Nepal Face
  • शुक्रबार, २९ साउन २०८३
  • काँग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुन पुगे देउवा 


    शुक्रबार, साउन २९ २०८३
    145
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भएका छन्। लामो उपचारपछि बिहीबार नेपाल फर्किएका देउवा त्यसको भोलिपल्टै इतर पक्षको कार्यक्रममा उपस्थित भएका हुन्।

    काठमाडौँस्थित मिराकल पार्टी प्यालेसमा आयोजित भेलामा देउवा पक्ष तथा डा. शशांक कोइराला समूहका नेता-कार्यकर्ताको सहभागिता रहेको छ। गत माघमा सम्पन्न काँग्रेसको विशेष महाधिवेशनप्रति असहमति राख्ने समूहका नेताहरू भेलामा सहभागी भएका हुन्।

    राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा कार्यक्रम सञ्चालन भइरहेको छ।

    जेन जेड आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएपछि देउवा उपचारका लागि गत १३ फागुनको राति सिंगापुर गएका थिए। उपचारकै क्रममा उनी थप स्वास्थ्य उपचारका लागि ७ चैत २०८२ मा सिंगापुरबाट हङकङ पुगेका थिए।

    हङकङमा उपचारपछि उनी बिहीबार काठमाडौँ फर्किएका हुन्। स्वदेश फर्किएलगत्तै काँग्रेसभित्रको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा उनको सहभागितालाई पार्टीको आन्तरिक राजनीतिक गतिविधिका दृष्टिले समेत चासोका साथ हेरिएको छ।

    भेलामा विशेष महाधिवेशनसँग सम्बन्धित विषय, पार्टीको पछिल्लो अवस्था तथा आगामी राजनीतिक दिशाबारे छलफल हुने बताइएको छ। देउवा र शशांक कोइराला समूहका नेता-कार्यकर्ताको उपस्थितिले काँग्रेसभित्रको पछिल्लो शक्ति समीकरण र आन्तरिक मतभेदलाई समेत सतहमा ल्याएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार