Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत भएकाे भन्दै आयोगद्वारा कारबाहीको चेतावनी


    बुधबार, जेष्ठ ५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले बिहीबार बागमती प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको लागि आचारसंहिता विपरीत विज्ञप्ति निकालेर मत मागेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    बुधबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको तर्फका उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा मत माग्दै अपील जारी गरेका थिए ।

    ‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तर्वार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ’ प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    वाग्मती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ । निर्वाचन आचार संहिताअनुसार मौन अवधिमा उम्मेदवारको पक्षमा मत माग्नु आचारसंहिता विपरीत हुन्छ । आयोगले आचार संहिता विपरीतका क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रति नै आघात पार्ने बताएको छ ।

    ‘अतः निर्वाचन आचार संहिता विपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयोगले कानून बमोजिम कारवाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचारसंहिता विपरीत कार्य गर्नेको अभिलेख राख्ने व्यहोरासमेत जानकारी गराइन्छ’ श्रेष्ठले विज्ञप्तिमा भनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार