Nepal Face
  • शुक्रबार, १९ भाद्र २०८३
  • गृह मन्त्रालयले गर्यो २३ उपसचिव र सहसचिवको सरुवा, कुन-कुन जिल्लाका सीडीओ फेरिए ?


    शुक्रबार, भाद्र १९ २०८३
    245
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको छ । केही सीडीओलाई गृहमन्त्रालय तथा मातहतका निकायमा फिर्ता गरिएको छ ।

    रिक्त रहेको झापाको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयका सहसचिव श्रवणकुमार पोखरेललाई पठाइएको छ । महेन्द्र कुमार सापकोटालाई सल्यानबाट सुर्खेतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

    त्यस्तै, जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीलाई बाराको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई भने गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

    बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई गोरखा खटाइएको छ । यसैगरी, खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

    दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई सहसचिवका रूपमा गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ । उनले राजीनामा दिइसकेका छन् । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई गृह मन्त्रालय, सिंहदरबार सरुवा गरिएको छ ।

    रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई पर्वतको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ भने पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

    यसैगरी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत बलराम निरौलालाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

    गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई महानिर्देशकका रूपमा लागूऔषध नियन्त्रण विभाग, काठमाडौं पठाइएको छ ।

    त्यस्तै, सहसचिव बाबुराम घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गतबाट गृह मन्त्रालय, सिंहदरबारमै पदस्थापन गरिएको छ ।

    डडेलधुराको प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीलाई जिल्ला प्रशासन कार्यालय, बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय काठमाडौंमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा कार्यरत वेदराज फुयाँललाई राजपत्र द्वितीय श्रेणीको प्रमुख जिल्ला अधिकारीका रूपमा डडेलधुरा पठाइएको छ ।

    त्यस्तै, बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराललाई जाजरकोट पठाइएको छ । गृह मन्त्रालयका उपसचिव बन्दना के.सी.लाई सल्यान पठाइएको छ । उपसचिव गणेश गैरैलाई म्याग्दी पठाइएको छ ।

    भोजपुर, खोटाङ, सल्यान र म्याग्दीमा नयाँ सीडीओ उपसचिव कुलशेखर अर्याललाई भोजपुर पठाइएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङलाई खोटाङ पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार