Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै


    बिहिबार, फाल्गुन २८ २०८२
    550
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा खाना पकाउने एलपी ग्यासको अभाव चर्को रूपमा देखिएको छ ।

    उपभोक्ताहरूले बिक्रेता कहाँ पुग्दा ‘ग्यास छैन’ भन्ने जवाफ पाउने, लामो लाइन बस्नुपर्ने र कालोबजारीको शिकार हुनुपर्ने गुनासो बढेको छ ।

    निर्धारित मूल्य प्रतिसिलिन्डर १,९१० रुपैयाँ भए पनि केही ठाउँमा दोब्बरभन्दा बढी मूल्यमा बिक्री हुने गरेको उपभोक्ताको गुनासो छ । यो अभावलाई लिएर नेपाल आयल निगमले सुरुमा आपूर्ति पर्याप्त रहेको र उपभोक्ताले अनावश्यक भण्डारण (होर्डिङ) नगर्न आग्रह गरेको थियो । निगमका अनुसार भारतबाट मागअनुसार नै ग्यास आयात भइरहेको छ, तर बजारमा कृत्रिम अभाव सिर्जना भएको र केही डिलरहरूले कालोबजारी गरिरहेको निगमको दाबी छ ।

    मध्यपूर्वको तनावका कारणले उपभोक्तामा त्रास फैलिएर थप सिलिन्डर भर्ने क्रम बढेको निगमको दाबी छ । तर अभाव कम नभएपछि सरकारले अब आधा सिलिन्डर मात्र बिक्री गर्ने भएको छ । नेपाल आयल निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले जानकारी दिए ।

    यो कदमले एकातिर घरधुरीलाई पर्याप्त ग्यास उपलब्ध गराउने र अर्कोतिर कालोबजारी तथा अनावश्यक भण्डारण रोक्ने अपेक्षा गरिएको छ । सरकारले चाँडै नै यो निर्णय गर्ने र कालोबजारी गर्नेहरूमाथि कडा कारबाही गर्ने बताएको छ । उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र विद्युतीय चुल्हो जस्ता विकल्प प्रयोग बढाउन आग्रह पनि गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार