Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसद्वारा प्रधानमन्त्रीको राजीनामा माग


    शनिबार, चैत्र २१ २०७७
    675
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । शुक्रबार राति अबेर बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा अन्य दलसहितको गठबन्धन बनाएर सरकार गठनको पहल गर्ने निर्णय गरेको हो ।

    कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र नयाँ सरकारका लागि ओलीको विकल्प दिन आफ्नै नेतृत्वमा पहल गर्ने निर्णय गरेको जानकारी दिए ।

    ‘बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको छ, प्रधानमन्त्रीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउनेगरी पहल गर्ने निर्णय कांग्रेस बैठकले गरेको हो,’ कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य पौडेलले राजधानीसँग भने ।

    शुक्रबार दिउसो २ बजेका लागि बोलाइएको बैठक एजेन्डामा सहमति जजुटेपछि राति ८ बजेपछि सुरु भएको थियो । बैठकको एजेन्डामा सरकारको विकल्प खोज्नेबारे विषय समावेश नभएपछि कांग्रेसभित्र विवाद देखिएको थियो ।

    सरकारको विकल्प खोज्नुपर्ने विषयलाई एजेन्डा बनाउनुपर्ने कांग्रेसभित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको अडानपछि सभापति शेरबहादुर देउवासहितका नेता शीर्ष तहमा छलफलमा बसेका थिए ।

    शीर्ष तहको छलफलबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्ने विषय बैठकको एजेन्डा बनाउने सहमति भएपछि कांग्रेसले केन्द्रीय समिति बैठकमा सो प्रस्ताव लगेर निर्णय गरेको हो ।आजको राजधानी दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार