काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार विदेशी मिडियाका नेपालस्थित प्रतिनिधिहरुसँगकाे अन्तरक्रियामा कालापानी, लिम्पियाधुरा र लिपुलेकमा मतदान सम्भव नभएको बताएका छन् ।
चिनियाँ मिडियाका एक पत्रकारले प्रधानमन्त्री ओलीलाई कालापानी, लिम्पियाधुरा र लिपुलेकका जनताले आगामी निर्वाचनमा मतदान गर्न पाउँछन् कि पाउँदैनन् भनी सोधेकाे प्रश्नमा कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्शा जारी गरिसकिएको भए पनि ५८ वर्षदेखि उक्त क्षेत्र भारतको नियन्त्रणमा रहेको भन्दै जबसम्म उसले छाड्दैन तबसम्म त्यहाँ नेपालका तर्फबाट मतदान सम्भव नभएको ओलीले जवाफ दिए ।
उनले यो विषयलाई अतिरन्जित नबनाउन समेत आग्रह गरे ।
पत्रकार सम्मेलनमा ओलीले कालापानीको समस्या कुटनीतिक माध्यमले समाधान गर्न लागिरहेको बताउँदै उक्त भूमि नेपालकै रहेको रहेको बताएका छन् ।
ओलीले अन्तरक्रियामा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र कोरोना भाइरसको अवस्थाबारेमा कुरा गर्दै चुनाव घोषणाको बचाउसमेत गरे ।