Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • मानव तस्करको फन्दामा परी कम्बोडिया पुगेका १६ नेपालीको उद्धार


    बिहिबार, फाल्गुन २८ २०८२
    315
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । मानव तस्करको प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका १६ जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ।

    थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूलाई बिहीबार स्वदेश फर्काइएको हो।

    दूतावासका अनुसार उनीहरूलाई विभिन्न माध्यमबाट कम्बोडिया पुर्‍याएर अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ (ठगी) केन्द्र र क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएको थियो।

    साथै, उनीहरूमध्ये कतिपय बिनाभिसा त्यहाँ बसिरहेका थिए। राजदूतावासले अझै पनि त्यहाँ कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूको उद्धारका लागि पहल निरन्तर भइरहेको जनाएको छ।

    दूतावासले कम्बोडियामा भिसाम्याद गुज्रिएर बसेका वा जबर्जस्ती गैरकानुनी काममा फसेका नेपालीहरूलाई तत्काल सम्पर्क गर्न आग्रह गरेको छ।

    रोजगारदाता कम्पनी (स्क्यामिङ केन्द्र) ले कामदारको राहदानी (पासपोर्ट) जफत गर्ने गरेको वा ट्रान्सफर हुने क्रममा राहदानी हराउने गरेको गुनासो बढेपछि दूतावासले उद्धारका लागि सहज व्यवस्था गरेको छ।

    त्यस्तो अवस्थामा नेपाल फर्कन नेपाली राजदूतावास बैंककले निःशुल्क रूपमा ‘एकतर्फी यात्रा अनुमतिपत्र’ पीडितले दिएको ठेगानामै पठाइदिने व्यवस्था गरेको छ।

    यसैबीच दूतावासले छिटो र धेरै पैसा कमाउने लोभमा मानव तस्करको प्रलोभनमा नपर्न सर्वसाधारणलाई सचेत गराएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार