काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य महानगरपालिका क्षेत्र भित्र भएका विकास निर्माणका कामको अनुगमनसँगै मतदाताका गुनासा सुन्ने र सुझाव लिने सिलसिलामा वडा– ६ को निर्माणधिन बागमती नगर पार्क पुग्दा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–३ का सांसद कृष्ण राई, वडाध्यक्ष दिपेन्द्र लामासहितको टोली उहाँको प्रतिक्षामा थियो ।
शाक्य गुहेश्वरीफाँट बागमती नगर सुविधा बस्तीमा निर्माणाधिन बागमती पार्क पुग्दा स्थानीय मतदाता पनि उहाँहरुले स्वागतमा तम्तयार देखिन्थे । २०७७ साल फागुन १५ भित्रमा सम्पन्न गरिसक्नु पर्ने पार्कको काम ठेकेदारले करीब ७० प्रतिशत मात्रै सम्पन्न भएको जानकारी गराएपछि प्रमुख शाक्यले वडाध्यक्ष लामासँग निर्माण कार्यमा भैरहेको ढिलासुस्तीबारे जिज्ञासा राख्नुभयो । वडाध्यक्ष लामाले स्थानीयको माग अनुसार नै पार्क निर्माणको काम अघि बढाएको र विवाद रहित तरिकाले काम सम्पन्न गर्ने सन्दर्भमा केही ढिला–सुस्ती भएको बताउनुभयो ।
वडाध्यक्ष लामाले बोल्दै गर्दा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष देवकुमार लामाले स्थानीयको माग अनुसार नै पार्क निर्माणको काम अघि बढेको भन्दै डिजाइन अनुसारको काममा केही लतमाथि भएकाले समान्य ढिलाई भएको बताउनुभयो । विकास निर्माणका काममा चासो राख्दै महानगरपालिकाका प्रमुखसहितको टोलीलाई आफ्नो वडामा देख्दा दंग पर्नुभएका लामाले प्रमुख शाक्यलाई यस्ता अनुगमन बेला–बेलामा गरिरहनु पर्ने सुझाव दिनुभयो ।
‘निर्वाचन जितेपछि जनप्रतिनिधिको अनुहार अर्को निर्वाचनताका मात्रै देखिन्छ,’ लामाले भन्नुभयो, ‘यसरी विकास निर्माणका कामबारे चासो राख्दै जनताको गुनासो सुन्न मेयरज्यु आफैँ आउनुभयो हामी खुशी छौँ । यस्तो अनुगमनलाई निरन्तरता दिनुहोला ।’ लामासँगै रहनु भएका स्थानीय भवानी घिमिरेले पनि सांसद, मेयर र वडाध्यक्षसँगै विकास निर्माणको कामबारे जानकारी लिन अनुगमनमा आउनु सकारात्मक भएको बताउनुभयो । लामाका कुरा ध्यानपुर्वक सुन्नु भएका प्रमुख शाक्यले केही गुनासो भए वडाध्यक्ष समक्ष राख्न आग्रह गर्दै विकास निर्माणका काममा राजनीतिक रंग दिनुनहुनेमा जोड दिनुभयो ।
‘हामीलाई मतदाताले अमूल्य मत दिएर विजयी गराएका छन् । त्यसैले यस्ताखाले अभियानले जनतासँग गरेका प्रतिवद्धता पूरा गर्ने र जनताको इच्छा–आकाक्षांलाई बुझ्ने अवसर समेत प्राप्त हुन्छ,’ स्थानीयका गुनासा सुन्दै प्रमुख शाक्यले भन्नुभयो, ‘हामी जनताकै मुखबाट जनप्रतिनिधिसँग उहाँहरुले के–के अपेक्षा राख्नु भएको छ । त्यो पनि प्रत्यक्ष सुन्न चाहन्छौँ । अनुगमनको उदेश्य यो पनि हो ।’ प्रमुख शाक्यले स्थानीय तहका जनप्रतिनिधि भनेका मतदाताको घर–दैलोको सरकार भएको भन्दै आफू सधैँ जनताकै बिचमा रहने बताउनुभयो ।
‘हामी विकास निर्माणका काममा राजनीतिक आग्रह–पूर्वाग्रह राखेर अघि बढ्यौँ भने समृद्धिको सपना पूरा हुँदैन,’ प्रमुख शाक्यले सांसद राई र वडाध्यक्ष लामालाई पनि साथमै राखेर भन्नुभयो, ‘यहाँको आवश्यकता के–हो सबै मिलेर छलफल गर्नुहोला । बजेटको कुनै चिन्ता नलिनु । महानगरपालिका तयार छ ।’ करीब ६ करोड १६ लाखको लगानीमा निर्माणकार्य भैरहेको पार्क बास्तुशास्त्रमा आधारित रहेको भन्दै काठमाडौँ महानगरपालिकाका इन्जिनियर प्रेम श्रेष्ठले मेयर शाक्यलाई पार्क एम्पी थिएटर, पोखरी, खेल मैदान, बाल उद्यानसहितको डिजाइनमा तयार पारेको जानकारी दिनुभयो । मेयर शाक्यसँगै उभिनु भएका सांसद राईले पनि काठमाडौँ महानगरपालिकाको लगानीमा यति राम्रो पार्क बन्ने कुरा सकारात्मक भएको भन्दै आफ्नो क्षेत्रका केही ठाउँमा सडक बत्ती र सीसी क्यामेराको आवश्यक भएको भन्दै प्रमुख शाक्यको ध्यानाकर्षण गराउनुभयो ।
मेयर शाक्यले पार्क निर्माणको काम सम्पन्न भएपछि त्यो माग पूरा हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । करीब आधा घण्टाजति त्यहाँको अनुगमनपछि प्रमुख शाक्यसहितको टोली करीब एक करोडको लगानीमा निर्माण हुँदै गरेको शान्तिपार्कको अवलोकनका लागि पुग्यो । प्रमुख शाक्यसहितको टोली त्यहाँ पुग्दा नमूना बस्ती सुधार समितिकी अध्यक्ष समेत रहनु भएकी महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले केही स्थानीयले अवरोध गरेपछि समयमा काम सम्पन्न गर्न समस्या भएको भन्दै प्रमुख शाक्य र वडाध्यक्ष लामासमक्ष गुनासो गर्नुभयो ।
उहाँले त्यस्तो गुनासो गर्दै गर्दा युवा साजन दंगालले त्यस्तो अवरोध स्थानीयबाट नभएको भन्दै पार्क निर्माणको पक्षमा रहेको दलिल पेस गर्नुभयो । उहाँले पार्क भित्रका केही संरचना भत्काउने विषयमा भने यवाहरुको विमती रहेको दाबी गर्नुभयो । प्रमुख शाक्यले दुबैतिरका गुनासा सुनेपछि वडाध्यक्ष लामालाई सबैसँग बसेर छलफल गरी काम छिटो सम्पन्न गर्नेगरी अघि बढाउन निर्देशन दिनुभयो । अध्यक्ष लामाले पनि तत्कालै समस्या समाधान गरी कामलाई द्रूतगतिमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेपछि प्रमुख शाक्यसहितको टोली बौद्धमा रहेको निर्माणधिन वडाकार्यालयतर्फ अघि बढ्यो ।