Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारलाई राष्ट्रिय स्वरुप दिने योजनासहित ओली मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारीमा


    सोमबार, जेष्ठ १७ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बुधबारसम्म मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् ।

    सरकारलाई साथ दिँदै आएको जसपालाई सरकारमा सहाभागी गराएर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका हुन् ।

    मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतोबीच आज छलफल भइरहेकाे छ । 

    आज प्रधानमन्त्री ओली र जसपा नेताबीच छलफल भएपछि मन्त्रिपरिषद पुनर्गठनको मिति तय हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

    जसपाले दश मन्त्रालय माग गरेपनि प्रधानमन्त्रीले आठ मन्त्रालय मात्रै दिने बताएका छन् ।

    जसपाले हाल खाली रहेका सात वटा मन्त्रालय आफूलाई दिन आग्रह गरेको थियो । तर प्रधानमन्त्री ओलीले गृह र रक्षा मन्त्रालय आफैंसँग राख्ने जवाफ दिएपछि जसपाले प्रधानमन्त्रीलाई काम गर्न असहज नपार्ने नीति लिएको अध्यक्ष महन्थ ठाकुर निकट स्रोतले जनाएको छ ।

    ठाकुर निकट स्रोतका अनुसार सुरुमा जसपा पाँच मन्त्री र एक राज्यमन्त्रीसहित ६ जनालाई सरकारमा सहाभागी गराउँदैछ । 

    प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा आफ्नो सरकारमा सहभागी हुन दलहरुलाई आह्वान गरेका छन्। उनले वर्तमान सरकारलाई राष्ट्रिय सरकारको स्वरुप प्रदान गर्ने गरी तयारी गरिरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

    त्यसका लागि प्रधानमन्त्री ओलीले नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सहाभागी हुन आग्रह गरेका छन् । नेमकिपाले भने आफूहरुको सरकारमा सहभागी हुने नीति नरहेको जवाफ दिएको छ। तर राप्रपा भने सरकारमा सहाभागी हुन सकारात्मक रहेको बताइएको छ।

    राप्रपाबाट अध्यक्ष कमल थापा आफैं सरकारमा सहभागी हुन इच्छुक रहेका छन् । तर अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी त्यसका लागि तयार नभएको स्रोतले जनाएको छ ।

    थापाले गृह वा परराष्ट्र मन्त्रालय दाबी गरेका छन् । तर ती दुवै मन्त्रालय दिन नसकिने प्रधानमन्त्रीले जवाफ दिएका छन्। यसअघि ओली नेतृत्वको पहिलो सरकारमा थापा परराष्ट्रमन्त्री थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार