एजेन्सी। म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिले त्यहाँको सुरक्षा अवस्था अझ नराम्रो हुन सक्ने र ‘नियन्त्रणबाहिर’ जान सक्ने खतरा औँल्याएका छन्।
सुरक्षा फौजहरूले जानाजान, योजनाबद्ध र व्यापक रूपमा घातक बल प्रयोग गरेको प्रमाणहरूबाट देखिएको एन्ड्र कर्कवूडले बीबीसीलाई बताए।
उनका अनुसार म्यान्मारमा सैन्य कूयता मारिएका पाँच सयभन्दा बढी व्यक्तिमध्ये ९० प्रतिशतले गोली प्रहारबाट ज्यान गुमाएका छन्।
तीमध्ये धेरैको टाउकोमा गोली हानिएको र निसानेबाजहरूलाई परिचालन गरिएको कर्कवुडले बताएका छन्।
सेभ द चिल्ड्रेनका अनुसार गत माघ १९ पछि सरकारी सुरक्षाकर्मीको कारबाहीमा परेर कम्तीमा ४३ बालबालिका मारिएका छन्।
त्यहाँको अवस्थालाई ‘दुःस्वप्न’ जस्तो भन्दै उक्त अधिकारवादी संस्थाले छवर्षे बच्चा पनि सेनाद्वारा मारिएको बताएको छ।
एउटा स्थानीय पर्यवेक्षण समूहले देशभरि अहिलेसम्म ५३६ जनाको मृत्यु भएको तथ्याङ्क दिएको छ।
सेनाको कडा निन्दा
शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध भएको हिंसाको राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेको छ।
एक दिनअघि परिषद्को एउटा आपत्कालीन बैठकमा चीनले म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रस्ताव पुनः अस्वीकार गरिदिएको थियो।
सैनिक नेतामाथि प्रतिबन्ध लगाउने कदमले तनाव मात्र बढाउने राष्ट्रसङ्घका लागि चिनियाँ दूतले दाबी गरेका थिए।
अघिल्लो शनिवार एकै दिन १०० जनाभन्दा बढी प्रदर्शनकारी मारिएपछि ब्रिटेनको आग्रहमा परिषद्को आपत्कालीन बैठक डाकिएको थियो। स्रोत: बिबिसी