Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीब्र आलोचना भाेगिरहेका वन मन्त्री भन्छन्,छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदान होइन


    मंगलबार, जेष्ठ ११ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । वन मन्त्री प्रेमबहादुर आले बेला बेलामा विवादमा परेका छन्। महामारीमा प्रचार गरेको भन्दै विवादमा परेका छन्।

    नीला रंगका अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री प्याक गरेको कार्टुनमा समेत मन्त्री आलेको फोटो टाँसिएका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। सामाजिक सञ्जालमा उक्त तस्वीरहरुका कारण वनमन्त्री आलेको चर्को आलोचना भइरहेको छ।

    सामाजिक सञ्जालमा चिनियाँ अनुदानको अक्सिजन सिलिण्डर व्यक्तिगत सहयोग भनेर प्रचार गरेको आरोप समेत लगाएका छन्।

    डोटी गृहजिल्ला भएका मन्त्री आलेले सोमबार सहयोग हस्तान्तरण गरेका थिए। उनले वितरण गरेको सिलिण्डरमा ‘नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले ज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखेको स्टिकर टाँसिएको छ।

    उनले डोटी अस्पताल र धनगढी प्रादेशिक अस्पतालमा आफै पुगेर सामग्री उपलब्ध गराएका थिए। उनले एन्टिजेन किट, अक्सिजन सिललिण्डर, सेनिटाइजर, जनरल बेड र सर्जिकल मास्क सहयोग स्वरुप उपलब्ध गराएका थिए।

    यसैबीच वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्टीकरण दिएका छन्।

    उनले भने, “अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका बेलामा भ्रामक समाचार सम्प्रेषण हुनु आफैँमा नराम्रो हो, सकिन्छ भने सत्य समाचार लेखौँ, सकिँदैन भने गलत प्रचार नगरिदिऔँ।”

    महामारीका बेलामा आफ्ना नागरिकको ज्यान बचाउनु नेताहरुको धर्म र कर्तव्य भएको जनाउँदै आफूले अन्य समयमा पनि बिरामी नागरिकलाई पटकपटक स्वास्थ्योपचारका लागि व्यक्तिगतदेखि सामूहिक सहयोग गर्दै आएको जानकारी दिए।

    उनले भने, “म व्यापारी होइन, जनताको सेवक हुँ, छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन।”

    मन्त्री आलेले आफ्नो व्यक्तिगत खर्चमा डोटीमा ६० थान अक्सिजन सिलिण्डर, एक लाख ५० हजार मास्क तथा सेती प्रादेशिक अस्पताल कैलालीमा ५० थान भरिएका अक्सिजन सिलिण्डर र ५० हजार मास्क प्रदान गरेको उनको सचिवालयले जनाएको छ। मन्त्री आलेले आफ्नो व्यक्ति लगानीमा डोटी र सेती प्रादेशिक अस्पतालमा गरी कुल ११० अक्सिजन सिलिण्डर प्रदान गरिसकेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार