Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाँकेको नौबस्ता कारागार : अवैध लागूऔषध र जुवातासको अखडा (भिडियोसहित)


    सोमबार, पुष ७ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । कारागारलाई सुधारगृहका रुपमा चिनिन्छ । जहाँ कैदमा बसेपछि मान्छे सुध्रिएर पुनः सहज जीवनमा फर्किन्छ भनेर कल्पना गरिन्छ । तर, बाँकेको नौबस्ता कारागारमा लागूऔषध र जुवातास खेल्ने जस्ता अवैध कामहरुमा कैदीहरुले अखडा नै बनाएर दिन बिताएका छन् ।

    लागू औषधमा कारागार परेका कैदीहरु उनका आफन्तहरुले सुधिने कल्पना गरेका हुन्छन । तर, कमिसनको लोभमा परेका प्रहरी, कर्मचारी र कतिपय जेलरहरु नै मिलेर कारागारभित्रै जुवातास र लागूऔषधको अखडा बनाएको पाइन्छ ।

    कारागारमा लागूऔषध सेवन गर्दै जुवातास खेलिरहेका कैदी

    लागूऔषध सेवन कानूनीरुपमा कारागारभित्र र बाहिर बर्जित छ । जुवा तास खलेको र लागूऔषध सेवन गरेको भिडिओ समेत प्राप्त भएको छ । जुन भिडिओ झण्डै एक हप्ता अघिको भएको बताइन्छ । तर, कारागारका जेलर जालन्धर भुसालले दशैंताकाको भएका बताए ।

    कारागारभित्र लागूऔषधको खुलेआम सेवन गर्ने र बिक्रीबितरण गरेको घटनाको विरोध गरेबापत चौकिदार रामबरण गुप्तामाथि सांघातिक आक्रमण गरेको सूचना प्राप्त भएको छ । यसरी लागूऔषधको धन्दा सञ्चालन गरी जुवा तास खेल्ने र खेलाउनेहरुमा कर्तब्य ज्यान र ठगी मुद्दाका दीपक केसी, लागूऔषधका भविलाल पुन, लागूऔषधका राहुल थापा भन्ने रविन्द्र थापा, कर्तब्यज्यानका हिमाल भन्ने खिमबहादुर डाँगी, ज्यानमार्ने उद्योगका प्रकाश थापा, लागूऔषधका मुद्दाका दिपेस सोनाम, विकास केसी, जगत केसी र डम्बर थापा छन् ।

    जेलमा यस प्रकारको बिथिति गराउनुहुन्न भन्दै सुधारका लागि आवाज उठाउँदै आएका चौकिदार रामवरण गुप्ता, नाइकेहरु माधव परियार, रिजवान अहमद साई, जीवन श्रेष्ठ हुन् । तर, उनीहरु अहिले तारो बनिरहेका छन् । झडपमा अर्को पक्षले आक्रमण गरिरहेको छ । त्यसपछि अहिले उनीहरुलाई कारागारको अर्को ब्लकमा सारिएको छ ।

    त्यसैगरी अखडा जमाएर लागू औषध सेवन गर्नेहरु विरुद्धमा बोल्नेहरु अफ्तर अलि, मोहम्मद हुसेन सेख, रज्जत अली साई, मन्कु भन्ने रज्जव अलि, फिरोज मन्ता लगायत भएको बुझिन्छ ।

    यसअघि कैलाली कारागारको जुवा अखडा र लागू औषध कारोबारका विषयमा पनि  मिडियाले समाचार प्रकाशन गरेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले छानबिन समिति बनाएर अनुसन्धान गरेका थिए ।

    उक्त समयमा ३९ वटा मोबाइल कारागारभित्र गैरकानूनी तरिकाले प्रयोग गरेको भेटिएको थियो । जेलर महेन्द्रबहादुर खड्का र चौकीदार रोहित पालिवाल अग्रवालले अबैधानिक र गैर कानूनी काम गरी मासिक ४० औं लाख कमाउधन्दा नै चलाएका थिए ।

    पालिवाल भरतपुर क्यान्सर अस्पतालका निर्देशक डा.भक्तमान श्रेष्ठलाई अपहरण गरी पाँच केजी सुन फिरौती लिएका चर्चित अपराधी हुन् । उनले मासिक ४० लाख रुपैया अवैध रुपमा कमाउने गरेको चर्चा हुन्थ्यो । आइफोन मोबाइल चलाएर प्याकिङ खाना खाने गरेका पालिवाल सुत्नका लागि भिन्नै पलङ प्रयोग गर्दथे ।

    लागूऔषध कारागारभित्र लैजाने क्रम चाहिँ नयाँ होइन । २०७९ साल कार्तिकमा कैलाली कारागारका अपील भाट नामका सहायक हवल्दार लागूऔषध कारोबारीका रुपमा काम गरेको भन्दै पक्राउ गरेको थियो ।

    नौबस्ता कारागारमा कैदी बन्दीहरुले अवैध लागूऔषधको सेवन र कारोबार गरेको विषयमा कारागार व्यवस्थापन विभागका सूचना अधिकारी बालकृष्ण कटवालसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले भने यस बारेमा हामीले बुझ्नै पर्दछ ।

    नौबस्ता कारागारमा भएका लागूऔषध र जुवातासको अखडाको विषयमा जेलर जालन्धार भुसालसँग प्रतिक्रिया माग्दा उनले भने ‘हामीले पनि सबै कुरा जानकारी राख्न सकिंदैन । भिडिओ पठाउने देखि खानेसम्मका सबै ठीक हुन भन्न सकिंदैन । यो भिडिओ खिचिएको दशैताका भनिएको छ ।” तर, जेलर भूसालले त्यो लागूऔषध खाएको र जुवातास खेलेको भिडिओ सत्य नै भएको स्वीकार गरे ।

    देशका अधिकांश ठूला कारागारमा चौकिदार नियुक्ति गर्दासमेत गृहमन्त्रीका निजी सचिव, गृहसचिव र कारागार व्यवस्था विभागका महानिर्देशकहरुले हस्तक्षेप गरी कमिसन भागबण्डा गर्ने गरेको समाचार सुन्न पाइन्छ । एकजना कैदीबन्दीका अनुसार एक हजार भन्दा बढी कैदीहरु बसेको कारागारमा मासिक ४० लाख सम्मको अवैध आम्दानी हुने गर्दछ ।

    त्यसैको लोभमा चौकिदार नियुक्ति गरे भागबण्डा गरिने बताए । चीनजस्ता देशमा कैदीहरुलाई श्रम शिविरमा राखिन्छ । तर, यहाँ कर्मचारी र राजनीतिज्ञका लागि कमाउधन्दा सञ्चालन गर्ने माध्ययम बनाउँदा बारम्बार झडप र दुर्घटना हुने गरेको छ । कञ्चनपुर कारागारमा पनि झडप भएपछि अहिले छानबिन समिति नै बनाउनुपरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार