वीरगञ्ज । राजस्व अनुसन्धान कार्यालय पथलैयाले ललिलाम प्रायोजनका लागि नमुना परीक्षण गर्दा खान अयोग्य प्रमाणित भएपछि ७२ हजार किलो चिनी नष्ट गर्ने भएको छ ।
खाद्य तथा गुण नियन्त्रण कार्यालय जनकपुरमा गुणस्तर परीक्षण गराउँदा चिनी खानका लागि अयोग्य रहेको रिपोर्ट आएकाले नष्ट गर्ने प्रक्रिया शुरु गरिएको कार्यालयले जनाएको छ । चिनी लिलाम बिक्री प्रक्रियाका लागि राजस्वले फागुन १३ गते नमुना परीक्षणका लागि जनकपुर पठाएको थियो ।
खान अयोग्य प्रमाणित भएपछि चिनी व्यवस्थापनका लागि सोमबार बैठक बस्ने स्रोतले जानकारी दिएकाे छ ।
खाद्यको रिपोर्टको आधारमा राजस्व अनुसन्धान विभागले चैत ६ गते पथलैयालाई पत्र पठाएर चिनी नष्ट गर्न अनुमति दिइसकेको छ । अनुसन्धान प्रक्रियामा रहेका कारण ७२ हजार किलो चिनी एक वर्षदेखि राजस्व अनुसन्धान कार्यालय पथलैयाको गोदाममा थन्किएको छ । १ हजार ४४० बोरा चिनीमध्ये अधिकांशमा बोरामा उत्पादन मिति उल्लेख छैन । केही बोरामा पटक–पटक केरमेट गरिएको छ ।
खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले उपभोग मिति समाप्त भएकोले आयातमा रोक लगाएको भारतीय चिनी मिलेमतोमा २०७६ फागुन २५ गते जलेश्वर भन्सारबाट नेपाल भित्रिएको थियो ।
अखाद्य चिनी नेपाल ल्याउने व्यवसायी र उनीहरुलाई सघाउने भन्सारका कर्मचारीलाई कारबाही गर्न उपभोक्ता हित संरक्षण मञ्चले माग गरेको छ ।