Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युवासंघले कोरोनाबिरुद्धको लडाईमा १० हजार स्वयंसेवक परिचालन गर्ने 


    शुक्रबार, बैशाख १७ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोभिड–१९ बिरुद्धको लडाईमा सिंगो समाज लडिरहेको बेला देशैभरी १० हजार स्वयंसेवक परिचालन गर्ने भएको छ । 

    युवा संघको केन्द्रीय कार्यालय बबरमहलमा बसेको केन्द्रीय कार्यालय कमिटीको बैठकले आफू सुरक्षित रहँदै बिभिन्न क्षेत्रमा सहयोग गर्ने उद्देश्यले १० हजार स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो । 

    युवा परिचालन तथा व्यवस्थापनका लागि केन्द्रमा केन्द्रीय कोभिड–१९ केन्द्रीय समन्वय समितिले संयोजन गर्ने र मातहतमा जिल्ला कमिटी तथा स्थानीय तह (पालिका स्तरीय) कमिटीले स्वयंसेवकको व्यवस्थापन एवं परिचालन गर्ने युवा संघ नेपालका प्रवक्ता संजिप राईले बताए । 

    कोभिड १९ को समस्या, समन्वय र सहयोगका सम्बन्धमा संघका तर्फवाट आवश्यक समन्वय एवं संयोजन गर्न संघका उपाध्यक्ष नितेश पौडेलको संयोजकत्वमा “कोभिड १९ केन्द्रीय सहयोग समन्वय समिती” गठन गरिएको छ । सो समितिले आवश्यक योजनाहरुको तय, कार्यान्वयन एवं विभिन्न कार्यक्रमहरु गर्नेछ । संघका केन्द्रीय उपाध्यक्ष पौडेलको संयोजकत्वमा रहेको समितिमा केन्द्रीय स्वास्थ्य विभाग, युवा शक्ति विभाग, जनस्वयंसेवक विभाग, बागमती प्रदेश इन्चार्ज, सह–इन्चार्ज र अध्यक्ष, प्रचार विभाग, कार्यालय विभाग, आर्थिक विभाग, गैर भौगोलिक प्रदेश कमिटीका ईञ्चार्ज, सहईञ्चार्ज र अध्यक्ष समितिको सदस्य रहने निर्णय भएको प्रवक्ता राईले बताए ।

    ‘कोभिड १९ एक तिब्र संक्रामक रोग भएको कुरा जानकारी भइसकेको छ । यसबाट सुरक्षित हुनसक्ने उपायहरु पत्ता लागिसकेको अवस्था छ । यसर्थ कोभिड १९ एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने अवस्था, यसबाट बच्ने उपायहरु, सरकारले जारी गरेको प्रोटोकल, व्यक्ति र समुदायले अपनाउनु पर्ने सावधानी जस्ता सूचनामुलक जानकारीहरु प्रवाह गर्नु आबश्यक र महत्वपूर्ण कार्य बनेको छ’ राईले भने, ‘यसर्थ यस कार्यका लागि सामाजिक सञ्जाल, पर्चा प्रकाशन, फोन वा सञ्चारका विभिन्न माध्यम मार्फत् प्रचार¬–प्रसार गर्ने र प्रचार–प्रसार गर्दा संघको नाम, झण्डा र लोगो प्रयोग गरि प्रचार सामग्री प्रकाशन गर्न, संघप्रतिको भरोसा, विश्वास र सकारात्मक आमधारणाको थप विकास हुनेगरी कार्य गर्नु गराउनु हुन निर्देशन गरिएको छ ।’

    आफू सुरक्षित रहंँदै अथवा सूरक्षाका उपायहरु अपनाउँदै कोभिड १९ बाट प्रभावित (विरामी वा विरामीका परिवार र आफन्त) हरुलाई सहयोग गर्ने गराउने बताउँदै उनले लकडाउनको समस्यामा परी खाना अभावको समस्यामा रहेका, आकास्मिक दुर्घटना वा कोभिड बाहेकको सिघ्र उपचार गर्नुपर्ने कुनै गम्भीर विरामीहरुको समस्यामा सहयोगको कार्य गर्ने हाम्रो उदेश्य रहेको उनले बताए ।

    कोभिड विरामीको उपचार र उपचार यात्राको लागि सम्बन्धित निकाय (स्वास्थ्य संस्था÷स्वास्थ्यकर्र्मी, प्रहरी प्रशासन र निर्वाचित जनप्रतिनिधि) हरुलाई सहयोग गर्न सक्ने कार्यमा आवश्यक समन्वय र सहयोग गर्ने युवासंघले गर्ने छ ।

    कोभिड १९ को संकटमा हुन सक्ने विभिन्न कालोबजारी भ्रष्टाचार, अनियमितता, सेवा सुविधाहरुको असमान अथवा भेदभावपुर्ण वितरण जस्ता कुराहरुको सुक्ष्म सुचना राख्ने, जनताका पक्षमा आवाज उठाउने, खबरदारी गर्ने, पब्लिक अनुगमन गर्न समेत युवाले मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

    कोरोनाका कारण रोजगारी गुमाएका मजदुर, काम गर्न नसकिरहेका किसान एवं गरिव वर्गको व्यवस्थापनको लागि आवश्यक सहयोग, समन्वय गर्ने र दबाब दिने योजनासमेत युवासंघले बनाएको छ ।

    कोभिड १९ को संकटको अवस्थामा पनि संगठन निर्माणका उपायहरु खोजी गरी कमिटी निर्माण गरिन्छ । कोभिड बढ्दैछ, देश लकडाउनमा जाँदैछ र एक टोल, वा गाउ वा वडा, स्थानीय तहवाट बाट अर्को ठाउँ जान नसकिने र ठुलो भेला बैठक गर्नसक्ने अवस्था नभएकाले यस्तो अवस्थामा जो जहाँ छौं त्यही क्षेत्रमा संगठन निर्माण गर्न उपायहरुको खोजी गर्दै संगठन निर्माण समेत गरिनेछ ।

    ‘जो जहाँ छौं र जुन कमिटी निर्माण गर्न सक्ने अवस्था छ त्यो कमिटी गठन गर्ने र कोभिड विरुद्ध परिचालित हुनु आवश्यक छ, भर्चुअल बैठकहरु आयोजना गरी कमिटीहरु निर्माण र परिचालन गर्ने, भर्चुल प्रशिक्षण एवं छलफलका कार्यक्रमहरु आयोजना गर्ने र भौतिक रुपमा उपस्थित हुनैपर्ने अवस्थामा २५ जना भन्दा कमको संख्यामा तोकिएको प्रोटोकल पूरा गरी बैठक बस्नेछौं’ संघका प्रवक्ता राईले बताए ।

    यसैगरी बैठकले कोभिड १९ वाट निधन भएका मृतकप्रति हार्दिक श्रद्धान्जली एवं कोभिड १९ संग संघर्ष गरिरहेका बिरामीप्रति शीघ्रस्वास्थ्य लाभको कामना बैठकले गरेको छ । 
    संघका अध्यक्ष नरेशकुमार शाहीको अध्यक्षतामा, युवा फाँट प्रमुख तथा एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार