काठमाडौं । आफू पक्षका नेताहरूले नयाँ दल खोल्न ढिला गर्न नहुने सुझाव दिइरहेकाे समयमा एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दल खोल्ने कदमलाई तत्काल नबढाउने भएका छन् ।
हिजो आफूपक्षीय केन्द्रीय सदस्यहरुको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि हुने फैसला कुर्ने पर्ने भन्दै तत्काल नयाँ दल नखोल्ने बताएका हुन् ।
हिजो केन्द्रीय सदस्यहरुकाे भर्चुअल बैठकमा कसैले ओलीसँग मिलेर जान नसकिने भन्दै तत्काल नयाँ पार्टी खोल्नुपर्ने सुझाव दिए भने कसैले सकेसम्म एमाले एकता कायमै राख्नुपर्ने सुझाव दिएका थिए त कतिपयले अदालतको आदेश कुर्न सुझाव थिए ।
विश्वस्त स्रोतका अनुसार ओलीसँग मिलेर बस्न नसकिने निष्कर्षमा पुगेका नेपाल नयाँ दल खोल्न तयार भएपनि अदालतको फैसला कुन पक्षमा आउने टुगों नलागेकाले तत्काल नयाँ दल खोल्ने कदमलाई अघि नबढाउने भएका हुन् ।
नेपालले एकताका लागि २ जेठ २०७५ को अवस्थामा फर्कने मात्र नभई नयाँ शर्तहरु पनि सारेका छन् । जसमा प्रतिनिधि सभा विघटनको निर्णयबाट पछि हट्ने देखि आत्मालोचनालगायतका विषय समेत छन् ।