Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपनिर्वाचनको मतदान शुरु, नतिजा भर्चुअल माध्यमबाट


    बिहिबार, जेष्ठ ६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • हेटौँडा। वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ ।

    बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८  मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ ।

    केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइएको छ ।उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिने छ ।

    निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र विपक्षी दलका तर्फबाट खीमलाल देवकोटा प्रतिस्पर्धामा छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् । निर्वाचन सकिनासाथ मतगणना हुने र नतिजा पनि आजै आउने आयोग स्रोतले जनाएको छ ।

    नतिजा भर्चुअल माध्यमबाट

    यसैबीच आज हुने राष्ट्रियसभा उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको  छ  । 
    प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा  भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो  । 
    मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ  । मतगणना साँझ ५ बजेदेखि शुरु गरिने छ । आजै बेलुकासम्ममा नतिजा आइसक्ने जनाइएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार