Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौँ महानगरका मेयरसँग गौरीघाटदेखि भुवलडाँडासम्म ५ घण्टा विताउँदा…


    सोमबार, चैत्र २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १० मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य महानगरपालिका क्षेत्र भित्र भएका विकास निर्माणका कामको अनुगमनसँगै मतदाताका गुनासा सुन्ने र सुझाव लिने सिलसिलामा वडा– ६ को निर्माणधिन बागमती नगर पार्क पुग्दा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–३ का सांसद कृष्ण राई, वडाध्यक्ष दिपेन्द्र लामासहितको टोली उहाँको प्रतिक्षामा थियो ।

    शाक्य गुहेश्वरीफाँट बागमती नगर सुविधा बस्तीमा निर्माणाधिन बागमती पार्क पुग्दा स्थानीय मतदाता पनि उहाँहरुले स्वागतमा तम्तयार देखिन्थे । २०७७ साल फागुन १५ भित्रमा सम्पन्न गरिसक्नु पर्ने पार्कको काम ठेकेदारले करीब ७० प्रतिशत मात्रै सम्पन्न भएको जानकारी गराएपछि प्रमुख शाक्यले वडाध्यक्ष लामासँग निर्माण कार्यमा भैरहेको ढिलासुस्तीबारे जिज्ञासा राख्नुभयो । वडाध्यक्ष लामाले स्थानीयको माग अनुसार नै पार्क निर्माणको काम अघि बढाएको र विवाद रहित तरिकाले काम सम्पन्न गर्ने सन्दर्भमा केही ढिला–सुस्ती भएको बताउनुभयो । वडाध्यक्ष लामाले बोल्दै गर्दा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष देवकुमार लामाले स्थानीयको माग अनुसार नै पार्क निर्माणको काम अघि बढेको भन्दै डिजाइन अनुसारको काममा केही लतमाथि भएकाले समान्य ढिलाई भएको बताउनुभयो ।

    विकास निर्माणका काममा चासो राख्दै महानगरपालिकाका प्रमुखसहितको टोलीलाई  आफ्नो वडामा देख्दा दंग पर्नुभएका लामाले प्रमुख शाक्यलाई यस्ता अनुगमन बेला–बेलामा गरिरहनु पर्ने सुझाव दिनुभयो । ‘निर्वाचन जितेपछि जनप्रतिनिधिको अनुहार अर्को निर्वाचनताका मात्रै देखिन्छ,’ लामाले भन्नुभयो, ‘यसरी विकास निर्माणका कामबारे चासो राख्दै जनताको गुनासो सुन्न मेयरज्यु आफैँ आउनुभयो हामी खुशी छौँ । यस्तो अनुगमनलाई निरन्तरता दिनुहोला ।’ लामासँगै रहनु भएका स्थानीय भवानी घिमिरेले पनि सांसद, मेयर र वडाध्यक्षसँगै विकास निर्माणको कामबारे जानकारी लिन अनुगमनमा आउनु सकारात्मक भएको बताउनुभयो । 

    लामाका कुरा ध्यानपुर्वक सुन्नु भएका प्रमुख शाक्यले केही गुनासो भए वडाध्यक्ष समक्ष राख्न आग्रह गर्दै विकास निर्माणका काममा राजनीतिक रंग दिनुनहुनेमा जोड दिनुभयो । ‘हामीलाई मतदाताले अमूल्य मत दिएर विजयी गराएका छन् । त्यसैले यस्ताखाले अभियानले जनतासँग गरेका प्रतिवद्धता पूरा गर्ने र जनताको इच्छा–आकाक्षांलाई बुझ्ने अवसर समेत प्राप्त हुन्छ,’ स्थानीयका गुनासा सुन्दै प्रमुख शाक्यले भन्नुभयो, ‘हामी जनताकै मुखबाट जनप्रतिनिधिसँग उहाँहरुले के–के अपेक्षा राख्नु भएको छ । त्यो पनि प्रत्यक्ष सुन्न चाहन्छौँ । अनुगमनको उदेश्य यो पनि हो ।’

    प्रमुख शाक्यले स्थानीय तहका जनप्रतिनिधि भनेका मतदाताको घर–दैलोको सरकार भएको भन्दै आफू सधैँ जनताकै बिचमा रहने बताउनुभयो । ‘हामी विकास निर्माणका काममा राजनीतिक आग्रह–पूर्वाग्रह राखेर अघि बढ्यौँ भने समृद्धिको सपना पूरा हुँदैन,’ प्रमुख शाक्यले सांसद राई र वडाध्यक्ष लामालाई पनि साथमै राखेर भन्नुभयो, ‘यहाँको आवश्यकता के–हो सबै मिलेर छलफल गर्नुहोला । बजेटको कुनै चिन्ता नलिनु । महानगरपालिका तयार छ ।’

    करीब ६ करोड १६ लाखको लगानीमा निर्माणकार्य भैरहेको पार्क बास्तुशास्त्रमा आधारित रहेको भन्दै काठमाडौँ महानगरपालिकाका इन्जिनियर प्रेम श्रेष्ठले मेयर शाक्यलाई पार्क एम्पी थिएटर, पोखरी, खेल मैदान, बाल उद्यानसहितको डिजाइनमा तयार पारेको जानकारी दिनुभयो । मेयर शाक्यसँगै उभिनु भएका सांसद राईले पनि काठमाडौँ महानगरपालिकाको लगानीमा यति राम्रो पार्क बन्ने कुरा सकारात्मक भएको भन्दै आफ्नो क्षेत्रका केही ठाउँमा सडक बत्ती र सीसी क्यामेराको आवश्यक भएको भन्दै प्रमुख शाक्यको ध्यानाकर्षण गराउनुभयो । मेयर शाक्यले पार्क निर्माणको काम सम्पन्न भएपछि त्यो माग पूरा हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    करीब आधा घण्टाजति त्यहाँको अनुगमनपछि प्रमुख शाक्यसहितको टोली करीब एक करोडको लगानीमा निर्माण हुँदै गरेको शान्तिपार्कको अवलोकनका लागि पुग्यो । प्रमुख शाक्यसहितको टोली त्यहाँ पुग्दा नमूना बस्ती सुधार समितिकी अध्यक्ष समेत रहनु भएकी महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले केही स्थानीयले अवरोध गरेपछि समयमा काम सम्पन्न गर्न समस्या भएको भन्दै प्रमुख शाक्य र वडाध्यक्ष लामासमक्ष गुनासो गर्नुभयो । उहाँले त्यस्तो गुनासो गर्दै गर्दा युवा साजन दंगालले त्यस्तो अवरोध स्थानीयबाट नभएको भन्दै पार्क निर्माणको पक्षमा रहेको दलिल पेस गर्नुभयो । उहाँले पार्क भित्रका केही संरचना भत्काउने विषयमा भने यवाहरुको विमती रहेको दाबी गर्नुभयो । प्रमुख शाक्यले दुबैतिरका गुनासा सुनेपछि वडाध्यक्ष लामालाई सबैसँग बसेर छलफल गरी काम छिटो सम्पन्न गर्नेगरी अघि बढाउन निर्देशन दिनुभयो । अध्यक्ष लामाले पनि तत्कालै समस्या समाधान गरी कामलाई द्रूतगतिमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेपछि प्रमुख शाक्यसहितको टोली बौद्धमा रहेको निर्माणधिन वडाकार्यालयतर्फ अघि बढ्यो ।

     करीब १ करोड ८० लाखको लगानीमा निर्माण भैरहेको सुविधासम्पन्न वडा भवनको अवलोकनपछि प्रमुख शाक्यले सामूहिक तस्बिर खिच्दै प्रत्येक वडाको विकास निर्माणका लागि महानगरपालिकाले बजेट पठाउने गरेको र केन्द्रबाट पठाएको बजेट र वडामार्फत पनि परिचालन गरेको बजेटबाट कति काम सम्पन्न भयो । कति सम्पन्न हुन बाँकी छ भन्ने जानकारी लिनका लागि अनुगमन गरेको जानकारी दिनुभयो । उहाँले यस्ताखाले अनुगमन ३२ वटै वडामा समय–समयमा गर्दै आएका पनि स्मरण गराउनुभयो । 

    वडाध्यक्ष लामाले पनि निर्माणाधिन भवनतिर देखाउँदै भन्नुभयो, ‘मेयरज्युकै पहलमा सुविधा सम्पन्न भवन बन्दै छ । अब छिट्टै मयेरज्युलाई नै बोलाएर भव्य उद्घाटन गरेर यही भवनबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न आतुर छौँ ।’ लामाले १७ हजार मतदाता रहेको वडा–६ मा करीब १ लाख बढी बसोबास गर्ने भएकाले सेवाग्राहीका लागि निर्माण हुँदै गरेको वडा भवनबाट सुलभ सेवा प्रदान गर्न सकिनेमा आशावादी रहेको बताउनुभयो ।

    वडाध्यक्ष लामाको उक्त भनाइपछि मेयर शाक्यले पनि मुस्कुराउँदै भन्नुभयो, ‘हामी निर्वाचित भएर आएपछि सबै जनप्रतिनिधि हौँ, म नेकपा, काँग्रेस वा अरु दल भनेर हेर्दिन । मेरालागि ३२ वटै वडा वरावरी हुन् । चुनावी प्रतिवद्धता अनुसार हाम्रै कार्यकालमा सबै वडाका वडा भवन सुविधा सम्पन्न निर्माण गर्ने अभियान निरन्तर अघि बढेको छ ।’

    उहाँले अनुगमनपछि ०७८ असार १५ सम्ममा सम्पन्न गर्ने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो । प्रमुख शाक्यले नगर कार्यपालिका सदस्य लक्ष्मी श्रेष्ठ, वडा सदस्यहरु जयराम पुडासैनी, नरेन्द्र कुमार थापा र कमला बयलकोटीले पनि प्रमुख शाक्यसहितको टोली वडा अनुगमनमा आउँदा खुशी लागेको भन्दै यस्ता अवलोकन भ्रमण समय–समयमा हुनुपर्ने बताउनुभयो । ‘यस्ता अनुगमनले वडामा भै रहेका विकास निर्माणका कामलाई दू्रत गतिका साथ अघि बढाउन सहयोग पुग्छ,’ वडा सदस्य श्रेष्ठले भन्नुभयो, ‘ठेकेदारहरुलाई पनि समयमा काम सम्पन्न गर्न दबाव दिन हामीलाई सजिलो हुन्छ ।’

    पुरानो वडा भवनमा केहीबेरको चियापानपछि प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले केही महिना अघि मात्रै निर्माण सम्पन्न गरेको अत्याधुनिक महानगर बारुण यन्त्र तथा तालिम केन्द्रका बारेमा चासो व्यक्त गर्नुभयो । अध्यक्ष लामाले महांकाल, चुच्चेपाटीलगायतका स्थानमा पुर्ननिर्माण गर्ने पार्कहरुको अवलोकनपछि बारुण यन्त्र तथा तालिम केन्द्रको भवनको अवलोकनमा जाने तालिका रहेको जानकारी गराउनुभयो ।

    त्यही सिलसिलामा प्रमुख शाक्यको टोली चुच्चेपाटी पुग्दा केही स्थानीय मागका पन्तुरा खोल्न तम्तयार देखिए । स्थानीय मध्येका युवा दिवाकर न्यौपानेले प्रमुख शाक्य विकास निर्माणबारे चासो राख्दै आफ्नो टोलसम्म आएकोमा खुशी लागेको बताउनुभयो । उहाँले प्रमुख शाक्य र वडाध्यक्ष लामालाई छेउमै राखेर चुच्चेपाटी, तीनचुले क्षेत्रमा बढी चोरीको घटना हुने गरेको र चोर पत्ता लगाउन समस्या भएको भन्दै सीसी क्यामेराको तत्काल व्यवस्था गर्न आग्रह गर्नुभयो । चुच्चेपाटी पार्क पुननिर्माण गर्नुपर्ने, हरियाली प्रवद्र्धन गर्नुपर्ने जस्ता माग त्यहाँका स्थानीयले राखेपछि प्रमुख शाक्यले पनि आफुसँगै रहनु भएका सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापालाई समस्या बारे टिप्न र तत्काल समाधानको प्रयास अघि बढाउन निर्देशन दिनुभयो ।  

    करीब चार घण्टाको अनुगमनपछि बारुण यन्त्र पुग्दा मध्यान्हको १२ बज्न लागेको थियो । बारुण यन्त्रमा सशस्त्र प्रहरीको सहीको नेतृत्वमा ८ र महानगर प्रहरीको इनिस्पेक्टरको नेतृत्वमा रहेका ५ गरी १३ जनाको कमाण्डमा एउटा ल्याडर, एउटा दमकललगायतले सेवा दिइरहेका रहेछन् । करीब एक घण्टाको अनुगमनका क्रममा प्रमुख शाक्यले सेवा प्रवाहमा देखिएका समस्याका बारेमा जिज्ञासा राख्नुभयो । केही समय त्यहाँका स्टाफलाई हौसला प्रदान गर्न टेनिस पनि खेल्नुभयो ।

    त्यसपछि प्रमुख शाक्यको टोली वडा–६ कै भुवलडाँडाको सडक तथा ढल निर्माण र व्लक छाप्ने कार्यको अनुगमनका लागि निस्कियो । करीब १ करोड ८५ लाखको लगानीमा निर्माणधिन उक्त सडकको अनुगमनका क्रममा स्यानीयका गुनासा समेत सुन्न भ्याउनुभयो । ‘लामो समयदेखि हिलो र धुलो खाएर कष्टकरण जीवन भोगिरहेका यहाँका स्थानीयको अवस्था बत्तीमुनीको अध्याँरो जस्तै थियो,’ वडा सदस्य पुडासैनीले भन्नुभयो, ‘अहिले यहाँका स्थानीयको मुहारमा मुस्कान छाएको छ ।’

    प्रमुख शाक्यले वडा–६ को अनुगमन अघि वडा–७ को गौरीघाटमा निर्माण भएको मचाका पार्कको पनि अवलोकन गर्नुभएको थियो । करीब २१ लाखको लगानीमा निर्माण भएको सो पार्क निर्माण हुनु अघि त्यहाँका ४ सय ५० घरको फोहोर मिल्काउने डम्पिङ बनेको रहेछ । ११ आना क्षेत्रफलमा रहेको बाल उद्यानको अवलोकनपछि प्रमुख शाक्यले काठमाडौँ महानगरपालिका सार्वजनिक जग्गा संरक्षण अभियानमा रहेको भन्दै त्यस्ता जग्गामा पार्क निर्माण गर्ने र हरियाली प्रर्वद्धन गर्ने कार्यलाई जारी राख्ने बताउनुभयो । उहाँले करीब ६ घण्टाको अनुगमनपछि छुट्ने बेलामा दुबै वडाका अध्यक्ष र सदस्यहरुलाई सेवाग्राहीले कुनै पनि गुनासोे गर्ने वातावरण सिर्जना नहोस भन्दै असल जनप्रतिनिधिका रुपमा आफूलाई अब्वल बनाउन आग्रह गर्नुभयो । 

    166719355_361025185158773_3008289525004999992_n.jpg

    168071648_808479146758341_8990614876913852489_n.jpg

    166655080_2034294426713640_3335372084519022640_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार