Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • पैसा नभएकै कारण अस्पतालबाट सुत्केरी निकालिनु राज्यकै लागि लज्जाको विषय: लिमा अधिकारी


    शुक्रबार, भाद्र २६ २०८३
    70
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व. भरतमोहन अधिकारीलाई सम्झाएको बताएकी छन् ।

    सुत्केरी महिलाका लागि राज्यले दिने भत्ता तथा सुरक्षित मातृत्वको अवधारणा अघि बढाउन आफ्ना पिता भरतमोहन अधिकारीले खेलेको भूमिकाको स्मरण गरिन् ।

    उनले जीवन र मृत्युको दोसाँधमा रहेकी गर्भवती महिलालाई केही हजार रुपैयाँको अभावकै कारण अस्पतालको ढोकाबाट बाहिर निकालिएको घटना राज्यका लागि गम्भीर लज्जाको विषय भएको बताइन् ।

    उनले संविधानले सुरक्षित मातृत्वलाई मौलिक हकका रूपमा सुनिश्चित गरे पनि व्यवहारमा त्यसको अनुभूति गराउन नसकिएको बताइन् ।

    ‘हामीले संविधानमा सुरक्षित मातृत्वलाई मौलिक हक लेख्यौँ, राज्यका नीति तथा कार्यक्रममा ठूला कुरा गर्‍यौँ । तर एउटी आमा प्रसव पीडाले छटपटाइरहेका बेला पैसा नभएकै कारण अस्पतालको ढोकाबाट निकालिन्छिन् भने हाम्रा नीति, कानुन र भाषणको औचित्य के रहन्छ ?,’ उनले प्रश्न गरिन् ।

    सप्तरीको घटनामा संलग्न कर्मचारी तथा अस्पताल प्रशासनमाथि तत्काल छानबिन गरी दोषी देखिए कडा कारबाही गर्नुपर्ने उनको माग छ ।

    ‘पैसाको अभावमा कुनै पनि गर्भवती महिलाले अस्पतालको ढोकामा अपमानित हुनुपर्ने अवस्था आउनु हुँदैन । एउटी आमाको पीडा राज्यले बुझ्न सकेन भने हामीले गरेको राजनीति र बोकेको पदको अर्थ रहँदैन,’ अधिकारीले भनिन् ।

    सप्तरीमा अस्पतालले पैसा नभएको भन्दै फर्काएपछि बबिता पासवानले फुटपाथमै शिशु जन्माएकी थिइन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार