काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने निर्णय लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले २१ घण्टाकाे समयावधिमा बहुमतको सरकार निर्माणको आव्हान गरेकी छन् ।
राष्ट्रपतिको कदम प्रधानमन्त्री ओलीकै नेतृत्वमा देशलाई मध्यावधि चुनावमा लाने रणनीति भएको देखिन्छ । यस्तो अवस्थामा ओलीविरोधी गठबन्धनले गर या मरको चुनौतीको सामना गर्नु परेकाे छ।
प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न राष्ट्रपतिले दिएको समयसीमा छोटिँदै गर्दा आज साँझ ५ बजेभित्र ओलीको सत्ताबाट बर्हिगमनका लागि विरोधी गठबन्धन प्रयासमा लागिसकेका छन् ।
ओलीविरोधी गठबन्धन सुनिश्चित गर्न नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी एकजुट हुनसकेमात्र सम्भव छ । काँग्रेस र माओवादी केन्द्र गठबन्धनमा भएपनि जसपा अझै विभाजित छ । जसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव गरिएमात्र गठबन्धन सम्भव देखिन्छ ।
ठाकुरले प्रधानमन्त्री बन्ने अवसर पाएमा गठबन्धन निर्माणमा साथ दिने सम्भावना पनि छ । ओलीविरोधी गठबन्धनले बहुमत बनाउन यसको अस्त्र पनि तयार गर्ने सम्भावना छ । तर, उनको प्रधानमन्त्री ओलीसँग निकटता कायमै छ ।
यस्ताे अवस्थामा ओलीविरोधी दल र नेताहरु गठबन्धनका लागि गर या मरको लडाईंमा छन् ।