Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मोटरसाइकलमा जोखिमपूर्ण यात्रा गरेकोमा सांसद गुप्ताले मागे क्षमा


    शुक्रबार, साउन ८ २०८३
    130
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि आलोचनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बब्लु गुप्ताले क्षमा मागेका छन्।

    सिरहा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गुप्ताले सामाजिक सञ्जालमार्फत उक्त गतिविधिबाट ट्राफिक नियम उल्लङ्घन भएको आफूले महसुस गरेको बताएका हुन्।

    बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झना ताजा भएको र खुसीको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको उनको भनाइ छ।

    ‘त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैँ महसुस गरेको छु,’ गुप्ताले लेखेका छन्।

    उनले अब आफ्नो जोश र ऊर्जा देश तथा जनताको हितमा समर्पित गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। ‘मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु,’ उनले भनेका छन्।

    गुप्ता गुडिरहेको मोटरसाइकलको पछाडिको भागमा हेल्मेट नलगाई उभिएको र मोबाइल चलाइरहेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो। सार्वजनिक पदमा रहेका व्यक्तिले नै सडक सुरक्षा र ट्राफिक नियमको बेवास्ता गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीमाथि प्रश्न उठाएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार