सिरहा । यही असोज १ गते विश्वकर्मा पूजाका क्रममा भएको एउटा विवादले ठुलो रूप लिँदा कल्याणपुर नगरपालिका-८ स्थित अरङ गाउँको ठूलोपोखरी डिलमा पाँच दलित परिवार समस्यामा परेका छन् । विश्वकर्मा पूजामा गाउँमा आर्केस्ट्रा ल्याइएको थियो । आर्केष्ट्रामा नाचगान गर्ने क्रममा भएको सामान्य विवादपछि दलित परिवारका घरमा तोडफोड तथा लुटपाट भएको छ ।
पीडितका अनुसार नाचगानका क्रममा केहीले मदिरा पनि सेवन गरेका थिए । यसैक्रममा केही दलित युवा र स्थानीय प्रभाषसिंह राजपुतबीच भनाभन भयो । सुरुमा सामान्य लागेको विवाद यत्तिकै सुल्झिएन । दलित परिवारमा बस्तीबाट उठाइदिने धम्कीसमेत आयो । धम्की आएपछि दलित परिवार सुरक्षा माग गर्दै इलाका प्रहरी कार्यालय, कल्याणपुर पुगेका थिए ।
प्रहरीले विवाद समाधान गर्न यही असोज १२ मा छलफल राखेको थियो । तर त्यस दिन छलफल नभएपछि अर्को छलफल असोज २१ गतेका लागि तोकिएको थियो । उक्त छलफल हुनुअघि अर्थात् असोज १७ गते शुक्रवार दिउँसो करिब २ बजेतिर २०/२५ जनाको समूहले दलित बस्ती तहसनहस पार्यो ।
उक्त समूहले पाँच वटा दलितका घरमा तोडफोड र लुटपाट गरेको पीडित सोभित पासमानले बताए । “तोडफोड र लुटपाटको समयमा इलाका प्रहरी कार्यालय कल्याणपुरका केही प्रहरी घटनास्थलमै थिए, तर कसैले केही बोलेन । उनीहरूले रोक्ने प्रयास पनि गरेनन्, यसले हामीलाई थप भयभित बनायो”, उनले भने ।
पीडितहरूका अनुसार, अशोक पासमानको घरबाट चार आना सुन र ३० तोला चाँदीका गहना, राजकुमार पासमानको घरबाट खाद्यान्न, रासलाल पासमानको घरबाट खाद्यान्नका साथै चार आना सुन, १० तोला चाँदीका गहना र रु. १८ हजार र बिन्दे पासमानको घरबाट २० तोला चाँदी, दुई आना सुन र रु. तीन हजार लुटिएको छ ।
त्यस्तै, खाना पकाउने भाँडा, लत्ताकपडादेखि बगैँचाबाट आँप, अम्बा, केरा र कागतीका बोटमा पनि क्षति पुर्याइएको छ । पीडित राजकुमार पासमानका अनुसार पाँच वटा परिवारका ३० जनाको परिवार अहिले अलपत्र अवस्थामा छ ।
घटना भएको भोलिपल्ट प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्मा बस्तीमा पुगेका थिए । उनीहरूले स्थलगत अनुगमनपछि पीडित परिवारलाई त्रिपाल, कम्बल र झुल वितरण गरेका थिए ।
१३ जनाविरुद्ध जाहेरी
बस्तीमा भएको तोडफोड र लुटपाट प्रकरणमा वडाध्यक्ष राम किशोर यादवसहित १३ जनाविरुद्ध किटानी जाहेरी परेको छ । पीडितहरूले इलाका प्रहरी कार्यालय मिर्चैयामा सोमबार आपराधिक उपद्रवसम्बन्धी जाहेरी दिएका हुन् । उनीहरूले वडाध्यक्ष यादव, प्रभास सिंह, कलास सिंह, रामनारायण सिंह, मुस्तफा राइन, गणेश कामतीलगायतका व्यक्तिविरुद्ध तोडफोड, लुटपाट र दुरुत्साहनको आरोप लगाएका छन् ।
वडाध्यक्षसहित तीन जना पक्राउ
प्रहरीले वडाध्यक्ष यादवलाई भिडलाई उक्साएको आरोपमा नियन्त्रणमा लिएको छ । यादवलाई गत शनिबार नै इलाका प्रहरी कार्यालय, मिर्चैयाबाट पक्राउ गरी हिरासतमा राखिएको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेशराज पुरीले जाहेरीमा समेत नाम उल्लेख रहेका वडाध्यक्ष यादवसहित कामती र कलासलाई पक्राउ गरिसकेको र अन्यको खोजतलास र अनुसन्धान भइरहेको जानकारी दिए ।
पीडित परिवारलाई नगरपालिकाको राहत
पीडित परिवारलाई नगरपालिकाले सोमबार राहत सामग्री प्रदान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवका अनुसार, प्रतिपरिवार २५ किलो चामल, पाँच किलोका दरले दाल, चिउरा, मुरही, सोयाबिन, आलु, प्याज, आटालगायतका सामग्री उपलब्ध गराइएको छ ।
पीडित परिवारको आवासका लागि समेत पहल भइरहेको जानकारी दिँदै कार्यवाहक नगर प्रमुख रेखादेवी यादवले भनिन्, “उहाँहरूलाई तत्कालका लागि राहत दिएका छौँ, आवासको व्यवस्थापनबारे नगरपालिकामा छलफल भइरहेको छ ।”
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend