काठमाडौं । केही बर्षयता अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत, फ्रान्सलगायत विकसित मुलुक जानेहरुको लर्को छ । यहाँ प्लस टु सकिएपछि उच्च शिक्षा हासिल गर्न भन्दै लाखौं खर्चिएर नेपाली युवाहरु यी विकसित देश गइरहेका छन् ।
यसरी पढाइका निम्ति विशेषगरी अमेरिका, अस्ट्रेलिया जाँदा पहिल्यै आफ्नो अभिभावकको नाममा भएका सम्पत्ति विवरण देखाउनुपर्छ । आफ्ना सन्तानलाई त्यहाँ पठाउन अभिभावकहरु पनि आफ्नो यति सम्पत्ति रहेको भन्दै शैक्षिक परामर्शदाता ( एजुकेशन कन्सलटेन्सी) मार्फत् विवरण बुझाउँछन् ।
घरजग्गाको नक्सा र लालपूर्जा, सवारीसाधनको ब्लुबुक, बैंक ब्यालेन्सको स्टेटमेन्ट र मासिक आम्दानीको विवरण पेश गरिन्छ । त्यो रकमले सम्बन्धित विद्यार्थीको पढाइ र बसाईं अवधिभर पुग्छ कि पुग्ँदैन ? अध्ययन गरेर मात्र अमेरिका, अस्ट्रेलियाले भिसा दिन्छ ।
अनि २० देखि ४० लाख रकम खर्च गरेर अमेरिका, अस्ट्रेलिया, क्यानडा, फ्रान्सलगायत देश गइन्छ । अब यहाँ रोचक कुरा के छ भन्दा कन्सल्टेन्सीमार्फत् सम्बन्धित देशलाई बुझाइएको सम्पत्ति विवरण सबै झुट्टा हुन्छन् । भिसा लागेपछि फिर्ता गर्ने शर्तमा आफन्तको नाममा भएको घरजग्गा र सवारीसाधन आफ्नो नाममा ल्याइएको हुन्छ ।
यस्तै, बैंकका अध्यक्ष, सञ्चालक, कर्मचारीलाई एकदेखि पाँच लाख रुपैयाँ घुस खुवाएर करोडौंको झुट्टो बैंक ब्यालेन्स देखाउन लगाइन्छ । मासिक आम्दानी पनि ढाँटिन्छ । आफू काम गर्ने कार्यालयको हाकिमलाई आफ्नो छोराछोरी अमेरिका, अस्ट्रेलिया पठाउनुपर्ने भएकाले झुट्टो आम्दानी (तलब) विवरण बनाउन लगाइन्छ ।
सम्पत्ति विवरणसँगै भिसाका लागि प्लस टु राम्रो अंक ल्याएको शैक्षिक प्रमाणपत्र पनि त चाहियो । आजकल धेरैजसो विद्यार्थीको पढाइ राम्रो हुँदैन । अझ भन्नुपर्दा कतिपयले प्लस टु पाससमेत गर्न सक्दैनन् । आमाबुबा धनी हुन्छन्, छोराछोरी पढ्दैनन् । अनि छोराछोरीलाई अमेरिका, अस्ट्रेलिया पठाउन बाउआमाले आफ्नो पैसा र पहुँचको प्रयोग गर्छन् ।
झुटो सर्टिफिकेट बनाउँछन् । त्यो पनि ए प्लस वा ४ जीपीए आएको भन्दै । पर्याप्त सम्पत्ति र विद्यार्थीको पढाई पनि राम्रो देखेपछि अमेरिका, अस्ट्रेलिया, क्यानडा, फ्रान्सलगायत मुलुकले सजिलै भिसा दिन्छन् । भिसा लागेपछि कन्सल्टेन्सीलाई २० देखि ४० लाखसम्म तिर्नुपर्छ । सम्पत्ति विवरण नढाँटेकाले त त्यो रकम सजिलै तिर्छन् । तर, सम्पत्ति विवरण ढाँटेकाहरु छोराछोरीको भिसा आएपछि आफन्त वा बैंक कहाँ पुग्छन्, ऋण माग्न ।
मासिक १८ देखि ४८ प्रतिशतसम्म ब्याजमा उनीहरुले २० देखि ५० लाख रुपैयाँसम्म ऋण लिन्छन् । अनि त्यो रकम कन्सल्ट्रेन्सीलाई बुझाएर छोराछोरीलाई अमेरिका, अस्ट्रेलियाजस्ता विकसित मुलुक पठाइन्छ । धेरैजसो अभिभावकले सोचेका हुन्छन् कि आफ्नो सन्तान त्यहाँ पुगेपछि कमाइहाल्छन्, ऋण तिरिहाल्छन् ।
छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा पुगेको केही महिनामै करोडौं कमाएर नेपाल पठाउने उनीहरुले आशा गरेका हुन्छन् । तर, सन्तति त्यहाँ पुगेपछि ठ्याक्कै उल्टो हुन्छ । बर्षौं बितिसक्दासमेत उनीहरुले पाँच लाखसमेत पठाउन सक्दैनन् । जाँदा लिएको ऋण तिर्नु त परको कुरा हो । पढ्न भनेर गइएको हुन्छ । अनि रोजगारी पाइँदैन ।
रोजगारी पाएपछि हप्तामा एक–दुई दिन । त्यो रकमले त्यही कलेज फ्री र खानबस्न ठिक्क छ । अर्कोतर्फ, कतिपयले काम पाएपनि गर्न सक्दैनन् । नेपालमा हुँदा आमाबुबाले प्लस टुसम्म झोका बोकिदिएर पढाएका हुन्छन् । उनीहरुले यहाँ सिन्को भाँचेका हुँदैनन् । अनि अमेरिका, अस्ट्रेलियामा भाडा माझ्नुपरेपछि उनीहरुलाई ज्वरो आउँछ ।
सानो काम उनीहरु गर्दैनन् । ठूलो काम पाउँदैनन् । अनि यता अभिभावकको दबाब, उता कमाउन नसकेपछि कतिपयले आत्महत्याको बाटो रोज्छन् । जुन पछिल्लो समय बढिरहेको देखिन्छ । यहाँबाट अमेरिका, अस्ट्रेलियामा पैसाको रुख भएजसरी खुशी हुँदै गएकाहरु त्यहाँ पुगेको केही समयमै आत्महत्याको बाटो रोज्ने क्रम बढ्दो छ ।
कतिपय अभिभावकको एउटै सन्तान हुन्छन् । छोरा वा छोरीको भविष्य राम्रो होस् भनेर अभिभावकले ऋण लिएर वा आफूले जीवनभर कमाएको पैसाबाट अमेरिका, अस्ट्रेलिया पठाएका हुन्छन् । तर, सन्तानले उतै प्राण त्यागेपछि अभिभावकहरुको बिचल्ली हुन्छ । सँगै जीवनभर कमाएको पैसा पनि सकिँदा बुढेसकालमा अभिभावकको अवस्था दयनीय बन्न पुग्छ ।
अझ ऋण लिईलिई अमेरिका, अस्ट्रेलिया पठाएको सन्तानले आत्महत्या गरिरहँदा एकातिर त्यो पीडा त अभिभावकलाई हुन्छ नै अर्कोतिर ऋण तिर्न नसकेपछि बैंकको कालोसूचीमा पर्ने, जेल जीवन काट्नुपर्ने, आफन्त टाढिने वा लुकेर हिँड्नुपर्ने अवस्था आउँछ । यसरी अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत विकसित मुलुकको रहर र सपनामा धेरैको भविष्य र परिवार तहसनहस हुन पुगेको छ ।
यसमा मुख्य हात चाँहि कन्सल्टेन्सीको पाइन्छ । विद्यार्थीहरु प्लस टु पढिरहँदा कन्सल्टेन्सीले कर्मचारी वा एजेन्ट खटाएर उनीहरुलाई भड्काउँछन् । अमेरिका, अस्ट्रेलियामा यस्तो अवसर छ, त्यहाँ गयो भने भविष्य बन्छ, सजिलै कमाइन्छ, नेपालमा बसेर केही हुँदैन भन्दै विद्यार्थीलाई भड्काउने गरिन्छ । आफ्नो अफिसमा लगिन्छ । र, आफूहरुले पठाएको विद्यार्थीले अमेरिका, अस्ट्रेलिया, क्यानडामा यतिधेरै प्रगति गरेको भन्दै झुटो भिडियोहरु देखाइन्छ ।
विद्यार्थीहरु विश्वासमा पर्छन् । उनीहरु सोच्छन् कि म पनि त्यहाँ गए भने महिनाकै लाखौं कमाउन सक्छु । पढ्दै कमाउन सक्छु । जुन अवसर नेपालमा छैन । उनीहरु अभिभावकलाई मनाउँछन् । सन्तानको जिद्दीको अगाडि अभिभावकको केही लाग्दैन । अन्ततः अभिभावक मान्छन् । छोराछोरीलाई अमेरिका, अस्ट्रेलिया पठाउन ।
अभिभावकले मानेपछि कन्सल्ट्रेन्सीको ठगीधन्दा शुरु हुन्छ । कहिले के त कहिले केको लागि भन्दै रकम असुल्छ । सन्तानलाई अमेरिका, अस्ट्रेलिया पठाउने सबै अभिभावक धनी हुन्छन् भन्ने हुँदैनन् । आफूले नसक्ने थाहा पाएपछि अभिभावकहरु पन्छिन खोज्छन् । छोराछोरीलाई अमेरिका, अस्ट्रेलिया नपठाउने निर्णयमा पुग्छन् । अनि कन्सल्टेन्सीले यसमा भूमिका खेल्छ ।
आफ्नो फाइदाका निम्ति उसले विद्यार्थी र तिनका अभिभावकलाई नक्कली सम्पत्ति विवरण र शैक्षिक प्रमाणपत्र बनाउन लगाउँछन् । त्यसमा सहयोग पनि गर्छन् । कन्सल्टेन्सीको लागि त यो सजिलो काम हो । किनकि उसले यसरी नै विद्यार्थी पठाउँदै आएको हुन्छ । अनि कन्सल्टेन्सीले जे जे भन्छन्, विद्यार्थी र अभिभावकले त्यँही गर्छन् ।
नक्कली विवरण र कागजात बनाउँछन् । छोराछोरीलाई अमेरिका, अस्टे«लिया पठाउँछन् । त्यसरी पठाएको सन्ततिले उता काम नपाएर, यता ऋण र अभिभावकको दबाब सहन नसकेपछि आत्महत्या गर्छन् । यसरी युवाले आत्महत्या गर्दा अभिभावकलाई मात्र होइन, समग्र राष्ट्रलाई क्षति पुगिरहेको छ । एकातिर राष्ट्रले युवा गुमाउँछ, अर्कोतिर पूँजी ।
त्यसकारण अब अमेरिका, अष्ट्रेलिया, क्यानडाजस्ता विकसित मुलुकको पछि नलागौं । सोचविचार गरेर मात्र आफ्ना सन्ततिलाई पठाऔं । ऋण लिईलिई कसैले पनि छोराछोरीलाई त्यस्ता देश नपठाऔं । किनकि अमेरिका, अस्टे«लियाको सिद्धान्त नै लुट्नु हो । आफ्नो देशको पूँजी बाहिरिन नदिन उनीहरुले त्यहाँ कमाएको रकम त्यँही खर्च गर्न लगाउँछन् ।
विदेशी लाटा हुँदैनन् । उनीहरुले हरेक कुराको पहिल्यै योजना बनाएका हुन्छन् । उनीहरुले नेपाली युवा त्यहाँ गएर मरेकोबाट केही फरक पर्दैन । पर्छ त केबल पैसासँग । किनकि आत्महत्या गरेपश्चात् समेत यत्तिकै शव दिइँदैन । पहिला त्यो देशमा मृतक विद्यार्थीले कलेजलगायतमा तिर्न बाँकी रहेको रकम तिर्नुपर्छ अनि मात्र अभिभावकले शव पाउँछन् । यसकारण कन्सल्ट्रेन्सीहरुको झुट्टा प्रलोभनमा नफसौं । सन्तानलाई विकसित मुलुक पठाउनुअघि सय चोटि सोचौं ।
विदेशमा पैसाको रुख हुँदैन, गर्नसके आफ्नै जन्मथलोमा पर्याप्त आम्दानी र अवसर छ । दिमाग, मेहेनत गर्नसक्नेलाई यँही अमेरिका, अस्टे«लिया छ । यो कुरा अब सरकारले जनतालाई बुझाउन आवश्यक छ । जनता पनि सचेत हुनुपर्छ । अरुको दिमागमा हिँड्ने होइन, आफ्नो दिमागको प्रयोग गर्ने हो । साथै, नेपालमा केही हुँदैन भनेर सर्वसाधारण उकास्ने कन्सल्टेन्सीहरुलाई कारबाही गर्नुपर्छ । रुसा थापा
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend