Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • लिपुलेकमा नेपालको दाबी नपुग्ने भारतीय दाबी


    बिहिबार, भाद्र ५ २०८२
    980
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली भूमि लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्ने भारत र चीनबीच सहमतिप्रति नेपाल सरकारले गम्भीर आपत्ति जनाएको छ ।

    परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानमा समावेश आधिकारिक नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित महाकाली नदीपूर्वको क्षेत्र नेपालको अभिन्न भूभाग रहेको र यसबारे नेपाल सरकार दृढ रहेको उल्लेख छ ।

    परराष्ट्र मन्त्रालयले भारतलाई नेपाली भूमिमा सडक निर्माण, विस्तार वा सीमा व्यापारजस्ता कुनै पनि गतिविधि नगर्न बारम्बार आग्रह गर्दै आएको र यो क्षेत्र नेपाली भूभाग हो भन्ने तथ्य मित्रराष्ट्र चीनलाई पनि जानकारी गराइसकेको स्मरण गराएको छ ।

    भारतले लिपुलेकमाथि नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको दाबी गरेको छ । चीन र भारतबीच भएको व्यापार सम्झौतापछि परराष्ट्र मन्त्रालयले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट रहेको जनाएको थियो ।

    लिपुलेक नेपालकै भूभाग भएको अडानपछि भारतको विदेश मन्त्रालयले नेपालको आफ्नो धारणा स्पष्ट गरेको छ । प्रवक्ता रणधीर जैसवालले प्रेस विज्ञप्तिमार्फत् भारतको अडान दोहोर्याउँदै भनेका छन्– ‘हामीले नेपालको परराष्ट्र मन्त्रालयको लिपुलेक पासबाट भारत–चीन सीमा व्यापार पुनः सुरु गर्ने सम्बन्धी टिप्पणीप्रति ध्यान दिएका छौँ । हाम्रो अडान स्पष्ट छ ।

    लिपुलेक पासबाट भारत–चीन सीमा व्यापार सन् १९५४ देखि चल्दै आएको छ र यो दशकौँसम्म निरन्तर रह्यो । कोभिड र अन्य कारणले पछिल्ला वर्षहरूमा यो व्यापार अवरुद्ध भएको थियो । अब दुवै पक्षले व्यापार पुनः सुरु गर्न सहमति जनाएका छन् ।’

    ‘सीमासम्बन्धी दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित हुनुपर्छ । एकपक्षीय रूपमा कृत्रिम क्षेत्रीय दाबी स्वीकार्य छैन। भारत नेपालसँग सीमा समस्याको समाधानका लागि कूटनीतिक संवाद र रचनात्मक सहकार्यमार्फत अगाडि बढ्न तयार छ ।’ जैसवालले भनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार