Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न अध्यक्षको दौडधूप


    बुधबार, पुष २३ २०८२
    585
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • सिन्धुपाल्चोक । निजामती कर्मचारीहरु सधैं आकर्षक कार्यालयमा सरुवा हुन खोज्दछन् । ऐन, नियम र मापदण्ड पालना मन्त्री र सचिवले नगरिंदिंदा सरुवामा पारदर्शी हुन नसकेको गुनासो जेनजी सरकार गठनपछि पनि समाधान हुन सकेको छैन ।

    मालपोत कार्यालयमा बसेका कर्मचारी संधैं त्यहीँ, यातायातका कर्मचारी पनि बर्षौ यातायातमै बस्न अस्वस्थ ढंगले सेटिङ गर्दा निजामती प्रशासन विवादमा पर्ने गरेको छ । स्थानीय तहमा बसेका कतिपय कर्मचारीहरु जनप्रतिनिधिसँग मिलेर भ्रष्टाचार गर्न पाउने भएकाले अन्यत्र जान नरुचाउने गरेको अभिलेख हेर्दा पनि देखिन्छ ।

    अर्थमन्त्रीसमेत रहेका रामेश्वरप्रसाद खनाललाई नै सरुवा गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीले दिएकी छन् । तर उनलाई समेत गुमराहमा राखी सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिवदेखि सचिवले सरुवामा पारदर्शीता नअपनाएको अपजसको भारी जेनजी सरकारका बिधि र पद्धतिका पक्षपाती मन्त्री खनालले बोक्नुपरेको छ ।

    ३ दिनअघि पुस २० गते १० उपसचिव र ३० शाखा अधिकृतको सरुवा गरेको थियो । जसमा मालपोत कार्यालयदेखि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसम्म सरुवा भएका छन् । सरुवा भएका कतिपय कर्मचारीहरुमध्ये कतिपय थमौतीका लागि सक्रिय भएका छन् ।

    सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनहरि बराल सरुवा रोक्न गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाललाई नै परिचालन गरिरहेका छन् । आर्थिक चलखेलमा सेटिङ मिलेकाले बरालको थमौती गर्न अध्यक्ष नेपाल सक्रिय भएका छन् । एमालेबाट निर्वाचित अध्यक्ष नेपाल बराललाई यथावत राख्नका लागि मन्त्रालयका अधिकारीहरुलाई भनसुन गराइरहेको समाचार स्रोत बताउँछ ।

    शाखा अधिकृत बरालको सर्लाहीको कविलासी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ । यसअघि इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाल थिए । उनलाई सरुवा गराउन अध्यक्ष नेपालले ठूलो पापड बेल्नुपरेको थियो । दुलालपछि आएका बरालले पनि अध्यक्ष नेपाललाई सुरुमा साथ नदिए पनि पछिल्ला दिनमा उनीहरुबीच सुसम्बन्ध बिकास भएको थियो । तर अकस्मात बरालको सरुवा भएपछि अध्यक्ष नेपाल उनैलाई थमौती गर्न लागेका छन् ।

    बराल प्रायः सधैं आकर्षक स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत हुँदैआएका शाखा अधिकृत हुन् । मनहरि मोरङको बेलबारी नगरपालिका, सिरहाको कर्जन्हा नगरपालिकासहितका पालिकाको प्रमुख प्रशासकीय अधिकृत भइसकेपछि इन्द्रावती पुगेका हुन् ।

    गतबर्ष सिरहाको कर्जन्हा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा बरालले नगरप्रमुख भोलाप्रसाद पोखरेलसँग मिलेर कार्यपालिका बैठक नै नराखी अपारदर्शी निर्णय गरेपछि वडाध्यक्षहरुले नगरपालिकामा तालाबन्दी नै गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार