Nepal Face
  • बुधबार, ३१ भाद्र २०८३
  • श्रीमान् रेशम चौधरीविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा


    बुधबार, भाद्र ३१ २०८३
    55
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी बाटो रोजेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले आफ्नो छोरा, अधिकार र आत्मसम्मानका लागि कानुनी प्रक्रियामा अघि बढेको जानकारी दिएकी हुन् ।

    लामो समय मौन बसे पनि अब आफूले कानुनी बाटो रोजेको उनले बताएकी छन् । ‘लामो समयको मौनतापछि मैले कानुनी बाटो रोजेकी छु, यो प्रतिशोध होइन, कसैलाई अपमान गर्ने अभियान पनि होइन,’ उनले लेखेकी छन् । आफूले भोगेको विषयलाई प्रमाणसहित सम्बन्धित निकायसमक्ष राख्नु आफ्नो अधिकार भएको उनको भनाइ छ ।

    सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै रञ्जिताले सम्बन्धको मर्यादा, परिवारको सम्मान र आफ्नै संस्कारका कारण धेरै वर्ष मौन बसेको बताएकी छन् । विशेषगरी आफ्नो छोराले बुबाको माया, साथ, समय र जिम्मेवारी पाउनुपर्ने उमेरमा त्यसको अभाव महसुस गर्दा आफूलाई पीडा भएको उनले उल्लेख गरेकी छन् ।

    छोराको बालमनमा बुबाप्रति घृणा उत्पन्न नहोस् भनेर आफूले कहिल्यै विष नघोलेको र उसका प्रश्नहरूको उत्तर दिँदा आफ्ना आँसु लुकाएको रञ्जिताको भनाइ छ । ‘बुबा हुनु केवल सम्बन्धको नाम होइन, यो सन्तानप्रतिको जिम्मेवारी पनि हो,’ भन्दै उनले अब आफ्नो छोराको भविष्य र आत्मसम्मानका लागि उभिएको बताएकी छन् ।

    आफूले कसैलाई दोषी घोषणा नगरेको र दोषी ठहर गर्ने अधिकार कानुनको भएको पनि उनले बताएकी छन् । कुनै काम कानुनविपरीत भएको रहेछ भने त्यसको परिणाम सामना गर्नुपर्ने उनको भनाइ छ।

    सामाजिक सञ्जालमा हुने बहसभन्दा सम्बन्धित विषय कानुन र प्रमाणका आधारमा टुंगिनुपर्ने उनको धारणा छ । अब सामाजिक सञ्जालमा हरेक शब्दको जवाफ नदिने भन्दै उनले आफ्ना कुरा सम्बन्धित ठाउँमा राख्ने र बाँकी कुरा कानुन र समयले स्पष्ट पार्ने बताएकी छन् । यद्यपी, रञ्जिताले रोजेको कानूनी बाटो के हो भन्ने स्पष्ट भएको छैन । उनी स्वयमले पनि यसलाई प्रष्ट्याएकी छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार