Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हायात होटलको क्यासिनोबाट करोडौं लुट्ने कसरी पुगे अष्ट्रेलिया र दुबई ?


    मंगलबार, पुष ८ २०८२
    2.7K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । बौद्धस्थित हायात रिजेन्सी होटलमा संचालित ‘प्राइड इन्टरटेन्टमेन्ट रिक्रियसन सेन्टर’ क्यासिनोमा १४ करोड रुपैयाँ भन्दा बढी नेपाली र अरु ठूलो रकम बिदेशी मुद्रा लुटपाट गर्ने गिरोहका केही व्यक्ति पक्राउ परे पनि दर्जनौं लुटेराहरु अझै फरार छन् । प्रहरीको कमजोरी र स्वार्थको फाइदा उठाउँदै लुटपाटमा संलग्न धेरै जना भारतको बाटो हुँदै बिदेश पुगिसकेका छन् ।

    हायात होटलको क्यासिनो लुटपाट र आगजनी गर्ने योजनाका नाइके ४२ वर्षीय सेट्ठी भन्ने दावा शेर्पा र २९ वर्षीय रञ्जित खड्गीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले गएको मंसिर १२ गते बुढानीलकन्ठ नगरपालिकाबाट पक्राउ गरेको थियो । दाबा शेर्पाले उक्त क्यासिनोको टेबुल नै लिएर जुवा खेल्ने खेलाउने गर्दैआएका थिए । उनलाई क्यासिनोको रकम कहाँ हुन्छ भन्ने थाहा भएकैले उनकै योजनामा १४ करोड भन्दा बढी रकम लुटपाट भएकोले सीसीटीभी फुटेज नै क्यासिनो ब्यवस्थापनले प्रहरीलाई दिएको थियो ।

    दाबाको योजनामा क्यासिनो लुटपाटपछि करोडौं बोकेर झापा पुगेकामध्ये चार जनाले क्यासिनो किङका रुपमा चिनिने बलराम सापकोटा ‘बले’को स्वामित्वमा रहेको मेची क्राउन होटलमा संचालित क्यासिनोमा जुवा खेली १४ लाख हारेको सूचना पनि प्रहरीले पाएको थियो । उनीहरुमध्ये केहीले मेची क्राउनबाट भारतको दार्जिलिङ गएर पैसा सेटल गरेको आशंका गरिएको छ ।

    प्रहरीले क्यासिनोबाट लुटेको पैसाको लकर दाबा शेर्पाका निकट युद्ध लामाको घरमा फेलापारे पनि त्यसबाहेक अन्य तथ्य बाहिर ल्याएको छैन । क्यासिनोबाट लुटिएको १४ करोड रुपैयाँ सेटल गर्ने योजनाकार दाबा शेर्पाको परिसरका घुमुवा इन्स्पेक्टर वाङ्गेल लामा र एसपी सन्तोष तामाङसँग पनि कनेक्सन देखिएको स्रोतको दाबी छ । स्रोतका अनुसार दाबा शेर्पाको श्रीमतीले इन्स्पेक्टर वाङ्गेललाई बौद्धमा भेटेर त्यहीँबाट सन्तोष तामाङलाई कल गरेकी थिइन् ।

    दाबाले श्रीमतीको फोनबाट सन्तोषसँग कुरा गरेको प्रहरी अनुसन्धानबाट खुलेपछि तामाङलाई बाराको एसपीबाट तानिएको प्रहरी हेडक्वार्टर स्रोत बताउँछ । दाबा र सन्तोषबीच पहिलादेखि नै घनिष्ट सम्बन्ध रहेको प्रहरी अधिकारीहरु नै बताउँछन् । स्रोतका अनुसार इन्स्पेक्टर वाङ्गेलको पनि क्यासिनोमा टेबुल संचालन गर्ने दाबासँग पहिलादेखि नै बाक्लै उठबस थियो । प्रहरी अधिकृतहरुसँगको यही कनेक्सनले गर्दा क्यासिनोको १४ करोड  लुटपाट गर्नेहरु पक्राउ पर्नबाट जोगिंदै आएको आशंका गरिएको छ । ३ महिनामा बल्लबल्ल २ जना भने पक्राउ परेको सूचना प्रहरीले सार्वजनिक गरेको छ ।

    क्यासिनोमा लुटपाट गर्ने अधिकांश लुटेराहरु काभ्रेली समूहका हुन् । क्यासिनोमा पैसा लुटपाट गर्ने मुख्य योजनाकार दाबा शेर्पा रहे पनि लुटपाट गिरोहका नाइके कुलध्वज तामाङ ‘कुले’, कोरियन भन्ने राकेश लामा, अनिल लामा, दोर्जे शेर्पा, संजय लामा र मिलन मोक्तान रहेको होटलको सीसीटीभी फुटेजबाट खुलेको जानकारी प्रहरीले पाइसकेको छ ।

    यीमध्ये दावा शेर्पा र रंजित खड्गी पक्राउ परे पनि अधिकांश लुटेराहरु काभ्रेली समूहकै भएका कारण जिल्ला प्रहरी परिसर काठमाडौंका घुमुवा इन्स्पेक्टर वाङ्गेल लामाले नै पक्राउ गर्न आलटाल गर्दैआएको स्रोत बताउँछ । प्रहरीको कमजोरीका कारण क्यासिनो लुटपाट गर्ने कुलध्वज तामाङ भागेर अष्ट्रेलिया पुग्न सफल भएका छन् भने संजय लामा दुबई पुगिसकेका छन् । कुलध्वज उनै ब्यक्ति हुन्, जो क्लव प्लाटिनममा कुटपिट र लुटपाट प्रकरणमा जेल परिसकेका थिए । उनलाई त्यतिबेला दरबारमार्ग प्रहरी बृत्तबाट छुटाउन पूर्वसांसद तीर्थ लामा चौकीमै पुगेका थिए ।

    त्यस्तै कुलध्वज तत्कालीन गृहमन्त्री रमेश लेखकका भान्जामाथि संजीव लामा ‘स्याल’द्वारा संचालित लिक्वीड लाउन्जमा कुटपीट काण्डका नाइके पनि हुन् । उनको क्राइम रकेर्ड हिष्ट्री हेर्ने हो भने सुन लुटपाट, अबैध हतियार, गुण्डागर्दी, असुलीमा समेत उनी जेल संजाय भोगेका ब्यक्ति हुन् । यस्ता आपराधिक गिरोहका नाइकेलाई प्रहरीले ४ महिनासम्म पक्राउ गर्न नसक्नुलाई एसएसपी थापाको असफलताका रुपमा समेत हेरिएको छ ।

    क्यासिनो लुटपाट गर्नेहरु बिदेश पलायन हुनु र अन्य लुटेराहरु पक्राउ नपर्नुमा परिसरका प्रमुख एसएसपी रमेश थापाले सादा पोशाकमा परिचालन गरेका घुमुवा इन्स्पेक्टर वाङ्गेललाई बढी विश्वास गर्नु नै मुख्य कारण रहेको परिसरका एक उच्च अधिकृत बताउँछन् । जबकि परिसरमा अहिले सई बालकृष्ण संजेल, इन्स्पेक्टरद्वय दीपेन्द्र चन्द र गजेन्द्र रावल जस्ता काबिल प्रहरीहरु पनि कार्यरत छन् । तर एसएसपी थापाले क्यासिनो लुटपाट प्रकरणमा वाङ्गेल बाहेक कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।

    गएको भदौ २४ गते उनीहरुले दाबा शेर्पाको इशारा र निर्देशनमा होटलको क्यासिनोमा पुगेर कर्मचारीलाई धम्क्याउँदै काउन्टरबाट नगद लुटेका थिए । लुटपाट गर्ने उद्देश्यका साथ गएका उनीहरुले प्रमाण नष्ट गर्न सीसीटीभी क्यामेरा पनि फुटाएका थिए । तर बाहिर मूलगेट नजिक भएको अर्को क्यामराले उनीहरुको लुटपाटको सबै दृश्य कैद गरेको थियो । जुन प्रहरी अनुसन्धानका लागि पर्याप्त छ ।

    सीसीटीभी फुटेजका आधारमा प्रहरीले चाहेको भए उनीहरुलाई भदौमै पक्राउ गर्न सक्थ्यो । तर आफूलाई भावी आईजीपीको दाबेदार ठान्ने पहिलो वरियताका एसएसपी थापाले किन यति ठूलो लुटपाटमा संलग्न आपराधिक गिरोह पक्राउ गर्न सकिरहेका छैनन् ? यो उनको कार्यक्षमतामाथि नै गम्भीर प्रश्नचिह्न हो ।

    चार महिना वितिसक्दा पनि क्यासिनो लुटपाटमा संलग्नहरुलाई किन पक्राउ गर्न नसक्नु भएको हो ? भन्ने नेपालफेसको प्रश्नमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराई भन्छन्–‘केही समय हामीले आफ्नै समस्याका कारण अनुसन्धान गर्न पाएनौं । अहिले जाहेरी परेपछि पाँच जना पक्राउ गरिसकेका छौं । अरु पनि पक्राउ पर्छन् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार