Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोर्खाली पक्राउदेखि यादवको कारबाहीसम्म, देउवा परे एकपछि अर्को विवादमा


    आइतबार, भाद्र १ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो समय आफ्नै नेता कार्यकर्ताको चेपुवामा पर्दै आएका छन् ।

    पार्टीमा सामूहिक तस्वीर खिचेर प्रवेश गराएका कार्यकर्ता नै आपराधिक पृष्ठभूमिका व्यक्ति भएपछि देउवाको सर्वत्र आलोचना भएको हो । सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा फरार सूचीमा रहेका व्यक्तिलाई नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालयमा धुमधामका साथ देउवाकै हातबाट टीका लगाएर भित्र्याइयो ।

    तत्कालीन राष्ट्रिय जनता पार्टीका महासचिव रहेका असई विकका हत्या आरोपी देवेन्द्र यादवलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामै खादा ओढाएर पार्टी सदस्यता दिएका थिए । तर जघन्य अपराधमा संलग्न भएको आरोप लागेका यादवलाई सभापति देउवाबाटै संरक्षण भएको भन्दै बाहिर मात्र होइन, पार्टीभित्रै पनि चर्को आलोचना भयो ।

    सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि कांग्रेसले यसबारे चासो राख्यो । र, यादव फौजदारी अभियोगमा संजाय सुनाइएका र फरार सूचीमा थाहा पाएपछि शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयले उनलाई दिएको सदस्यता खारेज गरिदियो । उनको सदस्यता खारेज गरे पनि नेता कार्यकर्ताले चित्त बुझाउन नपाउँदै फेरि पार्टी सभापतिकै आशीर्वाद पाएर काठमाडौंमा गुण्डागर्दी गर्ने राजु गोर्खाली पक्राउ परे । यसले फेरि सभापतिलाई नै अप्ठेरो पर्ने वातावरण उत्पन्न भयो ।

    बागमती प्रदेश सरकारभित्र आन्तरिक कलह उत्पन्न गराएर समाधान गर्न नसकेका देउवामाथि एकपछि अर्को बाँण सोझिने कार्य तिब्र गतिमा अगाडि बढेको बताइन्छ । बागमती प्रदेश सरकारको किचलोमा सहमतिको आश्वासन दिएर बिश्वासको मत दिन लगाएका देउवाको नै बिश्वास गुमेको भन्दै बागमती प्रदेश सभा सदस्यले गुनासो गरिरहेको अवस्थामा देवेन्द्र यादवलाई पार्टी सदस्यता दिने र राजु गोर्खाली पक्राउ पर्नुले झन् आलोचित बनाएको छ ।

    आफूलाई शेरबहादुर देउवाको राइट ह्याण्ड बताउने गोर्खालीले कांग्रेसको २०७८ सालमा भएको १४ औँ महाधिवेशनमा काठमाडौँबाट सिन्धुपाल्चोकमा क्रियाशील सदस्यता सारेका थिए । सिन्धुपाल्चोक कांग्रेसमा मोहनबहादुर बस्नेतलाई साइजमा ल्याउन पार्टी नेतृत्वले गोर्खालीलाई सिन्धुपाल्चोक पठाएको एक नेताले बताए । आफ्नो पार्टी सदस्यता सिन्धुपाल्चोक सारेपछि गोर्खाली बस्नेतबिरुद्ध लागिपरेका थिए ।

    जेलनेल र आन्दोलनमा जीवन अर्पित गरेका कांग्रेसका नेताहरुलाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा हराएर देउवाको आडमा गोर्खालीले सिन्धुपाल्चोकमा सबैभन्दा बढी मत ल्याएर जितेका थिए । गुण्डानाइके गोर्खालीलाई संरक्षण गर्ने र कांग्रेसको महासमिति सदस्य बनाउने कार्य देउवाले नै गरेका थिए । १० करोडको चेक बाउन्समा उनी पक्राउ पर्दा कांग्रेसकै प्रतिष्ठा गिरेको छ ।

    केन्द्रमा देउवाको गुणगान गाउने गोर्खाली अन्ततः पक्राउ परे । गोर्खालीलाई काठमाडौँ प्रहरी परिसरको विशेष टोलीले टिकाराम तिवारीलाई दिएको १० करोडको चेक बाउन्स भएको आरोपमा बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको हो । अपराधिक कार्यमा लागेकालाई देउवाको सरक्षणले पार्टीभित्र देउवाबिरुद्ध ठूलै बहस सुरु भएको एक केन्द्रीय सदस्यले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार