एजेन्सी । १६ औं संस्करण युरोकप फुटबलमा उपाधिको दाबेदार मानिएको बेल्जियमले विजयी सुरुवात गरेको छ ।
शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३-० गोल अन्तरले पराजित गर्दै बेल्जियमले बिजयी सुरुवात गरेको हो ।
सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे । यस्तै थोमस मुनिएरको नाममा एक गोल रह्यो ।
खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
गोलपछि लुकाकुले आफ्नो गोल खेल दौरान हृदयघात भएर अस्पताल भर्ना भएका इन्टर मिलानका सहकर्मी तथा डेनमार्कका क्रिस्टियन एरिक्सनलाई समर्पण गरे । फिनल्याण्डविरुद्धको खेल दौरान बेहोस भएका एरिक्सन खतरामुक्त रहेको बताईएको छ ।
खेलको ३४ औं मिनेटमा थोमसले गोल गर्दै बेल्जियमलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३-० को जित दिलाए ।
जितसँगै समूह ‘बी’ मा बेल्जियम शीर्ष स्थानमा र फिनल्याण्ड दोस्रो स्थानमा छन् भने डेनमार्क र रुस अंक विहीन रहदै क्रमश तेस्रो र चौंथो स्थानमा रहेका छन्।
यस्तै, शनिबार राती भएको अर्को खेलमा वेल्स र स्विजरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् ।
अजरबैजानको बाकुमा भएको खेलमा वेल्स र स्विजरल्याण्डले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
बकु ओलम्पिक स्टेडियममा स्विजरल्याण्डका लागि ब्रेल इम्बोलोले एक गोल गरे । वेल्सका किफेर मोरेले बराबरी गोल फर्काए ।
यस बराबरीसँगै समूह ‘ए’ मा रहेका वेल्स र स्विजरल्याण्डले एक एक अंक बाडेका छन् ।
समूहको दोस्रो स्थानमा रहेको स्विजरल्याण्डले १ खेलमा १ अंक जोडेको छ ।