Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • डीआईजी सरुवामा आईजीपीको पूर्वाग्रह : गुप्तचरबाट आएका र विवादितलाई प्रदेशको जिम्मा


    सोमबार, माघ ५ २०८२
    2.1K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले निर्वाचनको सम्मुखमा ८ डीआईजी सरुवा गरेको छ । बागमती र गण्डकी प्रदेशमा राम्रो काम गरिरहेका डीआईजीलाई ८ महिनामै सरुवा गरिएको छ ।

    मंगलबारबाट निर्वाचन आचारसंहिता लाग्ने भएकाले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सोमबार ६७ डीएसपी, ४८ एसपीदेखि ८ डीआईजीको सरुवा निकालेका छन् ।

    डीआईजी सरुवा ब्यक्तिगत पूर्वाग्रहका आधारमा गरेको आरोप आईजीपी कार्कीमाथि लागेको छ । बागमती प्रदेशका डीआईजी अरुण पौडेल र गण्डकीका दिनेश आचार्यलाई ब्यक्तिगत पूर्वाग्रहकै आधारमा राम्रो काम गर्दागर्दै ८ महिनामै सरुवा गरिएको छ । पौडेल र आचार्य आईजीपीका ब्याची हुन् ।

    आचार्य अब्बल प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । आईजीपी कार्कीले नियुक्त हुनासाथ अनुसन्धानमा पोख्त अधिकृत पौडेल र आचार्यलाई ब्यक्तिगत पूर्वाग्रह साँधेर सरुवा गर्न खोजेका थिए । पौडेल र आचार्यजस्ता काबिल डीआईजीलाई तानेर राष्ट्रिय अनुसन्धान बिभागको जस्केलाबाट प्रहरीमा छिरेका अक्षम दीपक रेग्मी र दीपेन्द्र घर्ती क्षेत्रीलाई क्रमशः बागमती र गण्डकी प्रदेशको प्रहरीको कमाण्डर बनाइएको छ ।

    डीआईजी रेग्मी त महिलासँग अश्लिल संवाद जस्ता काण्डमा मुछिएका थिए । आसन्न निर्वाचनमा काबिल डीआईजीलाई तानेर गुप्तचरबाट आएकालाई प्रदेशको कमाण्डर बनाउँदा पनि गृहमन्त्री ओमप्रकाश अर्यालले रोक्न नसकेको आरोप छ । गृहमन्त्री अक्षम भए भनेर बालेन साह र सुदन गुरुङले भनेको कुरा डीआईजी सरुवामा आईजीपीले पूर्वाग्रह साँधेर गरेको सरुवा रोक्न नसकेपछि नै देखिएको महसुुस प्रहरीमा गरिएको छ ।

    गण्डकी अन्तर्गतका जिल्लामा स्वार्थका काम नगरेको र कोरला नाकाबाट हुने चलखेल र बिभिन्न स्वार्थका काम गर्न अवरोध भएपछि गण्डकीमा डीआईजी ८ महिनामै फेरिएको अर्थमा पनि लिन थालिएको छ । कोरला नाकाबाट भेप र बिभिन्न सामानको तस्करी चलाउन पनि उनी बाधक रहँदैआएका थिए ।

    आईजीपी कार्कीले सामाजिक संजालमा प्रहरी संगठनबिरुद्ध टिप्पणी गरेकोमा आफैंले कारबाही गरेका डीआईजी जयराज सापकोटालाई कर्णाली प्रदेशको प्रमुखमा सरुवा गरेका छन् । गएको मंसिर ८ गते डीआईजी बिनोद घिमिरेसहित ३ डीआईजीको सरुवा भएपछि सापकोटाले सामाजिक संजालमा लेखेका थिए–‘हम कभी नही सुध्रेङ्गे, नेपाल पुलिस डीआईजीपी पोष्टिङ ।’

    घिमिरे कोशी प्रदेशमा सरुवा भएपछि त्यहाँ जान चाहना राखेका सापकोटाले फेसबुकमै असन्तुष्टि पोखेका थिए । सामाजिक संजालमा संगठनबिरुद्ध लेखेपछि आईजीपी कार्कीले उनलाई गएको पुस ९ गते प्रहरी नियमावली २०७१ बिरुद्ध आचरण गरेकोमा नसिहत दिएका थिए । तर तिनै नसिहत दिएका सापकोटालाई कर्णाली प्रदेशको प्रहरी प्रमुखमा सरुवा गरिएको छ । सापकोटा पनि राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएका अधिकृत हुन् ।

    बढुवा भएको छोटो समयमै भूपेन्द्रबहादुर खत्रीलाई लुम्बिनीजस्तो आकर्षक मानिने प्रदेशको जिम्मा दिएका छन् ।

    बागमतीमा सरुवा भएका डीआईजी रेग्मी एसएसपी हुँदा एक महिलासँग गरेको भिडियो वार्ता सामाजिक सञ्जालमा छरपष्ट भएको थियो । सोही विषयलाई लिएर ती महिलाका श्रीमान दीपक थापाले २०८१ असार २५ गते प्रहरी प्रधान कार्यालयमा कारबाहीको माग गर्र्दै उजुरी नै हालेका थिए ।

    एसपी सरुवामा पनि आईजीपी कार्कीले उस्तै मनपरी गरेका छन् । रुपन्देहीका एसपी प्रदीप क्षेत्रीलाई ९ महिनामै तानिएको छ । पूर्वडीएसपी गणेश चन्द र प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले रुपन्देहीमा आर्थिक चलखेलका आधारमा जनकबहादुर शाहीलाई सरुवा गरिएको छ । क्षेत्रीले तस्करी नियन्त्रण र अपराधका घटनामा कडाइ गरेका थिए ।

    क्षेत्रीसँग आईजीपी कार्की पनि रुष्ट थिए । उनका घुमुवा सन्तोष रायमाझीको सेटिङमा नचल्दा क्षेत्री सरुवामा परेका छन् । कर्णालीबाट सीआईबीमा सरुवा भएका डीआईजी माधव श्रेष्ठ आईजीपी कार्की लुम्बिनीको डीआईजी हुँदा एसएसपी थिए । सीआईबीका प्रमुख एआईजी डा. मनोजकुमार केसीको सुुराकी गर्नका लागि श्रेष्ठलाई पठाइएको चर्चा प्रहरीमा छ ।

    उता, चितवनमा एसपी कुमोद ढुंगेल र धर्म भण्डारीमध्ये एकलाई सरुवा गर्ने तयारी भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार