Nepal Face
  • बुधबार, २७ साउन २०८३
  • अनुपस्थित शिक्षकलाई ३ लाख ७१ हजार भुक्तानी, प्रधानाध्यापक र शिक्षकबिरुद्ध मुद्दा दायर


    बुधबार, साउन २७ २०८३
    45
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सार्वजनिक सम्पत्ति हानीनोक्सानी गर्ने सर्लाही, मलंगवा नगरपालिकास्थित श्रीमती कृष्णादेवी जनता माध्यामिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षक प्रियंकाकुमारी सिंहबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षक प्रियंकाकुमारी सिंहले वि.सं. २०७९ को सालको हाजिरी सम्बन्धमा परेको मुद्दालाई ढाकछोप गर्न सोही विद्यालयका तत्कालीन प्रधानाध्यापकले बिरामी भई गयल रहेको अवधिको रकम छुट हुन गएको भनी एकमुष्ट रकम माग गरी बाँडफाँड गरेको तथा विदाको अभिलेख नै परिवर्तन गरेको उजुरी आयोगमा परेको थियो ।

    शिक्षक प्रियंकाकुमारी सिंह आफू विद्यालयमा अनुपस्थित हुनुपर्ने मनासिव कारणसहित कुनै औपचारिक सूचना तथा निवेदन पेस नगरी २०७९ सालको बैशाख महिनादेखि कार्तिक महिनाको १८ गतेसम्म विद्यालयमा अनुपस्थित रहेकी थिइन् । यस्तो अवस्थामा बिद्यालयका प्रधानाध्यापक विन्देश्वर यादवले शिक्षा ऐनमा भएको व्यवस्थाविपरीत बिदा स्वीकृत नगराई लामो समयसम्म विद्यालयमा अनुपस्थित रहेका शिक्षकलाई पदबाट हटाउनेतर्फ कारवाही गर्नुपर्नेमा सोतर्फ कदम चालेनन् ।

    शिक्षकलाई नहटाई हाजिरी रजिष्टर खाली राखी विद्यालयमा अनुपस्थित भएको अवधिको हाजिरी तथा बिदाको अभिलेखसमेत अद्यावधिक नगरी लामो समयपश्चात विद्यालयमा उपस्थित भएपछि एकमुष्ट हाजिर गर्न लगाए । उक्त हाजिरी गरेपश्चात् उक्त हाजिरीमा विन्देश्वर यादवले टिपेक्स लगाई पुनः टिपेक्स लगाएको हाजिरमा समेत पुनः हाजिर गराइयो ।

    उक्त हाजिर नभएको अवधिको समेत हाजिरी विवरण मलंगवा नगरपालिकामा पेस गरी शिक्षकको छुट तलब निकासा माग गरी रू. २ लाख ९० हजार ४ सय ३४ रूपैयाँ निकासा भएकोमा प्रियंकाकुमारी सिंह अनुपस्थित भएको अवधि साउनदेखि कार्तिकसम्म जम्मा २ लाख ४० हजार ९ सय १४ रुपैयाँ, २०७९ सालको बैशाख, जेठ र असार महिनाको जम्मा १ लाख ३० हजार १ सय २१ गरी जम्मा ३ लाख ७१ हजार ३६ रूपैयाँ दश पैसा विद्यालयमा अनुपस्थित भएको शिक्षकको नाममा गैरकानुनी रूपमा निकासा लिई भुक्तानी दिए–लिएको देखिएको अख्तियारले जनाएको छ ।

    प्रतिवादीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ज्ञ १ र दफा १७ बमोजिमको कसुर भएको हुँदा सरकारी कागजात सच्याई सरकारी रकम हिनामिना हानी–नोक्सानी एवं दुरूपयोग गर्ने कार्यमा संलग्न तत्कालीन प्रधानाध्यापक यादव र शिक्षक सिंहबिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको आयोगले जनाएको छ । उनीहरु दुबैसँग ३ लाख ७१ हजार ३६ रूपैयाँ दश पैसा बिगो माग दाबी गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार