Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • निर्वाचन प्रहरीको लत्ताकपडा खरिदमा पुराना ठेकेदारकै सेटिङ, नयाँलाई झुलाउँदै


    शुक्रबार, माघ २ २०८२
    4.2K
    Shares
    नेपाल फेस
  • ७ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले निर्वाचन प्रहरीका लागि आवश्यक लत्ताकपडा र जुत्ता खरिदको जिम्मा पुरानै ठेकेदारहरुको समूहलाई गोप्यरुपमा दिइसकेको छ ।

    प्रहरीमा सधैं सेटिङमा ठेक्का कब्जा गर्दै आएको समूहलाई नै प्रहरीको आर्थिक तथा प्रबन्ध निर्देशनालयले गोप्यरुपमा निर्वाचन प्रहरीको लत्ताकपडा, जुत्ता लगायतका सामग्री खरिदको लागि आदेश दिइसकेको स्रोत बताउँछ । स्रोतका अनुसार निर्वाचन प्रहरी (म्यादी) को लागि लत्ताकपडा खरिदको काम टोपेन्द्र बीसी, श्रवण अग्रवाल, रितेश अग्रवाल, वीरेन्द्र जोशी र राजमान मिश्र लगायतले पाइसकेका छन् ।

    गोप्यरुपमा उनीहरुरुलाई बिभिन्न किसिमका सामानको ठेक्का दिइसकिएको छ । स्रोतका अनुसार सेटिङका यी ठेकेदारहरुलाई प्रबन्ध निर्देशनालयका इन्स्पेक्टर इश्वरी अधिकारी, डीएसपी प्रकाश थापा र एसपी नवराज मल्लले निर्वाचन प्रहरीका लागि आवश्यक सामान आपूर्तिको जिम्मा दिइसकेका छन् ।

    प्रबन्धका हाकिमहरुको आदेश अनुसार सेटिङमा ठेक्का पाएका ठेकेदारहरुले बीरगञ्जमा लत्ताकपडा सिलाउन सुरु समेत गरिसकेका छन् । तर प्रबन्धका इन्स्पेक्टर अधिकारी र डीएसपी थापाले भने लत्ताकपडा खरिदको निर्णय नभइसकेको भन्दै काम माग्न आउने अन्य आपूर्तिकर्ताहरुलाई जवाफ दिने गरेका छन् ।

    निर्वाचन प्रहरीका लागि सामान आपूर्तिको ठेक्काका लागि बिभिन्न च्यानल प्रयोग गर्दै जाने ठेकेदारहरुलाई प्रबन्धका डीएसपी थापाले केही निर्णय भइनसकेकाले आउँदै गर्नू भनेर फर्काउने गरेका छन् । स्रोत भन्छ–टोपेन्द्र बीसी, श्रवण अग्रवाल, रितेश अग्रवाल, वीरेन्द्र जोशी लगायतले लत्ताकपडाको ठेक्का सेटिङमा सुटुक्क लिएर सिलाई सुरु गरिसकेका छन् । तर अरु ठेकेदारहरुलाई भने निर्णय नभएको भन्दै फर्काउने, एक हप्तापछि आउनू भन्दै झुलाउने गरिएको छ ।

    चुनावको मिति आउन अब डेढ महिनामात्र बाँकी छ, निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिने अवधि माघ १ गते(बिहीबार) सकिसकेको छ । तर निर्वाचन प्रहरीका लागि लत्ताकपडा तयार गर्न भने निर्णय नभइसकेको भन्दै प्रबन्ध निर्देशनालयले गुमराहमा राख्ने काम गरेको छ । माघ अन्तिमसम्म झुलाउने र १५ दिनअगाडि ‘तपाईहरुले काम गर्नसक्नुहुन्छ’ भनेर सोध्ने, १५ दिनमा सामान कसैले पनि दिन सक्दैन । अनि तिनै सेटिङ ठेकेदारबाट सामान खरिद गर्ने निर्णय गर्न बाटो खुल्नेछ । उनीहरुले सेटिङमा पहिले नै सामान तयार गरिसकेकाले सहजै दिनसक्छन् ।

    छोटो अवधिमा बोलपत्र निकाली प्रतिस्पर्धामार्फत् खरिद गर्नुपर्नेमा सेटिङमा निश्चित सेटिङका रैथाने ठेकेदारहरुलाई गोप्यरुपमा निर्वाचन प्रहरीको लत्ताकपडाको काम दिइसकिएको प्रहरी स्रोतको दाबी छ ।

    आईजीपी दानबहादुर कार्कीले निर्वाचन प्रहरीका लागि आवश्यक लत्ताकपडाको ठेक्काको काम प्रबन्ध निर्देशनालयले हेर्ने हो भन्दै पन्छिने गरेका छन् । तर निर्वाचन प्रहरीका लागि आवश्यक १ अर्ब रुपैयाँभन्दा बढी बजेटको ठेक्कामा टोपेन्द्र बीसी र श्रवण अग्रवालको रैथाने ठेकेदारको समूहले नेपाल प्रहरीका पूर्व डीएसपी गणेश चन्दमार्फत् आईजीपी कार्कीकै पारिवारिक सदस्यसँग सेटिङ मिलाएर ठेक्का हात पारी लत्ताकपडा तयार गर्न थालिसकेको स्रोत बताउँछ । चन्दमार्फत् निर्वाचन प्रहरीको लत्ताकपडा खरिदको बजेटको निश्चित प्रतिशत ती पारिवारिक सदस्यलाई एडभान्स अग्रिम बुझाएर बीसी र अग्रवाल लगायत ठेकेदारको समूहले काम सुरु गरिसकेको स्रोत बताउँछ ।

    पूर्वडीएसपी चन्द पछिल्ला दिनमा आईजीपी कार्कीका पारिवारिक सदस्यमार्फत् प्रहरीका ठेक्कादेखि सरुवा बढुवामा बिचौलियाका रुपमा परिचालित भएका पात्रका रुपमा चिनिन्छन् । तर आईजीपी कार्की भने यो सेटिङका बारेमा आफू ‘अनभिज्ञ’ देखाउँदै डीआईजी बिश्व अधिकारी र प्रबन्धतिरै देखाउने गरेको ठेकेदारहरुबीच चर्चा छ । अर्का बिचौलिया रमेश कार्कीले समेत निर्वाचन प्रहरीको लागि आवश्यक सामान खरिदमा चलखेल गरिरहेका छन् ।
    १ लाख ३३ हजार ९ सय ८० संख्यामा निर्वाचन प्रहरी नेपाल प्रहरीले माग गरेको छ । निर्वाचन प्रहरीको लत्ताकपडा लगायतका लागि करिब १ अर्ब रुपैयाँ भन्दा बढी बजेट रहेको छ ।

    गृहमन्त्रालय के गर्दैछ ?

    जेनजीको बिद्रोहपछि सुशासनको लागि गठन भएको नागरिक सरकारले प्रहरीमा विनाप्रतिस्पर्धा हुन लागेको खरिदको यो डरलाग्दो सेटिङका बारेमा चासो राख्छ कि राख्दैन ? भन्ने प्रश्न पछि उठेको छ ।

    निर्वाचन प्रहरीको कपडा, जुत्ता लगायतका सामान के कति दररेटमा खरिद गरिंदैछ भन्ने गृहमन्त्रालयले समेत चासो लिनुपर्ने प्रहरी अधिकारी बताउँछन् । यसअघि गएको भदौमा प्रहरीको लत्ताकपडा लगायतको खरिदमा ४८ करोड भन्दा बढी अनियमितता भएको बिषयमा चर्चा परिचर्चा भएपछि गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनमा टेण्डर रद्द भएको थियो । निर्वाचन प्रहरीको लत्ताकपडाको ठेक्कामा पनि सेटिङ भएको बिषयमा गृहमन्त्रालयले चासो दिनुपर्ने आवाज उठेको छ ।

    प्रबन्धमा कार्कीको टीम, खरिदमा रैथाने ठेकेदारकै सिन्डीकेट

    नेपाल प्रहरीको बन्दोबस्तीदेखि सबै सामान खरिद गर्ने आर्थिक तथा प्रबन्ध निर्देशनालयको टीम आईजीपी कार्कीले आफू नियुक्ति हुन केही दिनअघि नै गरिसकेका थिए । कार्कीले आफू आउनुअघि नै इन्स्पेक्टरदेखि डीएसपी परिवर्तन गरेका थिए । उनले प्रबन्ध निर्देशनालयको डीएसपीमा प्रकाश थापा र इन्स्पेक्टरमा ईश्वरी अधिकारीलाई ल्याएका थिए । डीएसपी थापा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट र अधिकारी लुम्बिनी प्रदेश ट्राफिक कार्यालयबाट प्रबन्धमा लगिएका थिए ।

    चन्द्रकुवेर खापुङको एक महिना कार्यकाल बाँकी हुँदै कार्कीले यो टीम सेट गरेका थिए । इन्स्पेक्टर अधिकारी कार्कीकै गृहजिल्ला गुल्मीका भएकाले उनकै विशेष चाहनामा प्रबन्धमा भित्र्याइएको थियो ।

    आईजीपी हुनु एक महिनाअघि नै प्रहरीको खरिद गर्ने प्रबन्धमा आफूअनूकुलको सेट कार्कीले फिट गरेका थिए । प्रबन्धका अरु अधिकृत हटाए पनि कार्कीले एसपी नवराज मल्ललाई भने यथावत नै राखेका थिए । अरुलाई सरुवा गरे पनि मल्ल कार्कीकै विश्वासपात्र भएकाले उनी थमौती भएका थिए ।

    आईजीपी कार्कीले ल्याएको यो टीमसँग बर्षौंदेखि सेटिङमा प्रहरीको ठेक्का कब्जा गर्दैआएको ठेकेदारको समूहको हिमचिम रहेकाले निर्वाचन प्रहरीको लत्ताकपडा पनि त्यही सिन्डीकेट कायम भएको छ । प्रतिस्पर्धाका आधारमा ठेक्का दिएर जेनजीको भावनाअनुसार काम गर्नुपर्नेमा प्रबन्धको टीमले आईजीपी कार्कीको परिवारका सदस्यको चाहनामा सेटिङकै ठेकेदारलाई निर्वाचन प्रहरीको लत्ताकपडाको ठेक्का दिन लागेको आरोप छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार