Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आईजीपी नबन्दै प्रबन्धमा एआईजी कार्कीको सेटिङ, निकटस्थ अधिकृतहरूलाई खरिदको जिम्मा


    मंगलबार, असोज २८ २०८२
    1.7K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको बन्दोबस्तीदेखि सबै सामान खरिद गर्ने आर्थिक तथा प्रबन्ध निर्देशनालयका इन्स्पेक्टरदेखि डीएसपी र डीआईजीसम्म परिवर्तन भएका छन् । प्रबन्ध निर्देशनालयको डीएसपीमा प्रकाश थापा र इन्स्पेक्टरमा ईश्वरी अधिकारीलाई ल्याइएको छ । डीएसपी थापा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए भने अधिकारी लुम्बिनी प्रदेश ट्राफिक कार्यालयमा कार्यरत थिए ।

    डीआईजी सुशीलसिंह राठौर एआईजीमा बढुवा भएपछि प्रबन्ध निर्देशनालयको प्रमुखको जिम्मा डीआईजी बिनोद घिमिरेले पाएका छन् । उनी नेपाल प्रहरीका प्रवक्तासमेत हुन् ।

    प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङको एक महिनामात्रै जागिर अवधि रहेको छ । आईजीपी खापुङ अवकाशको सम्मुखमा रहेकाले उनको चाहनामा भन्दा पनि अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको जोडबलमा प्रबन्धका डीआईजीदेखि इन्स्पेक्टरसम्मका हाकिमहरु परिवर्तन भएको चर्चा प्रहरी प्रधान कार्यालयमा हुने गरेको छ । इन्स्पेक्टर अधिकारीलाई कार्कीकै विशेष चाहनामा प्रबन्धमा भित्र्याइएको स्रोतको दाबी छ ।

    आईजीपी हुनु एक महिनाअघि नै प्रहरीको खरिद गर्ने प्रबन्धमा आफूअनूकुलको सेट फिट गर्न एआईजी कार्की सफल भएका छन् । खापुङ अवकाशपछि आईजीपीको लाइनमा कार्की पहिलो वरियतामा भएकाले उनी नियुक्ति हुने कुरामा ढुक्क जस्तै छन् । त्यही भएकाले एक महिनाअघि नै प्रहरीको खरिद गर्ने प्रबन्ध निर्देशनालयमा आफ्ना निकट र जिल्लाबासी इन्स्पेक्टर अधिकारीलाई लैजान सफल भएका छन् ।

    थापा र अधिकारी विगतमा लेखा पृष्ठभूमिका हुन् । दुवै लेखाअधिकृत भएर काम गरिसकेका अधिकृत हुन् । गुल्मी घर भएका अधिकारीलाई एआईजी कार्कीको बिशेष जोडमा प्रबन्धमा ल्याइएको स्रोतको दाबी छ । त्यसो त डीएसपी थापा पनि ३–४ पटक रानीपोखरी धाएर प्रबन्धमा आउन सफल भएका छन् ।

    गृहमन्त्री ओमप्रकाश अर्याल पनि गुल्मीकै, एआईजी कार्की पनि उतैका भएकाले पनि इन्स्पेक्टर अधिकारीलाई प्रबन्धमा ल्याउन थप सहज भएको छ । प्रहरीको चुस्तादेखि लत्ताकपडाको ठेक्का गएको साउनमै भएर आर्थिक प्रस्ताव खोलिसकेपछि केही दिनअअिघ गृहमन्त्री अर्यालको निर्देशनमा रद्द भइसकेको छ । देशभरका प्रहरी कार्यालयमध्ये अधिकांशमा आगजनी भएको छ ।

    एकातिर प्रहरीका लत्ताकपडासमेत आन्दोलनकारीले लुट्ने र जलाएको अवस्थामा तत्काल बोलपत्र गरी खरिद गर्नुपर्ने आवश्यकता छ । अर्कोतिर बोलपत्र प्रक्रिया टुंगिएर आर्थिक प्रस्ताव खोलिसेकपछि गृहमन्त्रीको निर्देशनमा खरिद प्रक्रिया रद्द गरेपछि आपूर्तिकर्ताहरु अदालतमा न्याय माग्न जाने संभावना पनि उत्तिकै रहेको छ ।

    एआईजी कार्कीले रोजेर प्रबन्धमा ल्याएका इन्स्पेक्टर अधिकारी प्रहरीमा लेखा अधिकृतदेखि रुपन्देहीको बेलहिया जस्तो मालदार नाकाको इन्चार्ज भएर कुस्त लाभ लिनेभित्रै पर्दछन् । असई हुँदादेखि लेखापाल रहेका अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कर्णाली प्रदेश प्रहरी कार्यालयको लेखा अधिकृत हुँदै बेलहियाजस्तो अकूत लाभ लिने ठाउँको इन्चार्ज बसिसकेका प्रहरी अधिकृतमा पर्दछन् ।

    यसअघि प्रबन्धमा कार्यरत डीएसपी वीरेन्द्र गोदारको अपराध अनुसन्धान कार्यालय र इन्स्पेक्टर रुद्र गिरीको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्याल बुटवलमा सरुवा भएको छ । प्रबन्धका एसपी नवराज मल्लको भने सरुवा गरिएको छैन ।

    यसैबीच, कर्मचारी प्रशासनको एसपीमा श्यामबहादुर खत्रीलाई लाने दाउमा कार्की छन् । कार्की लुम्बिनी प्रदेशको डीआईजी हुँदा खत्री बुटवल ट्राफिकका प्रमुख थिए । त्यतिबेलादेखि नै कार्कीको मन जित्न उनी सफल भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार