सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। मुख्यमन्त्री शाहीले बुधबार तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त गरेको स्राेतले जानकारी दिएकाे छ ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार मन्त्री बन्नेमा रुकुम पश्चिमका गोपाल शर्मा आर्थिक मामिला तथा योजनामन्त्री, सुर्खेतका बिन्दमान विष्ट आन्तरिक मामिला तथा कानुनमन्त्री माओवादी केन्द्रकी समानुपातिक सांसद सीता नेपाली जलस्रोत मन्त्री बनेकी छिन् ।
उनीहरुले बुधबार नै मन्त्रीका रुपमा सपथ लिने स्रोतको भनाइ छ ।
त्यस्तै वर्तमान मन्त्रिपरिषदमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र सामाजिक विकास मन्त्री विमला केसीले राजीनामा दिने सहमति भएको स्रोतको भनाइ छ ।
यद्यपि अहिलेसम्म उनीहरुले राजीनामा दिइसकेका छैनन् ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार मन्त्रालय फुटाएर अलग्गै जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाउने निर्णय गरेको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयमा रहेको युवा तथा खेलकुदलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत राख्ने निर्णय गरेको गरेकाे छ ।