहेका छन् भने मोरङका विनोद ढकालले पनि दबाब दिइरहेका छन् । 
    रश्मी आचार्यलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा भानुभक्त ढकाल, किशोरविक्रम मल्ल र नवीना लामा छन् । शैलेश लामा २०७० को चुनावसम्म अशोक राईको तत्कालीन संघीय समाजवादी पार्टीमा भएकाले उनलाई अध्यक्ष बनाउने पक्षमा एमालेका नेताहरु कुनै पनि खुलेर लागेका छैनन् । महेश बर्तौलाको भूमिका पनि यता र उता भएकाले उनको अध्यक्षमा दाबी कमजोर छ । अध्यक्षका लागि सबैभन्दा बढी जोड बरालकै छ । उनको पक्षमा प्रधानमन्त्री ओली नै देखिएका छन् । तर अध्यक्ष महर भने आफूले छाड्दै नछाड्ने, यदि छाड्नैपरे उपाध्यक्षहरुलाई होइन, सचिवहरुमध्येलाई दिने पक्षमा अडिग रहेका छन् ।

     अध्यक्ष महर र चारै उपाध्यक्ष बिदा हुनुपर्ने पक्षमा सचिव समिक बडाल, आरसी लामिछाने र कोषाध्यक्ष झपिन्द्र खत्रीहरु छन् । उपाध्यक्षहरु ऐन महरले छाड्नुपर्ने पक्षमा छन् । महर भने कुनै हालतमा छोड्ने पक्षमा छैनन् । माधव नेपाल र झलनाथ खनालको समानान्तर अखिलमा सुदेश पराजुली अध्यक्ष र आरती लामालाई महासचिव बनाइसकेकाले पनि अध्यक्ष र उपाध्यक्ष बिदा भएर अखिलमा ३० बर्ष उमेर हद लागू गरी पुरानालाई बिदा गर्नुपर्ने आवाज उनीहरुले उठाएका छन् ।    

    अनेरास्ववियूका सचिव बडालले त सामाजिक संजाल फेसबुकमा अखिलमा उमेरहद तोक्नुपर्ने, नेतृत्व ओगटेर बस्नु नहुने पक्षमा सामाजिक संजालमै लेखेका छन् । अध्यक्ष महरदेखि उपाध्यक्षहरु सबै उमेरहद तोक्नुपर्ने आसयको टिप्पणी बडालले सचिवालय बैठकको पूर्वसन्ध्यामा बिहीबारै लेखेका छन् । 

    बडालले लेखेका छन्–‘उमेरले डाँडो काट्दा पनि ओथारो बसेको पोथीले जस्तो यो अखिलमा रहिरहनु पर्छ भन्ने सोच त्यागेर यो अखिल आन्दोलनलाई पुनब्र्यबस्थित गर्न जरुरत छ, बिधार्थी अन्दोलनमा एउटा युबालाई कति बर्षसम्म फक्रन नदिएर बन्धक बनाइरहने हो ? अखिलरुपी नर्सरीका बिरुवालाई समयमै ब्यबस्थित बनाउने कार्यको शुरुवात गरौं । मेरो मत अखिलमा द्यिधार्थी उमेर तोकांै भन्ने हो । संयोजक र इन्चार्ज कमरेडलाइ मेरो आग्रह छ, तपाइहरुको यो कार्यकालको अवधिमा अखिल आन्दोलनले गर्व गर्ने  सांगठनिक कार्ययोजना बनोस् ताकि आन्दोलनमा जोडिएपछि एक बिद्यार्थीले  आफ्नो ओजिलो नैतिकता र त्यागको संस्कार त यो अखिलमा पो रहेछ त भनेर गर्ब गर्न सकोस् ।’

    माउ पार्टी एमाले विभाजित अवस्थामा रहेको बेला संस्थापन अखिलको यो मारामारले घर अर्कैले कब्जा गरिसकेपछि भाँडाकुँडाका लागि गरिएको झगडाका रुपमा तुलना गरिएको छ ।

    कोभिड–१९ महामारी नियन्त्रण, सिन्धुपाल्चोकको मेलम्ची बाढी पीडितको उद्दारका लागि सरकार निकट अखिलको सक्रियता जति हुनुपर्ने हो त्यो नभएको र आन्तरिक विवादमै रुमल्लिएको आरोप लागेको छ । भूकम्पका बेला अखिलले जस्तो भूमिका खेलेको थियो, महामारी नियन्त्रण र बाढीपीडितको उद्दारमा त्यस अनुसारको भूमिका नदेखिएको अनुभूति आम विद्यार्थीले गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार