काठमाडौँ। नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरू दौडधुपमा छन्। अध्यक्ष केपी ओली पक्षधर नेता एवं अर्थमन्त्री विष्णु पौडेलले बिहिबार माधवकुमार नेपाल पक्षका सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टसँग छलफल गरेका छन्। बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले योगेश भट्टराई र गणेश पहाडीसँग कुराकानी गरेका थिए।
बिहिबार साँझ नै प्रधानमन्त्री ओलीसँग मन्त्रीहरू लीलानाथ श्रेष्ठ र पार्वत गुरुङलगायतले विवाद मिलाउनुपर्छ भन्दै छलफल गरेका थिए। बुधबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको विवाद निरूपण गरेर अघि बढ्न ओलीलाई सुझाव दिएका थिए। दुई समूहबीच संवाद सुरु भएको र यसलाई सकारात्मक रूपमा लिएको नेपाल पक्षका नेताले बताएका छन् भने ओली पक्षधर नेता पनि छलफल सकारात्मक दिशामा उन्मुख गराउनुपर्छ भन्दै लागेका छन्।
पाण्डे र बिष्टसँगको कुराकानीमा पौडेलले पार्टी एकता कायम राख्न प्रस्ताव गरेको बताइएको छ। पाण्डे र बिष्टले भने फागुन २८ को निर्णय सच्याए विवाद सुल्झन समय नलाग्ने बताएका थिए। कुराकानीपछि पाण्डेले भेटघाटको सुरुवात भएको बताए। ‘यसलाई हामीले कुराकानीको सुरुवाती चरण मानेका छौं। खुलेरै कुराकानी भयो, यसले तत्कालै परिणाम आउन सक्दैन तर केही राम्रो हुने अपेक्षा गरेका छौं,’ पाण्डेले भने। उनीहरूसँग कुराकानी गरेपछि पौडेल मन्त्रिपरिषद्को बैठकमा भाग लिन बालुवाटार गएका थिए। मन्त्रिपरिषद् बैठक सकिएपछि ओलीसँग पौडेलले छुट्टै कुराकानी गरेका थिए भने अन्य मन्त्रीले विवाद मिलाएर जान सुझाव दिएका थिए। प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई विवाद निरूपण गर्ने आश्वासन दिएको भए पनि उपायबारे भने बताएका छैनन्।
पौडेल, पाण्डे र बिष्टबीच छलफल हुनुअघि बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा नेपाल पक्षका नेतालाई गरिएको कारबाही फुकुवा गर्ने विषयमा छलफल भएको थियो। त्यस क्रममा अध्यक्ष ओलीले नेपाल पक्षलाई गरिएको कारबाही फुकुवा गर्ने संकेत गरेका थिए। कारवाही फुकुवा गरौं, पार्टी एक बनाएर लैजाऔं र सरकारलाई पनि जोगाऔं भन्ने मत आएपछि ओलीले नेपाललगायतका नेतामाथिको कारबाही फुकुवा गर्ने संकेत गरेको बैठकमा सहभागी एक सदस्यले बताए।
बैठकमा राष्ट्रिय राजनीतिको विषयमा विभिन्न कोणबाट कुराकानी हुँदा पार्टीभित्रको विवादबारे पनि छलफल भएको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए। ‘माधव नेपाललगायतका साथीहरूलाई गरिएको कारबाही फुकुवा गरेर जाने कि भन्नेबारे छलफल भयो तर निष्कर्षमा पुगिएको छैन’, उनले भने। नेम्वाङका अनुसार छलफल सकारात्मक दिशातर्फ उन्मुख भएको छ। अध्यक्ष ओलीले पार्टीमा समानान्तर गतिविधि सञ्चालन गरेको भन्दै वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिना पार्टीबाट निलम्बन गरेको जनाएका छन्।
अध्यक्ष ओलीले कारबाहीको विषयलाई बैठकको अजेन्डाका रूपमा अघि सारेपछि उनीहरूलाई कारबाही फुकुवा गर्ने, विश्वासको मत लिने, पार्टी एकता बचाएर लैजानुपर्ने मत बलियोसँग उठेको थियो। अध्यक्ष ओलीले २८ फागुनमा आफ्नो पक्षका नेताहरूको मात्र बैठक राखेर विधान संशोधन, पदाधिकारी हटाउने, केन्द्रीय सदस्य थप गर्नेलगायतका निर्णय गरेपछि नेपाल समूहले ४–५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो। फागुन २८ गतेको निर्णय खारेज गरी ओली विधानबमोजिम अघि बढे पार्टी एकता कायम हुने नेता भीम रावलले बताएका छन्। (नागरिक दैनिकबाट)
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend