गोरखा। जिल्लाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भिरमा जीप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ ।
बारपाक गएर फर्कँदै गरेको ना५च ३२९८ नंको जिप शनिबार साँझ करिब ७ः०० दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रकाश दाहालले जानकारी दिए ।
दुर्घटनामा परी लमजुङ दूधपोखरी गाउँपालिका–२ बिचौरका ४८ वर्षीयका ठाकुर दुवाडी र ५० वर्षीय रामेश्वर न्यौपानेको मृत्यु भएको डिएसपी दाहालले बताए । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालको भनाइ छ । गम्भीर घाइते हुनेमा दूधपोखरी–२ लमजुङका ३१ वर्षीय विष्णु न्यौपाने र २८ वर्षीय अनिल मरहठ्ठा रहेका छन् । उनीहरु दुवै जनालाई थप उपचारका लागि राति नै चितवन पठाइएको उनले बताए।
दुर्घटनामा परी लमजुङ बेँशीशहर नगरपालिका–१० का २० वर्षीय सन्तोष तामाङ, दूधपोखरी गाउँपालिका–२ का १८ वर्षीय अमृत दुवाडी, ३० वर्षीय विष्णु दुवाडी, २९ वर्षीय विष्णु दुवाडी र तनहुँको व्यास नगरपालिका–१ घर भएका सुशील नराल भएको डिएसपी दाहालले जानकारी दिए ।
जीप सडकबाट झण्डै २०० मिटर तल खसेको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरी निरीक्षकको कमाण्डमा बालुवा प्रहरी चौकीबाट समेत प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्धार गरिएको थियो । जीप रिर्जभ गरेर बारपाक घुम्न आएका उनीहरु फर्कने क्रममा राङरुङमा दुर्घटनामा परेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।