Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले लिएको शपथ कानुनविपरीत भएकाे भन्दै सर्वोच्चमा रिट


    आइतबार, जेष्ठ २ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ कानुनविपरीत भएकाले बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ।

    शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथ कानुनविपरीत भएकाे भन्दै अधिवक्ता चन्द्रकान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीले सर्वोच्चमा दुई छुट्टाछुट्टै रिट पेश गरेका हुन्।

    भण्डारीको रिटमा पुर्‍याउनु पर्ने रित पूरा नभएको र ज्ञवालीको रिट अध्ययनकै क्रममा रहेकाले आज दर्ता गर्न नसकिएको सर्वोच्चको रिट महाशाखाले जनाएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दुइटा महत्वपूर्ण अंश भन्न छुटाएका थिए। 

    ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए।

    प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहोर्‍याएकी थिइन्। ओलीले भने ‘यो पर्दैन’ भन्दै शपथग्रहण अगाडि बढाए। 

    त्यसपछि ओलीले शपथमा प्रयोग भएको ‘ईश्वर’ भन्ने शब्द पनि उच्चारण गरेनन्।

    शपथ ग्रहणका वाक्यांश जानाजान छुटाएर प्रधानमन्त्री ओलीले शपथको गरिमा लत्याएको र राष्ट्रपतिको समेत मानमर्दन गरेको अाराेप लगाइएकाे छ ।

    अहिले प्रधानमन्त्रीले लिनुपर्ने शपथको भाषा यस्तो हुन्छ- ‘म केपी शर्मा ओली, मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि, ईश्वर, देश र जनताका नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै प्रधानमन्त्री पदको कामकाज प्रचलित कानुनको अधिनमा रही, मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई, इमानदारिताका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा जानकारीमा आएको कुरा पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दाबाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार