काठमाडौँ। सरकारले आफैंले जारी गरेको निर्देशिकाको खिल्ली उडाउँदै विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। सरकारले ११ देशमा राजदूत सिफारिस गरेको छ। जसमा परराष्ट्र सेवाबाट दुईजना छन्। अन्य नौ देशका लागि राजनीतिक आस्था र नेताहरूको निकटता आधारमा सिफारिस गरिएको छ।
केपी शर्मा ओली नेतृत्वकै सरकारले जारी गरेको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा परराष्ट्र सेवाबाट कम्तीमा ५० प्रतिशत नियुक्त हुनुपर्ने प्रावधान छ। हालकै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीकै अग्रसरतामा जारी उक्त निर्देशिका व्यवहारमा भने लागु हुन सकेको छैन।
सरकारले परराष्ट्र सेवाबाट सिफारिस गरेका राजदूतहरूमा अस्ट्रियाका लागि निर्मलराज काफ्ले र इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ छन्। बाँकी नौजना राजनीतिक नियुक्तिअन्तर्गत सिफारिसमा परेका हुन्। राजनीतिक सिफारिसमा परेकाहरूमा दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, अस्ट्रेलियाका लागि सुम्नीमा तुलाधर, बहराइनका लागि युवराज कार्की, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमीत्रा सुवेदी, साउदी अरेबियाका लागि मेराज मुसलमान र रसियाका लागि जंगबहादुर चौहान छन्। उनीहरू सत्तारुढ एमाले निकट रहेको बताइएको छ। राजदूतमा सिफारिस सबै नाम संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा पठाइसकिएको छ।
राजदूत नियुक्ति सिफारिसबारे टिप्पणी गर्दै पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, ‘परराष्ट्रका दुई र बाहिरका एकबाहेक राजदूतमा सिफारिस भएका भनिएका कसैलाई चिनिएको पनि रहेनछ। र, नाम पनि सुनिएको रहेनछ। सुन्नैपर्छ भन्ने पनि के छ र ? पदमै बसेर काम सिक्ने खालका चै हुनुभएन।’
आचार्यको सोही टिप्पणीमा प्रतिक्रिया जनाउँदै पूर्वराजदूत सुरेश प्रधानले लेखेका छन्, ‘राजदूतजस्तो कूटनीतिक पदमा परराष्ट्र मन्त्रालयबाट अधिकतम सहभागिता भएको भए राम्रो हुने थियो। दलीय भागभन्डामा परेकालाई अर्काे दलको/गुटको सरकार सत्तामा आउँदा फर्काउने खतरा हुन्छ। साथै, छ महिना त कूटनीतिक अभ्यास गर्दागर्दै बित्छ।’
प्रधानमन्त्री ओली नेतृत्वकै सरकारले २०७५ सालमा अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रभावकारी बनाउन योग्य र सम्बन्धित क्षेत्र जानकार व्यक्तिहरूलाई नै राजदूत बनाउनुपर्ने भन्दै निर्देशिका जारी गरेको थियो। तर सो निर्देशिका जारी गर्ने पक्षले नै उल्लंघन गर्दै राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ।
सरकारले मापदण्ड मिचेर राजदूत नियुक्तिमा परराष्ट्र सेवाभन्दा बाहिरका आफू निकटलाई काखी च्याप्दै आएको छ। राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा राजदूतका लागि परराष्ट्र सेवाअन्तर्गत भए विशिष्ट वा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी हुनुपर्ने र बाह्य क्षेत्रबाट भए मुलुकको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध एवं कूटनीतिक क्षेत्रमा महत्वपूर्ण दख्खल राख्ने वा योगदान पु–याएका राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरूमध्येबाट सिफारिस गरिने उल्लेख छ।
त्यस्तै, निर्देशिकामा विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमतिपत्र वा सुविधा प्राप्त नगरेको, भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको, नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, द्विपक्षीय/बहुपक्षीय कूटनीतिका आयामबारे अनुभव हासिल गरी मुलुकको प्रतिनिधित्व गर्नसक्ने क्षमता भएको र नियुक्त भई जाने मुलुकको कार्यसम्पादन ज्ञान वा अनुभव भएको हुनुपर्ने मापदण्ड तोकिएको छ।
निर्देशिकामा राजदूत हुनका लागि अंग्रेजी भाषाको राम्रो ज्ञान भएको, सम्बन्धित मुलुकमा हित बाझिने अवस्था नरहेको र नियुक्तिका बेला कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहायतामा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत नरहेको हुनुपर्ने मापदण्ड पनि तोकिएको छ। उच्च नैतिक चरित्र भएको, कालोसूचीमा नपरेको, लाभको पद धारण गरी वा विदेशी राष्ट्रले नियुक्ति गरेको जिम्मेवारीमा कार्यरत व्यक्ति भए अवकाश लिएको १० वर्ष पूरा भएको हुनुपर्ने मापदण्ड पनि निर्देशिकामा छ। यो खबर नागरिक दैनिकमा छ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend