काठमाडौं । बिहीबार सेयर बजार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ ।
बुधबार केही करेक्सन भएको बजार बिहीबार भने २.७४ अंक (शून्य दशमलव १० प्रतिशत)ले वृद्धि भएको हो । बिहीबार नेप्से परिसूचक २ हजार ६ सय ७४ दशमलव ३५ अंकमा पुगेर रोकिएको छ । बिहीबार कारोबार रकम भने बुधबारको तुलनामा केही घटेको छ । बुधबार ७ अर्ब रुपैयाँ माथिको कारोबार भएकोमा बिहीबार ६ अर्ब ५५ करोड ६६ लाख रुपैयाँको मात्रै भएको छ ।
बिहीबार बैंक, होटेल र पर्यटन, विकास बैंक, वित्त, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहका लगानीकर्ताले कमाएका छन् । व्यापार, जलविद्युत, निर्जीवन बीमा, निर्माण तथा उत्पादन, अन्य र लगानी समूहका लगानीकर्ताले भने गुमाए । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत आज घटेको छ ।
बिहीबार कुल २ सय ७ कम्पनीको ७१ हजार २ सय ४१ कारोबार भएको छ । आज कुल १ करोड ३३ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको छ ।