Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ऊर्जामन्त्री खड्काले पीए र सल्लाहकार हटाए, १ बर्षमा सिंचाईमा ४ डीजी फेरे


    बुधबार, साउन २१ २०८२
    1.7K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरु काण्डैकाण्डमा परिरहेका छन् । कुलमान हटाउनेदेखि बिभिन्न काण्ड मच्चाएका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले आफ्नो सचिवालय पनि हालै पुनर्गठन गरेका छन् । उनको सचिवालयमा राखिएका एघार जनाको जम्बो टोलीले मन्त्रालयबाट सेवासुविधा, गाडीदेखि तेल र मर्मत खर्चका नाममा मासिक लाखौं लिंदैआएका छन् ।

    सांसद हुनुअघिदेखि नै सहयोगीका रुपमा रहेका र मन्त्री भएपछि प्रमुख स्वकीय सचिवका रुपमा कार्यरत भूपाल बस्नेतलाई साउन १ गतेदेखि लागू हुनेगरी पदमुक्त गरिएको छ । बर्षौंदेखि खड्काका सहयोगीका रुपमा रहेका बस्नेत खड्काका जिल्लाबासीसमेत हुन् । पदभन्दा बढी जिम्मेवारीको भारी बोकाएपछि बस्नेत अलग हुने सुरसारमै थिए । अन्ततः मन्त्री आफैंले उनलाई पदमुक्त गरेका छन् ।

    त्यसैगरी, मन्त्री खड्काकै जलबिद्युत कम्पनीमा काम गर्दैआएका र ऊर्जा मन्त्रालयको आर्थिक सल्लाहकारका रुपमा भर्ति गरिएका सेवक पोखरेललाई समेत उनले हटाएका छन् ।

    पोखरेल मन्त्रालयमातहतका निकायका प्रमुख र कर्मचारीसँग मन्त्रीको निर्देशनमा सेटिङमा परिचालित थिए । लेनदेनको हिसाब नमिलेपछि पोखरेललाई मन्त्री खड्काले हटाएको स्रोतको दाबी छ । निकै तामझामका साथ ऊर्जा मन्त्रालयको विज्ञ सल्लाहकार बनाइएका प्रज्वल अधिकारी यसअघि नै मन्त्रीका अपारदर्शी क्रियाकलाप देख्न र हेर्न नसकेर राजीनामा दिएर बाहिरिसकेका छन् ।

    यसैबीच, मन्त्री दीपक खड्काले एक बर्षको बीचमा जलस्रोत तथा सिंचाई बिभागमा ४ पटक महानिर्देशक परिवर्तन गरेका छन् ।  जलस्रोत तथा सिंचाई मन्त्रीका रुपमा खड्काले पदभार सम्हालेको एक बर्षमा ४ पटक महानिर्देशक परिवर्तन गरी रेकर्ड कायम गरेका हुन् ।

    खड्का बहाल हुँदा बिभागको महानिर्देशकका रुपमा संजीव बराल कार्यरत थिए । उनलाई तीन महिना पनि नपुग्दै हटाएर सिक्टा सिंचाई आयोजनामा कार्यरत देवराज निरौलालाई महानिर्देशक बनाइएको थियो । निरौलालाई ३ महिना पनि काम गर्न नदिई खड्काले पुनः संजीवलाई महानिर्देशक बनाएका थिए । निरौलाले कबोल गरेको अंक नबुझाएपछि आफैंले आउनासाथ हटाएका बराललाई नै पुनः जिम्मेवारीमा ल्याएपछि ऊर्जा तथा सिंचाई मन्त्रालयका अधिकारीहरु नै अचम्भित भएका थिए ।

    अक्षम भनेर हटाउने र सेटिङ मिलेपछि पुनः नियुक्ति गर्ने खड्का नीतिका कारण मन्त्रालय विगतमा महिन्द्र राय यादव मन्त्री हुँदाताकाका भन्दा पनि बदनाम भएको छ । एउटा मन्त्रीको एक बर्षे कार्यकालमा २ भन्दा बढी महानिर्देशक परिवर्तन यसअघि कहिल्यै भएको थिएन । तर खड्काले भने ४ पटक डीजी फेरबदल गरेका छन् ।

    मन्त्री खड्काले शुक्रबार मात्र आफैंले दोस्रो पटक पुनः महानिर्देशक बनाएका संजीवलाई हटाएर मित्र बराललाई ल्याएका छन् । बराल बिभागमै कार्यरत थिए ।

    मन्त्री भएको केही महिनामै विद्युत विकास बिभागका महानिर्देशकसमेत उनले अघिल्लो दिन परिवर्तन गरी भोलिपल्ट नै उक्त निर्णय बदर गरेका थिए । चलखेलकै आधारमा एक दिनमै सरुवा बदर गरेका मन्त्री खड्काले सिंचाई बिभागमा ३–३ महिनामा डीजी परिवर्तन गर्नु स्वभाविक भएको ऊर्जा मन्त्रालयका एक अधिकारी बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार