काठमाडौं । बार्षिक २२ देखि २५ अर्ब रुपैयाँ कारोबार भएका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिका मालिक कमलकिशोर मालपानी र उनका छोरा नितेश मालपानीले भोटेकोशीमा विनाशकारी बाढी गएको ११ दिनसम्म पनि प्रधानमन्त्री दैवीप्रकोप उद्दार र राहत कोषमा आर्थिक सहयोग गरेको समाचार सार्वजनिक भएको छैन ।
यशोदा फुड्स कम्पनीले १७ भदौमा भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई केही कार्टुन चाउचाउ बितरण गरेको भए पनि प्रधानमन्त्री बिपद कोषमा आर्थिक सहयोग गरेको छैन । साना ठूला प्रायः सबै ब्यापारीक घरानाले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरेका समाचार सार्वजनिक हुँदा मालपानीको नाम कतै पनि आएको छैन ।
बाढी प्रभावित क्षेत्रअन्तर्गत बन्द्रे, विदुर, गेर्खु, चोकटे, बेत्रावती, देवीघाटलगायतका स्थानमा यशोदा फुड्सबाट उत्पादित करेन्ट चाउचाउ राहत सामग्रीका रुपमा बितरण गर्नेबाहेक मालपानीले आर्थिक सहयोग गरेका छैनन् । प्रधानमन्त्री वालेन्द्र शाहको मन्त्रिपरिषदका देश बनाउने मन्त्रीमध्येका पहिलो सुनिल लम्सालका निकट मालपानीले ठूलो सहयोग गर्ने अपेक्षा गरिएको थियो । तर अहिलेसम्म उनले सहयोग गरेको सार्वजनिक रुपमा आएको छैन ।
गएको फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा झापामा चुनाव प्रचारका लागि वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहलाई ७ करोडको ल्यान्डरोभर डिफेन्डर गाडी दिएका थिए । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका निकट कमलकिशोर मालपानीका छोरा नितेश मालपानीले उक्त गाडी चुनावका लागि दिएका थिए । सुनिल लम्साल र प्रधानमन्त्री वालेन्द्र शाहले त्यही गाडीदेखि धेरै खालका सहयोग लिएबापत दीपक भट्टसँग प्रत्यक्ष कनेक्सन देखिंदा पनि मालपानीका बाबुछोरालाई उन्मुक्ति दिएको आरोप लाग्ने गरेको छ । अहिलेको सरकारका प्रधानमन्त्री र उनका देश बनाउने टोलीभित्रका ३ मध्येका दोस्रा पात्र मन्त्री लम्सालकै दबाबमा दीपक भट्टसँग सिधै जोडिएका मालपानी पितापुत्रलाई उन्मुक्ति दिइएको आरोप छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले श्रीराम टोबाको कम्पनीका सञ्चालक कमलकिशोर मालपानी र चुन्नप्रसाद पौडेलको बयानको आधारमा पौडेललाई पक्राउ गरेको थियो । तर, कमलकिशोर र चुन्नलाई साक्षी बनाएर जोगाएपछि समग्र मुद्दा नै कमजोर बनेको थियो । मालपानी र शर्मालाई जोगाएको विषयमा बिशेष अदालतले प्रश्न उठाएको छ ।
बिशेष अदालतको आदेशमा उल्लेख छ–‘श्रीराम टोवाको उद्योग प्रालिका सञ्चालक–शेयरधनीहरू चुन्नुप्रसाद शर्मा र कमलकिशोर मालपानीले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा, श्रीराम टोवाको उद्योग प्रालिको ३ लाख ७५ हजार कित्ता शेयर दीपक भट्ट सञ्चालक रहेको इन्फिनिटी होल्डिङ्सको स्वामित्वमा रहेको हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिका नाममा बिक्री गर्दा तथा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको नाममा २० हजार कित्ता शेयर साफ्रन सिकी इन्भेष्टमेन्ट प्रालिको नाममा खरिद गर्दा यी प्रतिवादी विष्णुप्रसाद पौडेलले सहजीकरण गरेको भन्नेसम्म उल्लेख गरेको देखिएकोमा उक्त शेयरहरू खरिद बिक्रीबाट लाभाग्रही देखिएका सम्बद्ध कम्पनी तथा व्यक्तिउपर आरोप दाबी लिएको देखिंदैन ।’ मालपानी र चुन्नलाई सरकारकै योजनामा सेटिङमै जोगाएको आशंकालाई अदालतको यो आदेशले पनि थप बलियो बनाएको छ ।
को हुन मालपानी ?
मालपानी यसअघि नागरिकता लगायत विभिन्न प्रकरणमा मुछिएका व्यापारी हुन् । उनको नागरिकताको विषयमा विभिन्न निकायमा उजुरी परे पनि छानबिन हुन सकेको छैन । उनले विगतका सरकारका पालामा पनि बालकृष्ण खाँणहरुलाई पैस बुझाएरै उनीहरुकै आडमा छानबिन रोक्दैआएका थिए ।
वालेन्द्र शाह सरकारको पालामा छानबिन हुने अपेक्षा गरिएको थियो । तर मालपानीका छोरा नितेश प्रधानमन्त्री शाहका अति निकट पूर्वाधार विकास मन्त्री लम्सालका साथी भएकाले त्यो संभावना पूरै टर्यो । कमलकिशोरका बुबा बालकृष्ण मालपानी भारतीय नागरिक हुन् । उनका भाइको अहिलेसम्म नागरिकता छैन । तर, कमलकिशोरले भने बंशजको आधारमा २०५४ सालमा सप्तरीबाट नागरिकता निकालेका थिए । पछि २०७१ मा रुपन्देहीबाट प्रतिलिपि लिएका थिए ।
सप्तरी जिल्लाको नागरिकताको प्रतिलिपि कसरी रुपन्देहीबाट लिन सफल भए भन्ने विषय पनि रहस्यमय छ । मालपानी भारतबाट बिराटनगरमा आएका हुन्, त्यसपछि मासिक २ सय रुपैयाँ तलब पाउनेगरी भैरहवाका महेन्द्र श्रेष्ठ नामका ब्यापारीकोमा पुगेका थिए । पछि भारतबाट गुट्खा तस्करी गर्दै नेपालमा बिक्री गर्ने धन्दामा लागे । त्यसमा धेरै लाभ देखिएपछि उनले पछि तिनै महेन्द्रलाई समेत साझेदार राखी गुट्खा उत्पादन नेपालमै ब्यापार सुरु गरेका थिए । आफूलाई भारतबाट बिराटनगर हुँदै भैरहवामा लगेर रोजगारी दिने महेन्द्रलाई ब्यापारीक साझेदार राखेका मालपानीले पछि उनलाई निकालेर गुट्खा कम्पनी एक्लौटी बनाएका थिए ।
मालपोत गुट्खामा अन्तःशुल्क छली गरी रातारात करोडौंपति भए । उनले करेन्ट चाउचाउ र मसलाहरु उत्पादनमा लागे । वाईवाई चाउचाउसँग हुबुहु मिल्नेगरी ट्रेडमार्क चोरी गरी करेन्ट चाउचाउ उत्पादन गर्न थाले । वाईवाई चाउचाउका संचालक बिनोद चौधरीले उद्योग बिभागमा ट्रेडमार्क चोरीको मुद्दा दिए । तर उद्योग बिभागका तत्कालीन महानिर्देशक बाबुराम गौतमले कुस्त लाभ लिएर उनलाई मुद्दा जिताएको आरोप लाग्ने गरेको छ ।
चौधरीले मुद्दा हारेपछि उनीसँग टक्कर लिन विवादास्पद बिचौलिया दीपक भट्टलाई करेन्ट चाउचाउ उत्पादक कम्पनी यशोदा फुड्स र श्रीराम टोबाकोमा १८ प्रतिशत सेयर दिएका थिए ।
मालपानीका कम्पनीहरु राजस्व छलीमा समेत पटक–पटक मुछिएका छन् । कमलकिशोरको श्रीराम टोबाको कम्पनीबाट उत्पादित गुट्खा लगायतका बिक्रीबितरण गर्ने पशुपति इन्टरनेशनल बिजनेश प्रालिमा २०८२ बैशाखमा बाणिज्य बिभागले छापाहानी सिलबन्दी थियो । बिभागले उक्त कम्पनीबाट उत्पादित गुट्खा कम तौलको भएकाले छापा हानी सिलबन्दी गरेको थियो ।
त्यतिबेलाका महानिर्देशक कुमारप्रसाद दाहालले मालपानीको गोदामबाट कम तोलाको दसौं करोडको गुट्खा बिक्री भएको रेकर्ड भेट्टाए पनि करेन्ट चाउचाउको उत्पादक कम्पनी यशोदा फुड्स प्रालिको कारबाही फासफुस पार्न मालपानी सफल भएका थिए ।
राजस्व अनुसन्धान बिभागसहित अन्य निकायलाई आफ्नै कब्जामा राखेका मालपानीले बाणिज्य बिभागका तत्कालीन महानिर्देशक कुमार दाहाललाई सेटिङ गर्न खोज्दा उनले अस्वीकार गरेपछि उनलाई त्यहाँबाट हटाउन मालपानीका मित्र तत्कालीन उद्योग बिभागका महानिर्देशक राजेश्वर ज्ञवाली सक्रिय भएका थिए । मालपानीका अर्का साझेदार पूर्व नायबसुब्बा रघुनाथ घिमिरेहरु सबै शक्ति लगाएर उनको सरुवा बाणिज्य बिभागबाट गर्न लागेका थिए । घिमिरे जनार्दन शर्मा अर्थमन्त्री हुँदा मध्यरातमा अर्थमन्त्रालयमा गएर करका दर हेरफेर गर्ने बहुचर्चित सुब्बा हुन् । तौल नपुगेका र अन्तः शुल्क समेत बुझाएका दसौं करोडका गुट्खा बजारबाट फिर्ता लिन लिखित निर्देशन दिएपछि पनि ती फिर्ता भएनन् ।
छोरा नितेशलाई सीआईबीले पक्राउ किन गरेन ?
कमलकिशोर मालपानीका छोरा नितेश मालपानी दीपक भट्टसँग प्रत्यक्ष जोडिएका प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सञ्चालक हुन् । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक तथा लगानी समिति सदस्य रहेका नितेश मालपानीको सम्पत्ति रोक्का भए पनि सीआईबीले उनलाई पक्राउ नै नगरी उन्मुक्ति दिएको आरोप छ । प्रधानमन्त्री वालेन र मन्त्री लम्सालको निकट भएकै कारण उनलाई पक्राउ नगरी मुद्दामा प्रतिवादीमात्र बनाएर उन्मुक्ति दिइएको छ । सुलभ अग्रवालको नाता भएकै आधारमा जोडिएकी झापाकी मृदुला सरिया पक्राउ पर्दा प्रत्यक्ष रुपमा भट्टसँग जोडिएका नितेश आजसम्म पक्राउ नपर्नुले राज्यको चयनमुखी कारबाहीलाई पुष्टि गर्दछ ।
श्रीराम टोबाकोको नाममा सुपारी तस्करी
गुट्खामा अन्तःशुल्क स्टीकरदेखि अरबको कारोबार करोडमा मात्र देखाएर करछली गर्दैआएको श्रीराम टोबाकोका कमलकिशोर मालपानी र चुन्नप्रसाद पौडेलको समूहले सुपारी तस्करी समेत गर्दैआएको छ । श्रीराम टोबाकोले २०७९ मा २३ सय मेट्रिकटन सुपारी आयातको प्रक्रिया अघि बढाएको थियो । यत्रो परिमाणमा सुपारी आवश्यक नै नभए पनि उसले भारततर्फ तस्करीकै लागि गुट्खा उत्पादनका नाममा आयात गर्दैआएको छ ।
शक्तिकेन्द्र मिलाएर मालपानीले हरेक पटक श्रीराम टोबाकोको नाममा सुपारीको कोटा बढी लिने गरेका थिए । जुन सुपारी उनले भारततर्फ तस्करी गर्दैआएका छन् । चुन्नप्रसाद शर्मा पौडेल मालपानीकै ब्यापारीक साझेदार हुन् । जो रुपन्देही ३ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार थिए ।
बिष्णु पौडेलले अर्थमन्त्री हुँदा मालपानीको श्रीराम टोबाको कम्पनीलाई सुपारीको कोटा दिएको दाबी सम्पत्ति शुद्धीकरणको अभियोजनमा गरिएको थियो । तर पौडेल अर्थमन्त्री हुँदा श्रीराम टोबाकोलाई सुपारीको कोटा दिएको प्रमाण नभेटिएको भन्दै विशेष अदालतले सफाइ दिएको थियो ।
काठमाडौं । बाढी तथा पहिरोका कारण हैजाको जोखिम बढ्नसक्ने अवस्थालाई मध्यनजर गर्दै जनताको स्वास्थ्यप्रति सचेत तथा संवेदनशील स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको...
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न स्वास्थ्य...
काठमाडौं । गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गर्ने मालपोत कार्यालय, भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत ५ जनाउपर अख्तियार दुरुपयोग...
काठमाडौं । भदौ १० गते तिब्बतको हिमताल फुटेर रसुवाको टिमुरेदेखि बेत्रावती, नुवाकोटको त्रिशुली र धादिङसम्म बिनाशकारी बाढीले तवाही मच्चायो । सयौं नागरिकको मृत्यु भइसकेको...
काठमाडौं । पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना गरिएको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा साँढे ८ बर्षदेखि कार्यकारी निर्देशकको नियुक्ति हुनसकेको छैन । २०७३...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend