Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनुषाका प्रहरी निरीक्षक ओमप्रकाश यादव ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित


    सोमबार, असोज २७ २०८२
    595
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सर्लाही । धनुषा जिल्लास्थित इलाका प्रहरी कार्यालय यदुकुहाका प्रमुख प्रहरी निरीक्षक ओमप्रकाश यादवलाई २०८२ साल असोज महिनाको ‘उत्कृष्ट प्रहरी पुलिस अफ द मन्थ’ घोषित गरिएको छ ।

    निरीक्षक यादवले पछिल्लो अवधिमा १४ जना फरार प्रतिवादी पक्राउ गरी कानूनी कारबाही अघि बढाउनुका साथै हुण्डी कारोबारमा संलग्न दुई जना भारतीय नागरिकसहित रु. १ लाख ४७ हजार भारतीय र रु. ८ लाख ५० हजार नेपाली नगद बरामद गरी मुद्दा दर्ता गराएका थिए ।

    त्यस्तै, उनले अनलाइन ठगीमा संलग्न व्यक्तिहरू पक्राउ गरी पीडितको रकम फिर्ता गराउन, धनुषाको बिदेह नगरपालिका–५ मुरिवाटोलकी रामपरी देवी बरही ठाकुरको हत्यामा संलग्न अभियुक्त संगम पासवान पक्राउ गर्न उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।

    यसबाहेक, जेनजी आन्दोलनका क्रममा मुख्यमन्त्रीको निवाससहित सरकारी भवनहरूमा हुनसक्ने आगजनी र लुटपाट रोक्न, आन्दोलनका क्रममा फरार कैदी पक्राउ गर्न तथा धार्मिक विवादका घटनामा हिंसा फैलिन नदिन अहम भूमिका उनले निभाएका थिए ।

    विशेषतः जनकपुर उपमहानगरपालिका–२० रुपैठामा गणेश र दुर्गा मूर्ति सेलाउने विषयमा उत्पन्न हिन्दु–मुस्लिम समुदायबीचको तनाव नियन्त्रण गरी भीड तितरबितर पार्ने कार्यमा यादवको नेतृत्व निर्णायक साबित भएको थियो ।

    उनले आफ्नो जिम्मेवारी उच्च पेशागत दक्षता र निष्ठाका साथ निर्वाह गरेको भन्दै प्रहरी संगठनले उनको कार्यको उच्च मूल्यांकन गरेको छ ।

    उनको उत्कृष्ट कार्यले आम जनमानसमा प्रहरीप्रति सकारात्मक सोच र विश्वास बढाएको जनाउँदै प्रहरी संगठनले उनलाई असोज ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार