Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वायु प्रदूषणको दीर्घकालीन उपाय खोज्न आग्रह


    शुक्रबार, चैत्र २० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले वायु प्रदूषण तथा प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न तत्कालीन तथा दीर्घकालीन उपायहरूको अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको संरक्षणार्थ जोखिम न्यूनीकरणका लागि तत्कालीन र दीर्घकालीन उपायहरु अवलम्बन गर्न ध्यानाकर्षण गराइएको हो ।

    आयोगले विज्ञहरुसँग गरेको परामर्शअनुसार वायु प्रदूषणबाट हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । हालै देखिएको अत्यधिक डढेलोलाई नियन्त्रण गर्न, घर तथा कृषि कार्यबाट निस्कने फोहर जलाउने काममा नियन्त्रण गर्न र सवारी साधनको प्रयोगलाई सम्भव भएसम्म कम गरी वायु प्रदूषणको अवस्थामा तत्काल सुधार ल्याउन सकिन्छ ।

    गत शुक्रबारदेखि काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा बढिरहेको वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा असर परेको थियो । यस सम्बन्धमा आयोगले नियमितरूपमा अनुगमन गर्नुका साथै आयोगमा सरोकारवालासँग छलफल गरेको जनाएको छ ।

    पछिल्लो समयमा नेपालका विभिन्न ठाउँमा आगलागी तथा डढेलो लागेको, वायु प्रदूषणका कारण आँखा पोल्ने, खोकी लाग्ने, नाक चिलाउने समस्या अत्यधिकरुपमा देखिएको सञ्चार अनुगमनबाट पाइएको जनाएको छ । सुक्खायाम, अत्यधिक डढेलो तथा पश्चिमी वायु कमजोर भएका कारण केही दिनयता देखिएको वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनले तोकेको भन्दा अत्यन्तै खराब अवस्थामा रहेकाले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने वातावरण विज्ञहरुले छलफलको क्रममा सुझाव दिएका छन् । 

     वायु गुणस्तर मापन सूचक (एक्युआइ) अनुसार गत आइतबार काठमाडौँमा मापन गरिएको वायुको गुणस्तर तीन सयभन्दा बढी पुगेको देखिएकाले ज्येष्ठ नागरिक, बालबालिका, दम, श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीमा अत्यन्तै जोखिम हुने हुनाले सचेत रहनुपर्ने विज्ञहरुले ध्यानाकर्षण गराएका थिए । सोहीअनुसार सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णयसमेत गरेको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार