Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुन्छ : पूर्वराष्ट्रपति डा.यादव


    शनिबार, माघ ३ २०८२
    550
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । लोकतन्त्रको जग कमजोर हुँदै गइरहेको अवस्थामा यसलाई बलियो बनाउन पत्रकारिताको महत्वपूर्ण भूमिका हुने गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामबरण यादबले बताउनुभएको छ ।

    सम्पादक समाज नेपालले आफ्ना संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०८२ डा. जगत नेपाललाई हस्तान्तरण गर्दै पूर्बराष्ट्रपति यादवले उक्त कुरा बताउनुभएको हो ।

    रत्न राज्यलक्ष्मी क्याम्पस, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुखसमेत रहनुभएका डा. नेपाललाई प्रदान गरिएका पुरस्कारको राशि २५ हजार रुपैयाँ एक र सम्मानपत्र रहेको छ ।

    बरिष्ठ पत्रकार सुदर्शन आचार्यलाई सम्पादक समाज नेपाल सम्मान प्रदान गर्नुहुँदै राष्ट्रपति डा. यादव

    वियोगीको २० औँ स्मृति दिवसका अवसरमा आज गोबिन्द बियोगी पत्रकारिता अध्ययन केन्द्र शिवपुरी गाउँपालिका– ७ सुइरेचौर, नुवाकोटमा आयोजित एक समारोहमा प्रथम राष्ट्रपति डा यादवले गोरखापत्र दैनिकका पत्रकार चाँदनी हमाल तथा ‘शुक्रवाः या तँसापौ’ साप्ताहिकका स्तम्भकार राजेन्द्र मानन्धरलाई ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ प्रदान गर्नु भयो ।

    उक्त पुरस्कारको राशी जनही १५ हजार रुपैयाँ एक र सम्मानपत्र रहेको थियो । यसैगरी कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले वरिष्ठ पत्रकारद्वय शरदचन्द्र वस्ती र सुदर्शन आचार्यलाई ‘सम्पादक समाज नेपाल सम्मान’ समेत प्रदान गर्नुभएको थियो ।

    समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा भएको उक्त पुरस्कार प्रदान तथा सम्मान समारोहमा स्वागत गर्दै समाजका महासचिब श्याम डोटेलले समाजले हालसम्म हरेक बर्ष माघको पहिलो हप्ता नै बियोगीको स्मृति दिवस मनाउने गरेको जानकारी गराउँदै पत्रकारिता कर्ममै लागेको अवस्थामा बियोगीले प्राण त्यागेको स्मरण गर्नुभयो ।

    पुरस्कृत व्यक्तिहरूका तर्फबाट बोल्दै रत्न राज्यलक्ष्मी क्याम्पस, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. जगत नेपालले पत्रकारिताको स्तर खस्किँदै गइरहेकोमा चिन्ता ब्यक्त गर्दै यसले समाजमा असर गर्ने भएकाले यसलाई सुधार्न अग्रज पत्रकारहरुले अहम् भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द थपलियाले सम्पादक समाज नेपालसँग जोडिएपछि शिवपुरी क्षेत्रमा पर्यटकहरूको आवागमन बढेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले विगतमा २५–३० हजार पर्यटक आउने गरेकोमा सम्पादक समाजसँगको सहकार्यपछि पत्रकारले लेखेका समाचारकै कारण प्रचारप्रसार हुँदा हाल बर्षमा एक लाखभन्दा बढी पर्यटक भित्रिने गरेको जानकारी दिनुभयो । । यहाँका नागरिकको जीवनस्तर सुधार्न कृषि र पर्यटनलाई जोडेर गाउँपालिकाले काम गरिरहेको उल्लेख गर्दै अध्यक्ष थपलियाले यसमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

    प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाले पूँजी र प्रविधिको चेपुवामा पत्रकारिता परिरहेको बताउँदै पत्रकारितालाई मर्यादित बनाउने कोसिस जारी रहेको पनि बताउनुभयो । कोइरालाले भन्नुभयो–‘प्रविधिले फड्को मारिरहेको छ, तर पत्रकारिता प्रतिको विश्वसनीयतामा भने अप्ठेरो स्थितिमा आएको छ । अबको पुस्तालाई मर्यादित पत्रकारितामा डोर्याउन सम्पादक समाजको महत्त्वपूर्ण भूमिका हुनुपर्छ ।’

    समारोहलाई सम्मानित व्यक्ति सुदर्शन आचार्य, नेपाल अमेरिका पत्रकार समाजका अध्यक्ष टंक पन्त, सम्पादक समाजका संरक्षक किरण वैद्य लगायतले सँबोधन गर्नुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार