Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • जिम्मेवार पत्रकारिताका बारेमा सम्पादक समाजको अन्तरक्रिया : संचारमाध्यममा अघोषित नियन्त्रण गरेकोमा चिन्ता प्रकट


    शनिबार, असार ६ २०८३
    380
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • दिपक पुडासैनी

    काठमाडौं । नागरिकको दृष्टिमा पत्रकारिता क्षेत्रको बिश्वसनीयतामा कमी आउँदै गएपछि पत्रकारलाई जिम्मेवार बनाउन सम्पादक समाज नेपालले अभियान नै संचालन गरेको छ । समाजले हरेक जिल्लामा क्रियाशील पत्रकार जम्मा गरेर ‘जिम्मेवार पत्रकारिता र नागरिक अपेक्षा’ बिषयक अन्तरक्रिया कार्यक्रम गरिरहेको छ ।

    यसै सन्दर्भमा समाजले शनिबार काभ्रेपलान्चोक जिल्लाको पनौतीमा उक्त अन्तरक्रिया सम्पन्न गरेको छ । समाजका अध्यक्ष पुरु रिसालको सभापतित्वमा भएको अन्तरक्रियामा प्रमुख अतिथिको आसनबाट बोल्दै पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पत्रकारिता क्षेत्रमा आएको बिकृतिको चर्चा गर्दै जुन कुनै माध्यममा आएको खबर पनि समाचार भनेर पत्याउनुपर्ने र ती बिश्वसनीय नहुँदा सत्य समाचार पनि पत्याउन नसकिने अवस्था आएको बताउनुभयो ।

    भ्यूज बढाउने आशामा नाटकीय खबर सम्प्रेषण हुँदा बास्तविक खबर छायाँमा पर्यो भन्दै नगर प्रमुख भण्डारीले पत्रकारिता क्षेत्रलाई जिम्मेवार बनाउन सम्बद्ध सबैले गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।

    यसअघि नुवाकोट र काठमाडौंमा यस प्रकारको अन्तरक्रिया सम्पन्न गरिसकेको जानकारी गराउँदै सम्पादक समाजका महासचिब श्याम डोटेलले नागरिकको अपेक्षाअनुरुप पत्रकारलाई जिम्मेवार बनाउन समाजले बिगत एक बर्षदेखि गृहकार्य गरिरहेको जानकारी गराउनुभयो । बागमती प्रदेशका सबै जिल्लामा यस प्रकारको अन्तरक्रिया क्रमशः गर्दै जाने र पत्रकारलाई जिम्मेवारीबोध गराउँदै पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउने लक्ष्यमा समाज क्रियाशील रहेको पनि महासचिव डोटेलले बताउनुभयो ।

    रत्न राज्यलक्ष्मी क्याम्पस पत्रकारिता बिभागका प्रमुख डा. जगत नेपालले कार्यपत्र प्रस्तुत गर्दै पछिल्लो समय पत्रकारिता क्षेत्र न्यूजमा भन्दा भ्यूजमा दौडिएको प्रति असन्तुष्टि जनाउनुभयो । संचारगृहहरु पनि पत्रकारलाई पारिश्रमिक दिएर खोजमूलक समाचारतिर जान छोडी न्यूज एजेन्सीकै समाचार प्रकाशन गर्न थाले भन्दै डा. नेपालले सम्पादकीय दैलो पार नगरेका खबरलाई समाचार भन्न नसकिने, त्यो केबल सूचना मात्रै हुनसक्ने जिकिर गर्नुभयो ।

    सरकारले संचारमाध्यममा गरेको अघोषित नियन्त्रणलाई लक्षित गर्दै डा. नेपालले भन्नुभयो–जुन समाजमा नागरिक बोल्न डराउँछ, त्यहाँ प्रजातन्त्र फस्टाउँदैन । पत्रकारितालाई राज्यले नियन्त्रण गर्ने होइन राज्यले बचाउनुपर्छ ।

    अध्ययनकर्ता तोया गौतमले मोफसल पत्रकारिताको सन्दर्भमा काभ्रेपलान्चोकको अवस्थाबारे प्रस्तुति दिँदै पत्रकारिता क्षेत्रको उत्थान र बिकासका लागि स्थानीयदेखि केन्द्र सरकारसम्मले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    गौतमले विसं २००८ मा वीरगञ्जबाट सेवा साहित्यिक पत्रिका प्रकाशन भएको इतिहास स्मरण गर्दै काभ्रेपलाञ्चोकमा हाल ४ दैनिक र ४३ साप्ताहिक पत्रिका दर्ता छन्, जसमध्ये १६ वटा साप्ताहिक नियमित प्रकाशनमा छन् । स्थानीय विषयवस्तुलाई प्राथमिकता दिँदा नागरिकको विश्वास बढ्ने बताउनुभयो ।

    विशेष अतिथि पत्रकार महासंघका पूर्व अध्यक्ष एवं सार्वजनिक प्रसारण संस्थाका निवर्तमान प्रमुख डा. महेन्द्र विष्टले पत्रकारिता क्षेत्र जिम्मेवारीपूर्ण हुनुपर्नेमा जोड दिँदै मिडियाको संख्या बढे पनि विषयवस्तुमा विविधता नआएको बताउनुभयो । पत्रकारहरू आचारसंहिता पालनामा कमजोर देखिएको र लोकतन्त्रमा मिडियाको भूमिकाबारे गम्भीर समीक्षा आवश्यक रहेको उहाँको भनाइ थियो । पत्रकारिताको महत्व छ, यसलाई कमजोर हुन दिनुहुँदैन भन्दै डा. बिष्टले प्रविधिले कामलाई सहज बनाए पनि पत्रकारहरूको सिर्जनशीलता कमजोर हुँदै गएकाले आफ्नो कर्तव्य र दायित्वप्रति सचेत रहन आग्रह गर्नुभयो ।

    नेपाल बार एसोसिएसन काभ्रेका अध्यक्ष हरिशरण दाहाललगायतले धारणा राख्नुभएको थियो । अध्यक्ष दाहालले समाजका विकृति र विसङ्गतिबारे सत्यतथ्य सूचना दिन पत्रकारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । दाहालले लोकतन्त्रको मर्म र भावनाअनुरुप काम नभएको, कानुनी शासनमाथि चुनौती बढ्दा पनि मिडियादेखि सबै क्षेत्र बोल्न डराएको बताउनुभयो । उहाँले प्रधानन्यायाधीशमा वरियता मिचेर नियुक्ति गरेपछि न्यायाधीशहरुसमेत डराएको र न्याय मर्न थालेकोमा चिन्ता प्रकट गर्नुभयो ।

    नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले पत्रकारिता क्षेत्रको भविष्यप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालको प्रभावले पत्रकारिताको गुणस्तर कायम गर्न चुनौती थपिएको बताउनुभयो । संघीयतापछि मिडिया हाउसहरूको आम्दानी घटेको र पत्रकारिता पेशामा नयाँ पुस्ताको आकर्षण कम हुँदै गएको उहाँको भनाइ थियो ।
    सम्पादक समाज नेपालका संरक्षक किरण वैद्यले विगतका पत्रकारहरू बढी जिम्मेवार रहेको उल्लेख गर्दै केही पत्रकारका कारण समग्र पत्रकारिता क्षेत्र बदनाम भएको टिप्पणी गर्नुभयो । नागरिकले पनि पत्रकारलाई सचेत र जिम्मेवार बनाउन भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।

    सहभागीहरूको तर्फबाट केशवराज पौडेलले नयाँ पुस्तालाई पत्रकारितातर्फ आकर्षित गर्ने कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो । नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष महेश पौडेलले पत्रकारिता अझै बिग्रिनसकेको तर आत्मसमीक्षा र सचेतना आवश्यक रहेको बताउनुभयो । पत्रकार ज्योति श्रेष्ठले महिला पत्रकारहरूको सहभागिता बढाउन पहल गर्न आग्रह गर्नुभयो भने ईश्वरी राजकुमार मैनालीले पत्रकारिताभित्र रहेका कमजोरी सुधार्नुपर्ने बताउनुभयो । पत्रकार भीम गौतमले सामाजिक सञ्जाललाई पूर्णरूपमा रोक्न नसकिए पनि जिम्मेवार पत्रकारितामार्फत् नियन्त्रण गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

    काभ्रेपलाञ्चोकका सक्रिय पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा सम्पादक समाजका उपाध्यक्ष एवं गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेतले स्थानीय आवश्यकतालाई निति बनाउने थलो केन्द्रसम्म पत्रकारिताले जोड्छ भन्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार