काठमाडाैं । कोरोना संक्रमणदर उल्लेखनीय रूपमा नघटेकाे भन्दै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिने भएको छ।
हालको परिस्थितिमा निषेधाज्ञा लम्ब्याउनुपर्ने देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
यस विषयमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच छलफल भइरहेको छ।
निषेधाज्ञा केही खुकुलो भने हुनसक्ने बताउदै उनले भने बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब एक घन्टा थपेर १० बजेसम्म खुल्न दिइने छ ।
उपत्यकामा निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी गरिएको थियो । यो तीन दिनपछि सकिँदैछ ।
‘मृत्युदर घटे पनि संक्रमणदरमा सुधार नआएको विश्लेषणका आधारमा निषेधाज्ञा लम्बिन्छ,’ पराजुलीले भने।
निषेधाज्ञा लम्ब्याउनुको कारणमा स्वास्थ्य मापदण्ड पालना नहुनु, मास्कको प्रयोग नहुनु र भिडभाड बढी हुनु रहेकाे जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को ठहर छ।