Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • ‘जुगल भ्रमण वर्ष २०८३’ मा राजनीतिकरण, जलविद्युत आयोजनासँग पैसाको बार्गेनिङ


    बुधबार, असोज २८ २०८३
    345
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • सिन्धुपाल्चोक । जुगल गाउँपालिकाले आयोजना गरेको ‘जुगल भ्रमण वर्ष २०८३’ को कार्यक्रममा राजनीतिकरण भएको भन्दै स्थानीयस्तरमा प्रश्न उठेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको भनिएको कार्यक्रममा नेकपाका नेताकार्यकर्ताको बाहुल्य देखिएको र अन्य राजनीतिक दलका प्रतिनिधिको सहभागिता पनि रहेन ।

    कार्यक्रमका मूल आयोजक संयोजकसमेत रहेका जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोको नेतृत्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेकपा बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल थिए ।

    विशिष्ट अतिथिका रूपमा नेकपाका नेता तथा निवर्तमान सांसद माधव सापकोटा र छिमेकी बलेफी गाउँपालिकाका अध्यक्षलाई निमन्त्रणा गरिएको थियो । यही क्षेत्रका प्रतिनिधिसभाका सदस्य भने कार्यक्रममा आमन्त्रण गरिएनन् ।

    तर, जुगल गाउँपालिकामा नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्र, हालको नेकपा, बीचको संयुक्त राजनीतिक सहकार्य रहेको अवस्थामा कांग्रेसबाट निर्वाचित गाउँपालिका उपाध्यक्षसमेत कार्यक्रममा सहभागी भएनन् । एमाले सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष तथा जुगल गाउँपालिकाका पूर्वअध्यक्ष होमनारायण श्रेष्ठको पनि कार्यक्रममा उपस्थिति थिएन । त्यसोत नेपाली काँग्रेसका जिल्ला सभापति पनि यहीका हुन । उनी पनि कार्यक्रममा देखिएनन् ।

    पर्यटन प्रवद्र्धनजस्तो साझा उद्देश्य बोकेको कार्यक्रममा अन्य दलका जनप्रतिनिधि र स्थानीय राजनीतिक नेतृत्वको सहभागिता नदेखिनुले कार्यक्रमको उद्देश्य र यसको कार्यान्वयनमाथि प्रश्न उठेको स्थानीयको भनाइ छ ।

    भ्रमण बर्ष कि राजनीतिक कार्यक्रम ?

    स्थानीय एक वडाध्यक्षले भ्रमण वर्षको नाममा नेकपाका कार्यकर्तालाई प्राथमिकता दिइएको आरोप लगाए । उनका अनुसार पर्यटन प्रवद्र्धनका नाममा सबै राजनीतिक दल, स्थानीय समुदाय, व्यवसायी र सरोकारवालालाई समेट्नुपर्नेमा कार्यक्रम एकपक्षीय देखिएको छ ।

    ‘भ्रमण वर्षका नाममा स्थानीय नेकपाका कार्यकर्ता जम्मा गरेर मात्रै जुगलको पर्यटन प्रवद्र्धन हुँदैन,’ ती वडाध्यक्षले भने ।

    जुगल गाउँपालिकामा प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, धार्मिक तथा सांस्कृतिक सम्पदा र पदयात्राका सम्भावना रहे पनि तिनको व्यवस्थित प्रचारप्रसार, पूर्वाधार विकास र पर्यटकलाई आकर्षित गर्ने ठोस योजनामा ध्यान दिनुपर्ने स्थानीयको सुझाव छ । उनीहरूका अनुसार राजनीतिक दलविशेषको सहभागितामा केन्द्रित कार्यक्रमभन्दा स्थानीय पर्यटन व्यवसायी, होमस्टे सञ्चालक, युवा, महिला समूह र समुदायलाई समेट्ने अभियान प्रभावकारी हुनसक्छ ।

    जलविद्युत आयोजनासँग रकम बार्गेनिङ

    भ्रमण वर्षको कार्यक्रमसँगै जलविद्युत आयोजनाहरूसँग रकम संकलन तथा साझेदारीका विषयमा पनि प्रश्न उठाइएको छ । एक जलविद्युत व्यवसायीले आयोजनाहरूलाई साझेदारीका नाममा चर्को रकमका लागि दबाब दिइएको दाबी गरेका छन् ।

    ती व्यवसायीका अनुसार स्थानीय तहले जलविद्युत आयोजनासँग सहकार्य र साझेदारीको प्रस्ताव गर्दा रकमको माग अस्वाभाविक रूपमा चर्को भएको छ । उनले आयोजनाहरूलाई दबाब दिएर रकम असुल्ने प्रयास भएको आरोपसमेत लगाए ।

    स्थानीयस्तरमा विकास निर्माण र पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्नु अस्वाभाविक होइन । तर, यस्तो सहकार्य स्वैच्छिक, पारदर्शी र स्पष्ट योजनामा आधारित हुनुपर्ने सरोकारवालाको भनाइ छ । साझेदारीका नाममा व्यवसायीमाथि अनुचित दबाब दिइएको हो भने त्यसबारे सम्बन्धित निकायले छानबिन गर्नुपर्ने उनीहरूको माग छ ।

    एक स्थानीय पत्रकारले पनि भ्रमण वर्षका नाममा राजनीतिक कार्यकर्ता जम्मा गर्ने गतिविधिले मात्रै जुगलको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान नपुग्ने टिप्पणी गरे । उनका अनुसार भ्रमण वर्ष सफल बनाउन पर्यटकीय गन्तव्यको पहिचान, प्रचारप्रसार, यातायात र आवासको सुविधा तथा पर्यटकको सुरक्षालगायत विषयमा ठोस कार्यक्रम आवश्यक हुन्छ ।

    अध्यक्षको भूमिकामाथि प्रश्न

    जलविद्युत आयोजनासँगको सम्बन्ध र रकम संकलनको विषयलाई लिएर गाउँपालिका अध्यक्ष स्याङ्बोको कार्यशैलीमाथि पनि स्थानीयस्तरमा आलोचना भइरहेको बताइएको छ । केही व्यवसायी तथा स्थानीयले अध्यक्षले जलविद्युत व्यवसायीलाई दुःख दिने गरेको आरोप लगाएका छन् ।

    पर्यटन प्रवद्र्धनको नाममा आयोजना गरिने कार्यक्रमको औचित्य त्यसमा सहभागी नेताहरूको संख्याले होइन, स्थानीय अर्थतन्त्रमा परेको प्रभाव र पर्यटकीय गन्तव्यको प्रचारप्रसारले निर्धारण गर्छ । जुगल भ्रमण वर्षले स्थानीय पर्यटन व्यवसाय, रोजगारी र पूर्वाधार विकासमा कस्तो योगदान पु¥याउँछ भन्ने प्रश्नको जवाफ आयोजकले दिनुपर्ने देखिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार