Nepal Face
  • मंगलबार, १९ साउन २०८३
  • सुस्तामा एसएसबीको हस्तक्षेपबारे एमालेले माग्यो प्रधानमन्त्रीको जवाफ


    मंगलबार, साउन १९ २०८३
    70
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेको विषयमा नेकपा (एमाले) ले सरकारसँग जवाफ माग गरेको छ।

    मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले भारतीय सेनाले सिभिल ड्रेस लगाएर नेपाली भूमिमा प्रवेश गरेको विषयमा सरकारसँग जवाफ माग गरेका हुन्। उनले सीमा क्षेत्रमा बसोवास गर्ने नेपाली नागरिकमा असुरक्षा र मुलुकको स्वाभिमानमा चोट पुग्दा समेत सरकार मौन बसिरहेकोप्रति आपत्ति जनाए।

    ‘आज फेरि देशको भूमिमा भारतीय सेनाले सिभिल ड्रेस लगाएर प्रवेश गरेको छ। सुस्ताको जमिनमाथि फेरि चोट पुर्‍याएको छ,’ उनले भने।

    उनले सीमा सुरक्षाको विषयमा अझै कति समय संसदमा ध्यानाकर्षण गराउनुपर्ने भनेर प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रश्न गरे। सीमा सुरक्षाको विषयमा जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्न समेत सरकारलाई आग्रह गरे।

    ‘सुस्ताबासीले फेरि यसको प्रतिवादमा उत्रिनुपरेको अवस्था छ। आज देश फेरि सीमा अतिक्रमणको मुद्दाले पीडामा परेको छ,’ बरालले प्रश्न गरे, ‘प्रधानमन्त्रीज्यू यसको संवेदनशीलतालाई महसुस गर्न यो संसदले कति समय खर्च गर्नुपर्ने हो? कति समय ध्यानाकृष्ट गर्नुपर्ने हो?’

    सांसद बरालले सुनसरीमा भएको धार्मिक तथा सम्प्रदायिक तनाव उत्पन्न हुनुको कारण र सुरक्षा कमजोरीको विषयमा निष्पक्ष छानबिन गर्न पनि माग गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार